Sunday 16th of June 2024

लोकप्रियता र ध्रुवीकरणमा बितेका मोदीका एक दशक

0 Shares

भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याएर नरेन्द्र मोदी प्रधानमन्त्री बनेमा लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेर कीर्तिमान बनाउने छन् । तेस्रो पटक प्रधानमन्त्री बनेर इतिहास कोर्ने लक्ष्य राखेका मोदी एक दशकमा कसरी भारतका प्रभावशाली नेता बन्न सफल भए त ?

अधिकांश मतदाता सन् २०१४ मा उनी प्रधानमन्त्री बनेयता धेरै सुधारका काम गरेकाले उनी प्रभावशाली बनेको मत राख्छन् । तर उनकै शासनकालमा विभिन्न क्षेत्रमा समस्याको सामना गरेका मतदाताले के यस निर्वाचनमा उनलाई समर्थन गर्लान् त ?

यस प्रश्नको उत्तर मतदाताहरुसँग खोजिएको छ । बनारसमा सारी बुन्ने शिव जोहरी पटेलले कसलाई मत दिने भन्ने मानसिकता बनाइसकेका छन् । उनी अनेक चिन्ता छ तर मतदाताका सवालमा उनी स्पस्ट छन् । ‘मोदीले निकै राम्रो काम गरेका छन् । गरिबहरुलाई सहायता मोदी सरकारले जति अरूले दिएकै थिएनन्’, उनले भने ।

पटेलका अनुसार उनका छोराले रोजगारी पाएका छैनन् । स्थानीय विचौलियाले संघीय सरकारबाट प्राप्त हुने कल्याणकारी सुविधामा घोटाला गर्दा आफूले कम रकम प्राप्त गर्दा समेत पटेलले चित्त बुझाएका छन् । ‘मैले कति सुविधा पाएँ वा पाइँन भन्ने कुराले कुनै अर्थ राख्दैन । म यसमा प्रस्ट छु म मोदीलाई मत दिन्छु’, उनले बीबीसीसँग भनेका छन् ।

                                                        शिव जोहरी पटेल ।

पटेल हाल आर्थिक रूपमा निकै संघर्षरत छन् तर मोदीले भविष्यमा अवस्था सुधार्नेमा विश्वस्त पनि । बनारसमा अन्तिम चरणमा चुनाव हुनेछ । त्यहाँको नतिजा ४ जुनमा आउनेछ । ७३ वर्षका मोदीको छवि बृहत लोकप्रिय मात्रै छैन ध्रुवीकृत पनि छ ।

मोदीका समर्थकहरु उनी आफ्नो वाचा पूरा गरेरै छोड्ने बताउँछन् । आलोचकहरुका अनुसार मोदीले संघीय संस्थाहरुलाई कमजोर पारेका छन्, अल्पसंख्यकलाई त्राहिमाम बनाएका छन् । उनीहरु भन्छन्- मोदीको शासनकालमा सबैभन्दा बढी मुस्लिमहरु प्रताडित छन् । राजनीतिक विश्लेषक रविन्द्र रेश्मी भन्छन्, ‘मोदीलाई मन पराए पनि नपराए पनि उनले कट्टर आलोचक जति कमाएका छन् उत्तिकै कट्टर प्रशंसक पनि कमाएका छन् ।’

चुनावी सर्वेक्षणहरुका अनुसार मोदी निकै सहज स्थानमा छन् । उनको पार्टीले बहुमत ल्याउने र तेस्रो कार्यकाल प्रधानमन्त्री बनेर इतिहास रच्ने उनको लक्ष्यमा कुनै अड्चन छैनन् । यद्यपि यस्ता सर्वेक्षणहरुलाई कहिलेकाहीँ मतदाताहरूले आश्चर्यमा समेत पार्ने गरेका छन् ।

यसपटक कम्तीमा भाजपाले ३७० सिट जित्ने लक्ष्य मोदीले अघि सारेका छन् । चुनावबाट चुनिने लोकसभाको ५४३ सिटमध्ये सन् २०१९ को चुनावमा भाजपाले ३०३ सिट जितेको थियो ।

