Saturday 15th of June 2024

मधेश सरकारको पहिलो निर्णय

0 Shares

जनकपुरधाम : नवगठित मधेश प्रदेश सरकारको आज बसेको पहिलो बैठकले सांसदलाई ५ करोडको योजना वितरण गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको हो।

मधेश सरकारको निर्णय: सांसदलाई ५ करोडको योजना
मुख्यमन्त्री सिंह सहित मन्त्रीहरुको शपथ ग्रहणसँगै बसेको बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरु पारित गर्दै थप एक निर्णय गरेकोमा प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको हो।

मधेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका जनमत पार्टीका सतिष सिंहले सहिद परिवार, संघीयता र गणतन्त्रका संस्थापक नेता गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंह लक्षित कार्यक्रम समावेश गरेको छ। पदभार ग्रहण लगत्तै शहिदद्वारमा सहिदहरु प्रति पुष्पाञ्जलि अर्पण गरी संघीयता र गणतन्त्रका संस्थापकद्वय नेता गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंह लक्षित कार्यक्रमहरु ल्याउने बताए।

मधेशका १ सय ३६ पालिकाका १ हजार २ सय ७१ सबै वडामा बाँझो जग्गा उपयोग गर्न नमुना कृषि विकास मोडल लागु गर्दै एक पालिका एक कृषि अध्ययन केन्द्र खोल्ने, हरेक जिल्लामा नमुना खुल्ला शैक्षिक पार्क, डिजिटल तथ्यांक बैंक स्थापना गर्ने, वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई श्रम बैंकका रुपमा उपयोग गरी सिप र रोजगारको विकास गर्ने निर्णय गरिएको छ।

साथै मधेशमा लगानी सम्मेलन, खोजमुलक पत्रकारिता प्रवर्द्धन साथै मिडिया साझेदारी कार्यक्रम र पत्रकारहरुको दुर्घटना बिमा गर्ने, गौरवको आयोजना खेलकुदको रंगशाला निर्माण, खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री सिंहले संघीयतामाथि भइरहेका प्रहार र भ्रष्टाचार न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताए।

मधेशको हरेक निर्वाचन क्षेत्रमा पुल : भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव

मधेश प्रदेश नव नियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले प्रदेश गौरवको आयोजनमा मन्त्रालय केन्द्रित हुने बताएका छन्।


शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले मधेशको हरेक निर्वाचन क्षेत्रमा एक पक्की पुल निर्माण गर्ने मधेश विकासको गौरव योजना सञ्चालनको पहिलो निर्णय गरेका छन्।

नेकपा(एमाले) संसदीय दलका नेता समेत रहेका नव नियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले ससाना भन्दा पनि गौरवको आयोजनातर्फ मन्त्रालय केन्द्रित हुने जनाएको छ। साथै मन्त्री यादवले मन्त्रालय मातहतका सचिव लगायत सबै कर्मचारीहरूलाई विकास निर्माणको कामलाई द्रुत गतिमा सञ्चालन गर्न तथा आगामी आर्थिक वर्षको कार्यक्रममा जनतालाई प्रत्यक्ष लाभ पुग्ने ठोस कार्यक्रम प्रस्ताव गर्न निर्देशन समेत दिएका छन्। मधेश सरकारमा एमालेको नेतृत्व समेत गरिरहेका मन्त्री यादव यस अघि पनि यही मन्त्रालयमा मन्त्री थिए।

मधेशमा आर्थिक समृद्धिलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याउँछौं : नवनियुक्त अर्थमन्त्री भरतप्रसाद साह

मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री भरतप्रसाद साहले आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ, अनुमानयोग्य एवं पारदर्शी बजेट निर्माण कार्य व्यवस्था बनाउन र बजेट तर्जुमा प्रक्रियालाई जनताको वास्तविक आवश्यकतासँग जोडेर अघि बढ्ने बताएका छन्।

मधेशमा आर्थिक समृद्धिलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याउँछौं : नवनियुक्त अर्थमन्त्री साह

मन्त्री साहले कार्यभार सम्हाल्दै समग्र प्रदेशको समृद्धिमा कृषि, सिँचाइ, मल र समग्र योगदान पुर्‍याउन तोकिएकै समयभित्र अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्ने बताए। उनले प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएकै समयभित्र मधेश प्रदेशले बजेट तथा कार्यक्रममा गरिबी निवारण, उत्पादन वृद्धि र सामाजिक न्याय सहितको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याउने बताए।

मन्त्री साहले भने, ‘वित्तीय संघीयता सफल कार्यान्वयनका लागि प्रदेशको आयमा बढोत्तरी गर्न प्रदेशको सन्तुलित विकास र समसामयिक विकासलाई प्राथमिकतामा राखी बजेट तर्जुमा हुन्छ। नागरिकले प्रदेश सरकारबाट सहयोगको अनुभूति पाउने गरी प्रदेश सरकारबाट हुने खर्चलाई प्रभावकारी बनाउन ध्यान दिनेछु।’

 

 

प्रतिक्रिया