Thursday 20th of June 2024

मधेसको सम्बन्ध विच्छेदपछि सरकार छाड्दै यादव

0 Shares

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रचण्ड सरकारबाट बाहिरिने निचोडमा पुगेका छन्। माओवादी र एमालेले समर्थन फिर्ता लिएसँगै जसपा नेपाल नेतृत्वको मधेस प्रदेश अप्ठ्यारोमा परेको छ। त्यसको प्रतिछाया संघमा पनि परेको हो

गत आइतबार जसपा नेपालबाट वरिष्ठ नेता अशोक राईले ७ सांसद लिएर विद्रोह गर्दै जनता समाजवादी पार्टी गठन गरेका थिए। त्यसले जसपा नेपालको नेतृत्वमा रहेको मधेस प्रदेश सरकार ढल्ने माहोल बनेको थियो।

प्रदेश सरकारको सत्ता साझेदार दल एमाले र माओवादीले आइतबार समर्थन फिर्ता लिएसँगै उपेन्द्र यादव प्रचण्ड सरकारबाट बाहिरिने मुडमा पुगेका नेताहरूले बताएका छन्। यादव प्रचण्ड सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री हुन्। अमेरिका गएको बेला पैसाको चलखेल गरेर पार्टी फुटाएको अध्यक्ष यादवले दाबी गर्दै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई सरकार छोड्न सन्देश पठाएको खबरहरू बाहिरिएका छन्।  यसैबीच जसपा नेपालका प्रवक्ता मनीष सुमनले विकसित घटनाक्रमबारे बृहत् छलफल भइरहेको बताए। उनले प्रधानमन्त्रीले जसपा नेपाल फुटाएको आरोप लगाए। ‘हाम्रो पार्टी फुटाएर हामीलाई कमजोर बनाउन खोजेको प्रधानमन्त्रीको नियत यसबाटै प्रष्ट भयो’, उनले भने, ‘त्यसबारे साथीहरू देशैभरि चिन्तित हुनुहुन्छ।’

उनले पार्टी फुटाएका सबै नेता आफूहरूसँगै रहेको दाबी गरे। ‘सबै सम्पर्कमै हुनुहुन्छ। जानुहुन्न कोही पनि नयाँ तिर (अशोक राईतिर)। हामी कानुन उपचारमा जाँदै छौं। साथीहरूको हविगत अदालतले निर्धारण गर्ला’, उनले भने। उनले निर्वाचन आयोगले बेइमानीपूर्वक कुनै दललाई दर्ताको प्रमाणपत्र दिएको समेत आरोप लगाए।

प्रतिक्रिया