ब्रान्ड मोदी

मोदीले अत्यधिक बहुमतको लक्ष्य राख्दा  भाजपामा उनी मात्रै चुनावी फेस छन् । बस बिसौनीदेखि होर्डिङ बोर्ड वा विद्युतीय प्रचार सामाग्री जताततै उनको तस्वी राखिएका छन् । भारतले गत वर्ष जी-२० सम्मेलन आयोजना गरेको थियो । त्यो सम्मेलन पनि मोदीमय बन्यो । जताततै विश्व नेताको स्वागतलाई जोड्दै उनको पोस्टर राखिएको थियो । जी-२० सम्मेलनको अध्यक्षता आलोपालो हुने भएकाले भारतले आयोजना गर्नु स्वभाविक प्रक्रिया थियो । तर त्यसलाई मोदीले विश्वका प्रभावशाली नेतालाई निम्त्याएर भारतीय साख बढाएको रूपमा प्रचार गरियो ।

‘जी-२० को मञ्चलाई मोदीले आफ्नो ब्रान्डिङमा भरमग्दुर प्रयोग गरे । कार्यक्रमको महत्व र त्यसलाई गर्नुपर्ने उपयोगबारे मोदी निकै जानकार छन्’, ब्रान्डिङ विज्ञ सन्तोष देसाइले बीबीसीसँग भनेका छन् ।

भाष्य र ब्रान्ड निर्माणमा मोदीका सदस्यहरु निकै माहिर छन् । उनीहरूले मोदीलाई पत्रकार र नागरिकका जटिल प्रश्नबाट टाढा राख्दै जताततै उतारेका छन् । प्रधानमन्त्री बनेयता मोदीले पत्रकार सम्मेलन गरेका छैनन् । अर्न्तवार्ता पनि निकै कम दिएका छन् र उनीसँगको वार्तामा पत्रकारले उनलाई विरलै कडा प्रश्न तेर्साएका छन् ।

प्रधानमन्त्री मोदीले मिडियाविनै आफू जनजनमा स्थापित हुनसक्ने देखाउनका निम्ति मिडियामा देखा नपरेका राजनीतिक विश्लेषक आरके उपाध्याय बताउँछन् । ‘मिडियाले उनलाई गुजरात दंगाको कारकका रूपमा प्रस्तुत गरेका थिए । यस मामिलामा उनले सर्वोच्च अदालतबाट पनि सफाइ पाए । प्रधानमन्त्री बनेर दिल्ली आएपछि उनले मिडियाविनै जन जनमा स्थापित हुनसक्छु भनेर आमसञ्चारलाई चुनौती दिएका हुन्’, उनले भने ।

मोदी यो मामिलामा सफल पनि भए । एक्समा सबैभन्दा बढी फलोवर्स भएका नेता हुन् मोदी । एक्समा उनका ९७.५ मिलियन फलोवर्स छन् । यस्तै यसबाहेक मासिक रूपमा रेडियो कार्यक्रममार्फत उनले आफ्नो धारणा राखिरहेका छन् ।

सार्वजनिक मञ्चमा उनको पूर्वतयारी सहितको आकर्षक अभिव्यक्ति आउँछ । बितेका एक दशकयता मोदीले अनगिन्ती परियोजना उद्घाटन गरेका छन्, धेरै समर्थकहरूसँग सात्क्षात्कार गरेका छन् । अनगिन्ती तस्वीर सार्वजनिक समेत भएका छन् । गुफामा ध्यानदेखि, सामुन्द्रिक साहसी खेलसम्मका उनका तस्वीरहरुले सामाजिक सञ्जालमा चर्चा कमाएका छन् ।

जनतासँग जोडिने कुनैपनि अवसर मोदीले खेर जान दिँदैएका छैनन् । हालसालै उनले भारतका टप गेमरहरूसँग भेटे । यस्तै सामाजिक सञ्जालमार्फत प्रभाव विस्तार गरिरहेकाहरूलाई उनले सम्मान नै गरे । केरलको चुनावी अभियानमा मोदीले मलायलममा सम्बोधन गर्दा उनको वाहावाही भयो ।

‘मोदीले गर्ने हरेक गतिविधिमा केही न केही संकेत हुन्छ । उनी छुट्टी मनाउन कहीँ जाउन् वा कुनै उत्सव मनाउन मोदीले स्थानीयको मन जितेरै आउँछन्’, राजनीतिक विश्लेषक सन्दीप शास्त्री भन्छन् ।

