Sunday 16th of June 2024

कम्युनिस्ट आन्दोलनका चर्चित यी ६ पात्र के गर्दैछन् ?

0 Shares

गणेश पाण्डे

काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्षको इतिहासमा ७० वर्ष काटेकै नेताहरूको वरिपरिमा देशको राजनीति घुमिरहेको छ । भर्खर ७० वर्ष टेकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले देशका प्रधानमन्त्री छन् । उमेरले ७२ वर्ष पार गरेका एमालेका अध्यक्ष केपी ओली प्रचण्ड सरकारको ‘किङ्गमेकर’को भूमिकामा छन् । ७१ वर्ष लागेका एकीकृत समाजवादीका माधव नेपाल र ७८ वर्षका अर्का नेता झलनाथ खनाल सारथि छन् सकालमा यी नेताहरूको सक्रियता र दौडधुपअसाध्यै लोभलाग्दो छ ।

तर सिङ्गो कम्युनिस्ट आन्दोलनकै इतिहास बोकेका मोहन विक्रम सिंह, मोहन वैद्य, मोहनचन्द्र अधिकारी राजनीतिको मूलधारबाट किनारा लागेका छन् । झापा विद्रोहका चर्चित योद्धाद्वय सीपी मैनाली र आरके मैनाली पटकपटक राजकीय अवसर चुमे पनि पछिल्लो समय गुमनामजस्तै देखिएका छन् । झण्डै वैद्यकै तहमा रहेका सीपी गजुरेल कुनै राजकीय पदमा नपुगी राजनीतिबाट गुमनामको अवस्थामा जस्तै चर्चित यी ६ नेता पछिल्लो समय के गर्दैछन् भन्नबारे उनीहरूसँगै जान्ने गरिएको छ।

  • मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनको एक जिउँदो इतिहास मानिन्छन् । ९० वर्षको उमेरमा समेत उनी सक्रिय राजनीतिमा छन् । सिंह २०१० सालदेखि नै नेपाल कम्युनिस्ट पार्टीको सदस्य भए । त्यसयता निरन्तर ७१ वर्ष कम्युनिस्ट पार्टीमै सक्रिय उनी अहिले बालाजु ढुङ्गेधारामा बस्छन् । पिता खिम विक्रम सिंहसँगै उनी २००७ सालमा राणा विरोधी आन्दोलनमा सक्रिय भएका थिए ।

सिंह अहिले पनि अध्ययन गर्ने, लेख लेख्ने गरेका छन् । जलजला उपन्यास प्रकाशित गर्ने तयारीमा रहेका उनी अर्को पुस्तक लेखन कार्यसमेत सम्पन्न गर्दैछन् । जीवनकालको अधिकांश समय भूमिगत भएका सिंह १९९२ साल वैशाख ३ गते काठमाडौँको मरुटोलमा जन्मेका थिए । यद्यपि उनको बाल्यकाल प्युठानमै बित्या े । सिंहलाई अहिले सामान्य रुघाखोकी लागेकाले आराम गरिरहेको उनकी श्रीमती दुर्गा पौडेलले जानकारी दिइन् । सामान्य रुघाखोकीका कारण उहाँ आराम गरिराख्नु भएको छ । भेटघाटको कार्यक्रम बन्द गरिएको छ’, उनले भनिन् ।

२०११ सालमा प्युठानमा कम्युनिस्ट पार्टी स्थापना गरी किसान आन्दोलनको नेतृत्व गरेका सिंहले पटकपटक गरी १२ वर्ष जेल जीवन बिताए। २०१४ सालमा नेकपाको दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी २०१९ सालमा पोलिटब्युरो सदस्य , २०३१ सालमा भएको नेकपाको चौथो महाधिवेशनबाट महामन्त्री भएका थिए । त्यसयता उनी निरन्तर नेतृत्वमा छन् ।

  • मोहन वैद्य

क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य २००३ साल साउन १५ गते प्युठानमा जन्मिएका थिए । हाल काठमाडौँको सूर्यदर्शन हाइट धापासीमा बस्दै आएका उनी राजनीतिमा सक्रिय छन् । वैशाखको अन्तिम साता कार्यालय बैठक सम्पन्न गरेका वैद्य महाधिवेशनको तयारीमा जुटेका छन् ।पार्टीको काम बाहेकनेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्ने र बाँकी समय अध्ययनमा उनी सक्रिय छन् ।

