Sunday 16th of June 2024

पृथक् पर्व अक्षय तृतीया

0 Shares

अच्युतप्रसाद पौडेल ‘चिन्तन’

संसारमा अन्यत्र नभएको मौलिक संस्कृतिले हामी र हाम्रो देशलाई उभ्याएको छ, विशेष पर्व अक्षय तृतीयाले । अपूर्व पुण्य प्राप्त गर्ने दिन, अक्षय तृतीया आजको यस दिनलाई शिव पार्वतीको बिहेको दिनको रूपमा, ईश्वरको आवेश अवतार परशुराम जयन्तीको रूपमा समेत हेरिने यो पर्वको विशेष महत्त्व छ । अक्षय तृतीयालाई ज्ञानको आरम्भका साथै त्रेतायुग आरम्भको दिन मानिन्छ । हिन्दु धर्म संस्कृतिमा यस दिनलाई विशेष
पर्वको रूपमा मान्ने चलन छ । वैशाख शुक्ल तृतीया तिथिमा पर्ने यो पर्र्वमा गरिएका साना पुण्यकर्मले पनि अक्षय पुण्य प्राप्ति हुने कारण यसलाई अक्षय तृतीया भनिएको हो ।

यस दिन धेरथोर दिइएको दानले अक्षय फल प्राप्त हुने, ब्रह्मा, विष्णु, शिव तीन देवता नै प्रसन्न रहने, यस दिन तिलमिश्रित अन्न, जल, घडा दानले पितृहरू बढी खुसी रहने, दातालाई अक्षय पुण्य प्राप्ति हुने धार्मिक मान्यता छ । जौको सातु अनि सर्वत पानीको विशेष महत्त्व रहेको यसदिन श्रीविष्णुको विशेष पूजा हुने गर्छ । सार्वजनिक कार्य, दान, होम, जप, तप, योग, पूजा आदि सत्कर्म गरेर अक्षय पुण्य प्राप्ति गर्न चाहनेले वसन्त ऋतुको यसपर्वलाई बढी रुचाउँछन् । यस पर्वको महत्त्व मत्स्यपुराणमा धेरै गरिएको छ । वैशाख मासका सबै दिन पावन छन्, विशेष दिनको रूपमा यसलाई लिइएको छ ।

इश्वरीय विधानमा सबै ऋतु समान छन् तथापि शुष्क कण्ठ गृष्मको आरम्भ हुने बखत शरीरको तापमान सन्तुलन राख्न जौ, सातुसेवन गरेर शरीरलाई निरोगी राख्न यस पर्वले प्रेरित गर्छ । उखरमाउलो गर्मी होस् वा अति चिसो वातावरण होस् तन, मन सन्तुलन हुन कठिन हुन्छ । वसन्त ऋतुमा पर्ने चाडपर्वहरूले ती सबैको सन्तुलन ल्याउन सहयोग गर्छन् । ऋतुमध्ये वसन्त एवं शरद ऋतुलाई काव्यकारहरूले विशेष प्राथमिकता दिएका छन् । शरदको उल्लास पूmलहरूको सजावट र वसन्तको उल्लास पल्लवीहरूको उद्गारले नवजीवन, नवीन उत्साह, नवीनतम ऊर्जाबाट मानवजीवन परिपूर्णतम बन्न प्रेरित गर्छन् । जीवनको उद्देश्यसिर्जना र संरक्षण पनि हो । नयाँ वर्षसँगै आउने यस्ता पर्वले देश सेवाको नयाँ प्रेरणा पनि दिन्छ ।

पूर्वीय दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ र सन्तुलित सभ्य नागरिक समाजबाट देश प्रेम, ईश्वरीय चिन्तन हुन्छ । अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भनी पूर्वीय दर्शनले भनेको छ । साधु, सन्त, वैरागी, तपस्वी, समाज हितकारी व्यक्तिदेखि सम्पूर्ण जीवात्मालाई आफ्नो सेवाबाट, समयबाट, श्रमबाट, दानबाट खुसी गराउनुपर्ने कुरा दर्शनशास्त्रहरूले बताएका छन् । मानवजीवन भन्नु परोपकारका लागि हो, पशु र मानवमा पृथकता भन्नु नै चेतना हो ।