उनको वैदेशिक भ्रमण पनि भारतीय मिडियाले निकै कभरेज गर्छन् । डायस्पोराका लागि उनले गर्ने सम्बोधनको पनि सविस्तार कभरेज हुन्छ । तर मूलधारका मिडियाले विदेश भ्रमणका उपलब्धीबारे कुनै विश्लेषण छाप्दैनन् ।

ध्रुवीकृत राजनीति

बनारसमा पनि सबैजना मोदीसँग प्रभावित छैनन् । मुस्लिम समुदायको बसोबास रहेको लोहतामा केही परिवर्तन भएपनि अधिकांश ठाउँमा निकै कमसल पूर्वाधार छन्, ढल समेत व्यवस्थित छैनन् । नवाब खानका अनुसार आर्थिक वृद्धिको महशुस उनीहरुले गर्न पाएका छैनन् ।

बितेका १० वर्षयता गरिबी झन् बढेको उनको भनाइ छ । ‘आर्थिक स्थिति सुधारको एकमात्र उपाय भनेकै भाजपाको समर्थक बन्नु हो । अन्यथा संघर्षमै जीवन गुर्जानुपर्छ । सारी किन्नेहरु धनी भएकै छन् । सारी बुन्ने मुस्लिम कालिगढहरु गरिबीको चपेटामा बाँच्न विवश छन्’, उनले भने ।

                                                   नवाब खान ।

यस्ता आरोपलाई भाजपाका नेता दिलीप पटेल अस्वीकार गर्छन् । मुस्लिम समुदायलाई कल्याण कार्यक्रममा कुनै विभेद नभएको उनको जिकिर छ । ‘प्रतिपक्षी दलहरुले भाजपाको विरोधका लागि हाम्रो दल मुस्लिम विरोधी रहेको भाष्य निर्माण गरिरहेका छन् । यथार्थमा हेर्ने हो भने तीन तलाकलाई फौजदारी विषय बनाएसँगै भाजपाप्रति मुस्लिम समुदायको विश्वास बढदो क्रममा छ’, पटेलले भने ।

पटेलको यस जिकिरलाई भने विभिन्न घटनाक्रमले खण्डन गरिरहेको छ । दशकयता हेर्ने हो भने मुस्लिमहरुको ज्यान धेरै लिइएको छ भने मुस्लिम समुदायप्रति घृणा फैलाउने अभिव्यक्ति दक्षिणपन्थी घटकहरुमा बढ्दो छ ।

बनारसमा मोदीविरुद्ध उम्मेदवारी दिने अथहर जमाल लरी भन्छन्, ‘भारत र पाकिस्तान विभाजन हुनेबेला पाकिस्तानका संस्थापक नेता मोहम्मद अलि जिन्हाले पाकिस्तान आउन गरेको आग्रहलाई बेवास्ता गर्दै धेरै हाम्रा पुर्खाले भारतमै आफ्नो जीवन बिताए । भारतकै लागि बलिदान दिए । यद्यपि हामीलाई दोस्रो दर्जाको नागरिकका रूपमा अझैपनि हेरिन्छ ।’

भाजपाको चुनावी अभियानमा मुस्लिमविरोधी अभिव्यक्ति धेरै प्रयोग गरिएको छ । स्वयं मोदीलाई समेत चुनावी अभियान सम्बोधनका क्रममा मुस्लिम विरोधी अभिव्यक्ति दिएको आरोप लागेको थियो ।

साम्प्रदायिक माहौलले भाजपाको आत्मविश्वास केही घटाएको पर्यवेक्षकहरु बताउँछन् । राजनीतिक विश्लेषक निलअञ्जान सिर्करका अनुसार बिहार, उत्तरप्रदेश राजस्थानमा हिन्दु मुस्लिम ध्रुवीकरणले विगतमा पनि असर पुर्‍याएको थियो । अझ युवा जनशक्ति बेरोजगारको मुद्दाले पनि नतिजामा धेरै फरक परेको थियो ।

