Thursday 20th of June 2024

सत्ता समीकरणकै आधारमा मधेसमा सरकार बन्छ : प्रधानमन्त्री

0 Shares

विराटनगर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा केन्द्रीय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताउनुभएको छ । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने उहाँको भनाइ छ । उहाँले नकेपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको बताउनुभयो । उहाँले अध्यक्ष नेपाल पहिलेदेखि कहिले यता र उता जोडिनेजस्तो देखिए पनि अहिलेको समीकरणभन्दा बाहिर नजानेमा स्पष्ट रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माधवजी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यत्ति असहज ठानेको छैन । माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिनेजस्तो देखिएको त थियो तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरणभन्दा बाहिर छैन, हुँदैन भन्नेकुरा क्लियर गर्नुभएको छ ।’

कोशी प्रदेशलाई आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेटको व्यवस्था भएको उहाँले चर्चा गर्नुभयो । ‘कोशीलाई कम बजेट भयो भन्नेकुरा सही होइन । बजेटमा धेरै चिज नयाँ छ । उत्पादन, उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर बजेट आएको छ । समीकरणभन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन ।’ उहाँले कोशी प्रदेशलाई बजेट कम भयो भन्नेकुरा सही नभएको बताउनुभयो । प्रदेशको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रतिक्रिया