Tuesday 11th of February 2025

महोत्तरीमा पनि निषेधाज्ञा जारी

0 Shares

जलेश्वर– महोत्तरी जिल्लामा कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला सङ्क्रमण दरमा अत्यधिक वृद्धि हुनुका साथै आठ व्यक्तिको मृत्युसमेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुनेगरी वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेअनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

आजदेखि जिल्लाका प्रत्येक गाउँ शहरमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, फलफूल, दूध खरिदका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्मका लागि पसल बजार खोल्ने र बाँकी समय पूर्णरुपले निषेधाज्ञा रहने प्रजिअ भट्टराईले बताए । यसका साथै औषधि पसल, पेट्रोलपम्प र अस्पताल, क्लिनिक र स्वास्थ्य संस्था २४सै घण्टा खुला रहने जनाइएको छ ।

जिल्लाका १५ वटै पालिकालाई २० शय्याको अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्ने, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, सबै अस्पताल सञ्चालन गर्ने, कार्यालय तथा व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्यका सबै मापदण्ड पूरा गर्ने, सङ्कटको बेला उपभोक्तालाई अनावश्यक ठगीबाट बचाउने, कालोबाजारी रोक्नेजस्ता निर्देशनसमेत जारी गरेको छ । निर्णयको पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कानूनी कारवाहीसमेत गरिने निर्णयमा उल्लेख छ । रासस

प्रतिक्रिया