उनका अनुसार यसपटकको चुनावमा राष्ट्रिय मुद्दामा खासै चर्चा र बहस छैन । सन् २०१४ मा कंग्रेस सरकारको पालामा भएको भ्रष्ट्राचार प्रमुख एजेण्डा बनेको थियो भने सन् २०१९ मा राष्ट्रिय सुरक्षालाई देखाउँदै मोदी सरकारले पाकिस्तानको भूभागमा गरेको हमला राष्ट्रिय मुद्दा बनेको थियो । ‘वर्तमान चुनावमा राष्ट्रिय मुद्दा केही पनि छैन । त्यसैले अहिले स्थानीय विषय प्रधान बनेका छन् । यो चुनाव कुन नेतालाई कति विश्वास गर्ने वा कुन दललाई कति विश्वास गर्ने भन्नेमै केन्द्रित छ ।’

यस्तो अवस्थामा मोदीले बनाएको लोकरिझ्याइँको छवि भाजपालाई फाइदाजनक हुने त्यस दलको आशा छ । यता विश्लेषकहरु उक्त छवि भाजापाकै लागि हानिकारक हुनसक्ने टिप्पणी गरिरहेका छन् ।

‘चुनावमा को उम्मेदवार उठ्यो भाजपाका लागि त्यो महत्वपूर्ण छैन । त्यस इलाकामा प्रधानमन्त्री मोदीले कस्तो भावनात्मक आभा उतार्न सक्छन् र कस्तो नाटक मञ्चन गर्छन् भन्ने कुरा केन्द्रमा हुन्छ’, सार्वजनिक नीति विश्लेषक यमिनी ऐयर भन्छन् ।

निर्णयमा केन्द्रीकरण भाजपाका लागि घातक हुनसक्ने कतिपय विश्लेषकको मत छ । राजनीतिक विश्लेषक पटेल मोदीलाई स्वनिर्मित नेताका रुपमा लिन्छन् । ‘विगतमा भाजपालाई प्रतिपक्षीहरुले व्यापारिक घराना र कुलिन वर्गको पार्टीको उपमा दिन्थे । जसै मोदीले ग्रामीण वस्तीका गरिब, किसान, जातीय अल्पसंख्यक तथा पिछडिएका समुदाय लक्षित कार्यक्रम लिएर गए प्रतिपक्षीको त्यो भाष्य कमजोर हुँदै गयो’, उनले भने ।

मोदी आफ्ना उम्मेदवार उठेका हरेक निर्वाचन क्षेत्रबारे जानकार रहेको भाजपाका नेता मनोज सिंह बताउँछन् । चुनावी प्रचारका क्रममा भाजपाका एक स्वयंसेवकको मृत्यु हुँदा मोदीले आफूलाइ फोन गरेको सिंह बताउँछन् । कमरहैयाका भाजपा नेता सिंह भन्छन्, ‘चुनावी प्रचार अभियानका क्रममा स्थानीय भाजपा स्वयंसेवीको निधन हुँदा प्रधानमन्त्री मलाइ राति ९:३० मा फोन गर्नुभएको थियो । सानो सानो कुरामा पनि प्रधानमन्त्रीले निकै चासो राख्नुहुन्छ।’

 असमान वृद्धि

बनारसको छिमेकी इलाका लोहता मुस्लिम बाहुल्य क्षेत्र हो । त्यहाँका बासिन्दाहरु सरकारले आफूहरुसँग उधारो सम्झौता गरेको बताउँछन् । यता मोदीको निर्वाचन क्षेत्रका बासिन्दा राम्रो पूर्वाधारबाट लाभान्वित हुँदा त्यहाँका बासिन्दा विकास कुरिरहेका छन् ।

यस्तै चेतानी गाउँका दर्जनौँ मानिसहरु अझै पनि झुपडीमा बस्न विवश छन् । ‘हामीलाई स्थानीय सरकारले हाम्रो पुरानो बासस्थानबाट निकालेर झुपडीमा बस्न विवश बनायो । हामीले शुद्ध खानेपानी समेत पाएका छैनौँ’, २६ वर्षीय रजिन्द्रले भने । यद्यपि उनले निर्वाचनमा मोदीलाई नै मतदान गर्ने बताए ।

सारी बुन्ने शिव जोहरी पटेलझैँ धेरै मतदाता प्रधानमन्त्रीसँग नभएर स्थानीय सरकारसँग आक्रोशित छन् । मोदीका क्षेत्रका एक मतदाता महिला चिरौन्जी मोदी सरकारले चर्पी बनाइदिएको भन्दै औधी खुशी छिन् । अब नियमित ग्यास उपलब्ध गराइदिनुपर्ने उनको माग छ । ‘सरकारले पाइखाना बनाइदियो । घर दियो अब ग्यास सिलिण्डर नियमित दिए हुन्थ्यो । अहिलेपनि सरकारले दिएकै ग्यास चलारहेको छु तर बारम्बार भर्न पाइँदैन’, उनले भनिन् ।