दानमध्ये अन्न दान प्राण दानसरह हो । सबै प्राणी जल, अन्न र वायुमा निहित छन् । वातावरणको संरक्षण गरी जलदान, अन्नदान गर्न यस पर्वले जोड दिएको छ । हाम्रो मुलुक कृषि प्रधान हो । प्रमुख बाली धान, गहुँ, मकैका अतिरिक्त जौ उत्पादन पनि हुने गर्छ । तिल, जौद्वारा भगवान्को पूजा हुने गर्छ । जौ र गहँुलाई शीतलताको प्रतीक मानिन्छ । अस्पतालका बिरामीहरूलाई जौ, चनाको सातु खान प्रेरित गरिन्छ । रोग निरोधक शक्ति भएको, पाचनमा सजिलो भएको, जौ, गहुँको खस्रो पदार्थबाट पेटमा रहेका विकार सजिलै बाहिर निष्कासन हुने कारणले रेसायुक्त खानेकुरा खानाले शरीर स्वस्थ हुने गर्छ । शरीरमा मलभित्र रहन पाउँदैन । प्रदूषित वस्तुहरू तुरुन्तै बाहिर निस्कासन हुने पदार्थहरू दैनिकी जीवनमा प्रयोग गर्नुपर्ने हुन्छ । यस अर्थमा जौ, गहुँ, मकैका च्याख्ला, चना, भटमास आदि अन्नद्वारा शरीर निरोगी राख्न सकिन्छ ।

अन्नको अतिरिक्त जीवनमा जलको अधिक महत्त्व छ । सम्पूर्ण सृष्टि जलमै भएको हो । संरक्षण पनि जलसहितको भूमिमा हुन्छ । जलबिना अन्नको पनि सिर्जना हुँदैन । जललाई जीवन भनिएको छ । जलदान भन्नु जीवनदान नै हो । अक्षय तृतीयाको दिन जल दानको संकेतले मानवले हरदिन पानीलाई पवित्र राख्नुपर्ने बोध गराउँछ । जौको सातु, साथमा धर्मघट अर्थात् जलपूर्ण घडा, घिउ, चिनी, मसला, तिल मिश्रित सर्वत र आकाशको प्रतीक छाता र धर्तीको प्रतीक जुत्ता दानले सम्पूर्ण जीवन र जीवन संरक्षण एवं यी वस्तुहरू अरूको हितमा प्रयोग गर्न संकेत प्राप्त हुन्छ । यो निस्वार्थ दान हो । मनुस्मृति, विष्णुधर्मोत्तर ग्रन्थ, विष्णुपुराण, गीताजस्ता पावन ग्रन्थ एवं महाभारत आदि ग्रन्थले जीवन दानका बारेमा विशद् चर्चा गरेका छन् ।

अक्षय तृतीयामा गरिएका दान, पुण्यले इहलौकिक जीवात्मा त खुसी हुन्छन् नै पारलौकिक पुण्यात्मा पितृहरू पनि खुसी हुन्छन्, तृप्त हुन्छन् । आफ्ना स्वजन, बन्धुवान्धव र मृत पितृहरूलाई पनि स्मरण गरिने पर्व यस दिनको महत्त्व जति वर्णन गरे पनि कम हुन्छ । अक्षय तृतीयालाई परशुराम जयन्तीका रूपमा पनि मानिन्छ । परशुराम अष्टचिरञ्जीवीमध्ये एक हुन् । वर्षवृद्धि हुने दिन जन्मोत्सव पर्वहरूमा आयु र आरोग्य वृद्धि गर्न अष्ट चिरञ्जीवीलाई विशेष आराधना गर्ने चलन छ । परशुरामलाई श्रीविष्णुको १० अवतारमध्ये छैटौं अवतारमा लिइएको छ ।