‘म अहिले पार्टीको मिटिङबाहेक कतै जान्नँ । घरमै अध्ययन गरेर बसेको छु’, वैद्यले भने, ‘बाँकी समय पत्रपत्रिका हेर्ने, साथीभाइसँग भेटघाट गर्ने गरेको छु ।’

माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यादिशामा दुई लाइन सङ्घर्ष हुँदा २०६९ साल असारमा उनी माओवादीबाट अलग भएका थिए ।

२०३१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०३१ सालमा केन्द्रीय समिति सदस्य निर्वाचित भएका थिए । २०४२ सालमा नेकपा मशालका महासचिव मोहन विक्रम सिंह यौन दुराचारको आरोपमा कारबाहीमा परेपछि वैद्य महासचिव भएका थिए। २०४५ सालमा सेक्टर काण्ड असफल भएपछि नैतिकताको आधारमा महासचिवबाट राजीनामा दिएका वैद्य मार्क्सवादी दर्शनका व्याख्याताका रूपमा चिनिन्छन् ।

  • मोहनचन्द्र अधिकारी

झापा आन्दोलनका चर्चित नेता मोहनचन्द्र अधिकारी सक्रिय राजनीतिबाट बिदा लिएको २७ वर्ष भएको छ । २०२८ सालमा ‘सामन्त सफाया’ अभियानका अगुवामध्ये उनी एक हुन् । २०७७ सालमा नेकपा विभाजन हुँदा अधिकारी माधव–झलनाथ समूहको भेलामा सहभागी भएका थिए । उमेरले ८७ वर्ष पार गरेका उनी अहिले प ुरानो नैकापमा बसोबास गर्छन् । आफूले पनि कम्युनिस्ट पार्टी नछाडेको तर कार्यक्रममा कसैले पनि नबोलाएको उनको गुनासो छ ।

‘मैले कम्युनिस्ट पार्टी छोडेको पनि छैन । कसैले बोलाएको पनि छैन । अहिले घरमै बसिरहेको छु । कोही भेट्न पनि आउँदैनन्’, उनले गुनासो पोखे । आन्दोलनको क्रममा २०३० सालमा रौतहटबाट केपी ओलीसँगै अधिकारीलाई तत्कालीन सुरक्षाकर्मीले पक्राउ गरेका थिए । करिब १७ वर्ष जेल जीवन बिताएका अधिकारी नेपालको नेल्शन मण्डेलाका रूपमा चिनिन्छन् ।

तत्कालीन कम्युनिस्ट पार्टीको मेची अञ्चल इन्चार्ज भएर झापा पुगेका अधिकारीले त्यहाँका कम्युनिस्ट युवासँग मिलेर २०२८ सालमा वर्ग शत्रु सफाया अभियान चलाएका थिए । उक्त अभियानमा ओलीसहित मालेका महासचिव सीपी मैलानी, आरके मैनाली, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठले साथ दिएका थिए । तीमध्ये दाहाल, घिमिरे, कुइँकेल, राजवंशी र श्रेष्ठलाई जेल सार्ने बहानामा सुरक्षाकर्मीले २०२९ साल फागुन २ १गते झापाकै सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए ।

  • सीपी गजुरेल

पुराना कम्युनिस्ट नेतामध्ये चन्द्रप्रकाश (सीपी) गजुरेल एक हुन् । लामो समय वामपन्थी आन्दोलनमा लागेर पनि कुनै राजकीय पद नलिएको नेतामा पर्ने उनी अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टीमा सक्रिय नेताको भूमिकामा छन्।

माओवादी सशस्त्र विद्रोहका उच्च नेता रहेका गजुरेल लामो समय विदेश विभागको प्रमुख भएका थिए । द्वन्द्वकालमा भारतमा पक्राउ परेका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि छुटेका थिए ।