विश्लेषकहरुका अनुसार सरकारले स्वास्थ्य र शिक्षामा दीर्घकालीन लगानी गरेको छैन । मोदीको सबैभन्दा ठूलो चुनौती भारतको बढ्दो युवा पिँढीलाई रोजगारीको सुनिश्चितता गर्नु पनि हो ।

भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहेको छ । यो विश्वको पाचौँ ठूलो अर्थतन्त्र हो । यद्यपि यसको प्रतिफल करोडौँ गरिब मानिससमक्ष अझै पुग्न सकेको छैन । यदि यो तप्का आक्रोशित भएको खण्डमा मोदीलाई थप चुनौती हुनसक्ने आँकलन पनि गरिएको छ ।

‘जनताले बहालवाला हो वा होइन भन्दा पनि महँगी नियन्त्रण र बेरोजगारी हटाउन सरकारले के गर्‍यो भन्ने हेर्नेछन् । मोदीले लामो समयदेखि एक भिन्न राजनीति गरिरहेका छन् । उनले दललाई र मतदातालाई वा नेता र मतदातलाई जोड्न जानेका छन् । उनकै सीपले मतदाता र दलबीच गहिरो  सम्बन्ध स्थापना गर्नपनि सहयोग गरिरहेको छ’, राजनीतिक विश्लेषक सिरकर भन्छन् ।

विभाजित प्रतिपक्ष

प्रतिपक्ष कमजोर हुँदा मोदीले आफूलाई राष्ट्रिय रूपमा स्थापित गरे । तर मोदीमाथि प्रश्न उठ्दा प्रतिपक्षीले त्यसको फाइदा लिन सकेनन् । सन् २०१६ मा नोटबन्दी गर्दा मोदीकै छवि नयाँ ढंगबाट अघि बढ्यो । कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै उनको सरकारको तीव्र आलोचना भएको थियो ।

प्रतिपक्षी दलले मोदीलाई अति पुँजीवादीको आरोप लगाए । उनले व्यापारिक घरानालाई मात्रै पोसेको आरोप लगाएका थिए । मणिपुरमा हिंसा हुँदा उनी त्यहाँ नपुगेको भन्दै प्रतिपक्षीहरुले कडा आलोचना गरे । यद्यपि यीनै एजेण्डाका आधारमा मोदीलाई कडा चुनौती दिन भने प्रतिपक्षी सफल भएनन् । उनीहरुले मोदीलाई विवादित बनाइरहेपनि त्यसले मोदीका प्रशंसकलाई कुनै फरक पारेको छैन । ‘प्रतिपक्षी दलको नकारात्मक भाष्यप्रति मोदी खासै चिन्तित हुँदैन । उनले आफ्नो छवि व्यवस्थापन गर्न जानेका छन्’, सिरकरले भने ।

मिडियाहरुले मोदी निरन्तर रूपमा काममा केन्द्रित रहेको देखाउँदा प्रशंसकहरुमाझ उनको छवि विश्राम नलिने नेताका रूपमा छ । ‘परिवार नभएका मोदीले २४ घण्टा मुलुकप्रति समर्पित रहेको छवि बनाएका छन्’, सिरकर भन्छन् ।

बितेका दुई साता हेर्ने हो भने प्रतिपक्षी दलहरु सशक्त भएका छन् ।

नीति विश्लेषक यामिनी ऐयरका अनुसार प्रतिपक्षीहरुको भनाइलाई मिडियाले खासै स्थान दिएका छैनन् । ‘प्रतिपक्षी दलको आवाजलाई मिडियाले स्थान दिएका छैनन् । त्यसैले वैकल्पिक धार निर्माणका लागि पनि कठिनाइ भइरहेको छ । मिडियाबाट मात्रै होइन सत्ताले कानुनमार्फत पनि प्रतिपक्षीलाई दबाब खोजेको छ’ ऐयरले भने ।

                             बीबीसी अनुवाद गरिएको 

प्रतिक्रिया