बीबीसी न्यूज नेपाली
नेपालमा यस वर्षको गर्मीयाममा हालसम्म छैटौँ पटक तातो हावाको चेतावनी जारी गरिएको मौसम अधिकारी तथा विज्ञहरूले बताएका छन्।
केही गरी वर्षा हुने प्रणाली देखा नपरेमा अर्को यस्तै चेतावनी समेत दिनुपर्ने हुन सक्ने उनीहरूको भनाइ छ। यद्यपि दुई सातामा मनसुन भित्रिन सक्ने ठानिएकाले त्यसो भएमा तापक्रम केही घट्न सक्ने उनीहरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “यस पटक प्री-मनसुनमा राम्रो वर्षा भएन। पश्चिमी वायुप्रणालीले राम्रोसँग वर्षा गराउन सकेन। त्यही भएर पनि तातो हावाको लहरको चेतावनी धेरै दिनुपर्यो।”
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्याल गर्मी धेरै भए पनि नेपालकै हालसम्मकै सबैभन्दा उच्च तापक्रम भएको नभई “ताता दिनहरू धेरै रहेको” अवस्थाका रूपमा अर्थ्याउँछन्।
नेपालको हालसम्मकै उच्च तापक्रम ४६.४ डिग्री सेल्सिअस हो, जुन सन् १९९५ को जुन १६ मा धनगढीको मापनकेन्द्रमा रेकर्ड गरिएको थियो।
मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “कुनैकुनै वर्ष त हिउँदभरि नै पानी परेर मनसुन कहिले सुरु भयो भन्ने नै थाहा हुँदैन। यस पटक जाडोमा पनि सुक्खा, प्री-मनसुनमा पनि सुक्खा अवस्था देखियो।”
यस वर्षको उच्च एप्रिल २० मा भैरहवाको मापनकेन्द्रमा ४३.६ डिग्री सेल्सिअस तापक्रम रेकर्ड गरिएको छ।
मौसमसम्बन्धी अधिकारीहरूले कम्तीमा दुईवटा मापनकेन्द्रमा लगातार दुई दिनदेखि कम्तीमा ४० डिग्री सेल्सिअस तापक्रम देखिँदा त्यस आसपासका क्षेत्रलाई तातो हावाको उच्च सतर्कता घोषणा गर्ने गरेको बताउँछन्।
मनसुनको प्रतीक्षा
खास गरी नेपालका लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा तातो दिन र तातो हावाको लहर धेरै देखिने गरेको पछिल्लो प्रवृत्ति देखिन्छ।
सामान्यतः नेपालमा जुन महिनाको दोस्रो साता मनसुन भित्रिने हुनाले पानी पर्न थालेसँगै छिट्टै अवस्था फेरिने अधिकारीहरू बताउँछन्।
“मनसुनी प्रणाली सुरु हुँदा पानी नै नपरे पनि बादलहरू देखा पर्ने भएकाले क्रमिक रूपमा तापक्रम घट्दै जान्छ,” वरिष्ठ मौसमविद् मानन्धर भन्छिन्। “नत्र तापक्रम बढ्दै जाने तर बादलहरू नलाग्ने र तराईमा हावाको बहावलाई रोक्ने वा घुमाउने पहाडहरू नहुने हुँदा त्यहाँ तातो हावाको लहर देखा पर्छ। पहाडमा हावा एकनासले बहन नपाउने भएकाले त्यहाँ गर्मी हुँदा पनि तातो हावाको लहर चलिहाल्दैन।”
प्री-मनसुन अवधिमा वर्षभरको करिब १२ प्रतिशत वर्षा हुने बताइन्छ। नेपालमा सबैभन्दा बढी वर्षा झन्डै ८० प्रतिशत मनसुनमा हुन्छ भने पोस्ट-मनसुनमा पाँच प्रतिशत जति हुने गरेको पाइन्छ। हिउँदमा हुने वर्षाको हिस्सा ४ प्रतिशत हाराहारी हुने ठानिन्छ।
तर यसअघिको हिउँददेखि नै त्यस्तो चक्र बिथोलिएको पाइन्छ। पछिल्लो हिउँदे वर्षाको वार्षिक योगदान निकै नै कम अर्थात् ०.३ प्रतिशत मात्र छ।
प्राध्यापक दीपक अर्यालले यस पटकको प्री-मनसुन अवधिसमेत हिउँदजस्तै सुक्खा देखा परेको बताउँछन्।
“पानी नपरेपछि गर्मी बढ्ने हो। यस पटक हरेकजसो मापन केन्द्रमा अरू बेलाको औसतभन्दा दुईतीन डिग्री सेल्सिअसले बढी नै भएको छ,” प्राध्यापक अर्याल भन्छन्।
“पछिल्ला केही दिनमा परेको पानी समेत बङ्गालको खाडीमा आएको रेमल चक्रवातको असर हो।”
‘चरम खडेरीको चेतावनी’
मौसमविद् प्राध्यापक दीपक अर्याल बिथोलिएको वर्षा प्रणाली र बढिरहेको तापक्रमले नेपालमा चरम खडेरीको चेतावनी दिइरहेको बताउँछन्।
“नेपालको ठूलो अर्थतन्त्र मनसुन र प्री-मनसुनको वर्षामा निर्भर छ। कति ठाउँमा यस पटक समेत पानी नपरेरै कतिपय बाली लगाउन पाइएन,” उनी भन्छन्। तर प्री-मनसुन र मनसुनबीच भने सम्बन्ध नहुने भएकाले मनसुन समेत सुक्खा हुन सक्छ भन्ने निश्चित नहुने विज्ञहरू बताउँछन्।
मनसुन एउटा क्षेत्रीय प्रणाली हो भने प्री-मनसुनमा आर्द्रताको स्रोत एउटै भए तापनि त्यसमा स्थानीय स्रोतबाट पानी पर्ने गर्छ। तर कहिलेकाहीँ चक्रवातका बेला परपरका प्रणालीका असर पश्चिमी वायुमार्फत् प्री-मनसुनमा देखिन्छ। अर्याल थप्छन्, “त्यसैले मनसुनी अवधिमा समेत खडेरी नै पर्ला भन्न मिल्दैन। यो वर्ष सुक्खा भयो भन्दैमा अर्को वर्षसमेत त्यस्तै होला भन्न सकिँदैन।”
बीबीसी न्यूज