पितृ आज्ञापालन गर्ने परशुरामको जन्म जमदग्नि ऋषि र माता रेणुकाको गर्भबाट भएको हो । सूर्यास्तपछि तेस्रो प्रहरमा धर्ती अवतरित परशुरामले धर्तीमा रहेका निरंकुश राजाहरूलाई वध गरेर धर्मको रक्षा गरे । २१ पटक पृथ्वी परिक्रमा गरेर निरंकुशता समाप्त पारी वीर क्षत्रियहरूको तेजोबध गरिदिए । परशुरामलाई भगवान्को क्रोध, आवेश अवतारको रूपमा पनि लिइन्छ । धर्तीलाई आफ्नो मानेर भूमिप्रति अत्याचार गर्ने, साधु, सन्तप्रति रोष गर्ने, शास्त्रप्रति अनादर गर्ने जो कोहीप्रति पनि भगवान् सन्तुष्ट हुनुहुन्न । यहाँसम्म कि आफ्नै आमा वध गर्न पनि परशुराम पछि परेको देखिन्न ।

माता रेणुकाबाट असन्तुष्ट भएका जमदग्नी ऋषिले परशुरामलाई आमाको हत्या गर्न आदेश दिए । पछि आदेश पालनबाट खुसी भएका परशुरामलाई वरदान माग्नभन्दा आफूबाट वध भएकी माता र दाजुहरूलाई पुनः जियाएर त्यो दोष पनि आफूलाई नलाग्ने वरदान माग गर्दा पिता जमदग्निले हुन्छ भनी वरदान दिए जुन वरदान सिद्ध पनि भयो । शस्त्रविद्यामा निपुण परशुरामबाट कर्ण, भीम आदिले शस्त्रविद्या सिकेका थिए भने त्रेतायुगमा श्रीविष्णुले मर्यादा स्थापित गराउने क्रममा सौम्य अवतार, राम अवतार लिइसकेको बुझेर रौद्ररूप परशुरामले आफ्नो शस्त्र विद्या छोडी सामान्य ऋषिको रूपमा स्थापित भए । भारतको आसाम पूर्वाेत्तर भागमा परशुराम कुण्ड रहेको छ । त्यहाँ पर्व विशेषमा हिजो आज पनि मेला लाग्छ । भारतका चारधाममध्ये बद्रीनाथधामको ढोका अक्षय तृतीयाकै दिनदेखि खुल्ने गर्छ ।

हाम्रो मुलुकमा अक्षय तृतीयाका दिन पशुपति क्षेत्र, बूढानीलकण्ठ क्षेत्र तथा अन्य धेरै मठमन्दिरमा विशेष पर्व, पूजा, मेला, जात्रा हुने गरेको छ । काठमाडौं उपत्यका, ललितपुर क्षेत्र पुल्चोकमा भगवान् मत्स्येन्द्रनाथका तर्फबाट पथिकहरूलाई सक्खर पानी यसै दिन वितरण गर्ने चलन छ । खेती किसानी काम गर्नेहरूलाई शीतल जल दिएर कृषि कार्यमा प्रेरित गर्ने रूपमा आरम्भ गरिएको यस कार्यले हालसम्म निरन्तरता पाएको छ । अर्काेतर्फ मत्स्येन्द्रनाथ देवता सहकालका रूपमा चिनिन्छन् । अन्नबाली संरक्षणका रूपमा पनि चिनिन्छन् । हिउँदेबालीका रूपमा रहेको जौलाई भुटेर सातु बनाई नयाँ अन्नको रूपमा देवतालाई चढाउने, आफूले पनि ग्रहण गर्ने आदि कार्यले हालसम्म निरन्तरता पाएको छ । बिरामीहरू खासगरी उच्च रक्तचाप र मधुमेहका लागि जौ र यसका परिकार विशेष खानाका रूपमा लिइन्छ ।

पूर्वीय दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ। स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ।

 

प्रतिक्रिया