तत्कालीन एमाओवादीका सचिवसमेत रहेका गजुरेल ०६९ सालमा वैद्यसँगै पार्टीबाट अलग भएका थिए । ०७६ वर्ष भएका उनी अहिले काठमाडौँको नरेफाँटमा बस्छन् । देशको पछिल्लो राजनीतिक अवस्थाप्रति उनी सन्तुष्ट देखिँदैनन् । जनगणतन्त्र स्थापनाका लागि जनविद्रोह गर्नुपर्ने उनको धारणा छ ।

  • सीपी मैनाली

तत्कालीन एमालेभित्र ‘मास्टर माइन्ड’ नेताका उपमा पाएका मालेका महासचिव सीपी मैनाली अहिले राजनीतिमै सक्रिय छन् । उमेरले ७२ वर्ष पार गरेका मैनाली झापा विद्रोहका नेतामध्ये एक हुन् । चाबहिलमा बस्दै आएका उनी पछिल्लो समय सार्वजनिक रूपमा खासै देखिएका छैनन् ।

‘पार्टीकै कामको सिलसिलामा म अहिले घरमै छु । पछिल्लो राजनीति गम्भीर अवस्थामा पुगेको छ । देशभक्त, क्रान्तिकारी वामपन्थी विचार बोक्नेहरूबिच मोर्चाबन्दी बनाउन लागि परेको छु’, उनले भने ।

झापा विद्रोहको आरोपमा २०३० सालमा मोहानचन्द्र अधिकारी र केपी ओली पक्राउ परेपछि उनले ०३१ सालमा फेरि पार्टी पुनर्गठित गर्ने प्रयास गरेका थिए । ०३२ सालमा कोअर्डिनेसन बनाएका उनी सोही वर्ष जेलब्रेक गरेर फरार भएका थिए ।

मैनालीले ०३५ सालमा नेकपा (माले) गठन गरेका थिए । २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बिच एकता भएर एमाले गठन भएपछि मदन भण्डारी महासचिव बनेका थिए । भण्डारीले एमालेको पाँचौँ महाधिवेशनमा जनताको बहुदलीय जनवाद(जबज) वैचारिक प्रस्ताव पेस गरेका थिए । भण्डारीको प्रस्तावलाई टक्कर दिँदै मैनालीले नयाँ जनवादको विचार अगाडि सारेका थिए ।

०५४ सालमा एमाले विभाजन भएपछि वामदेव गौतमको नेतृत्वमा गठन भएको मालेमा मैनाली सामेल भए । गौतम लगायत धेरै नेता ०५८ मा एमालेमा फर्किए पनि उनी मालेमा बसेका थिए ।

  • आरके मैनाली

उमेरले ७८ वर्ष पार गरेका झापा विद्रोहका चर्चित नेता राधाकृष्ण(आरके) मैनाली पछिल्लो समय युट्युबमा निकै चर्चित छन् । पुराना वाम विश्लेषकका रूपमा चिनिएका उनी राजनीतिक घटनामा निकै अपडेट राख्ने गर्छन् । तत्कालीन माले, एमाले, राजावादी हुँदै माओवादी बनेका आरके पछिल्लो समय स्वतन्त्र जीवन बिताइराखेको बताउँछन् । दल अदलबदलमा धेरै समय गुजारेका उनी पछिल्लो राजनीतिक अवस्थाप्रति सन्तुष्ट छैनन् ।

‘गणतन्त्र राम्रो व्यवस्था भएर पनि नेता इमानदार नहुँदा बदनाम भयो । अहिलेको तुलनामा राजाको शासनकालमै राम्रा काम भएका थिए । खराब पात्रले व्यवस्था पनि बदनाम बनायो’, राजनीतिप्रति चिन्ता व्यक्त गर्दै उनले भने ।

उनी ०५४ सालमा एमाले विभाजन हुँदा मालेमा गएका थिए । ०६१ मा राजाको प्रत्यक्ष शासनकालमा मन्त्री भएका उनी त्यसपछि केही समय माओवादीमा रहे । त्यसपछि उनी फेरि एमालेमा फर्किएका थिए । अहिले सीतापाइलास्थित घरमै रहेका उनी पुस्तक तथा पत्रपत्रिका अध्ययन गर्ने, सञ्चार माध्यममा अन्तर्वार्ता दिने काममा व्यस्त छन् ।

प्रतिक्रिया