Thursday 20th of June 2024

मधेश प्रदेश : ५ महिलालाई अवसर

0 Shares

धनुषा / साढे ६ वर्षदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको एकछत्र राज रहँदै आएको मधेश प्रदेशमा सत्तारोहण गरेका जनमत पार्टीका सांसद सतिषकुमार सिंहले मुख्यमन्त्री नियुक्त भएकै दिन सरकारलाई पूर्णता दिएका छन् ।

मधेश प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

सिंहले शुक्रबार बिहान मुख्यमन्त्रीको शपथ लिएसँगै १० जना मन्त्री र ३ जना राज्यमन्त्री थप्दै सरकारलाई पूर्णता दिएका हुन् । सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् ।

May be an illustration of text

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बनेकी छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

३ जना फूलमन्त्री २ जना राज्यमन्त्री

१४ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा ३ जना महिलाले फूल मन्त्रीको जिम्मेवारी पाएका छन् । एकीकृत समाजवादीले लुंगेली, नाउपाले चौधरी, र नेपाल संघीय समाजवादीले अन्सारीलाई मन्त्री बनाएको छ । यता एमालेबाट शारदादेवी थापाले राज्यमन्त्रीको शपथ लिँदा जनमतकी रन्जु कुमारी मंडल खङ्ग बिना विभागीय राज्यमन्त्रीको रुपमा सरकारमा प्रवेश गरेकी छन् ।

पहिलोपटक मधेश सरकारमा दलित समुदायबाट मन्त्री

मधेश प्रदेश सरकारमा पहिलो पटक दलित समुदायबाट जनमत पार्टीकी सप्तरीकी समानुपातिक प्रदेशसभा सदस्य रञ्जुकुमारी खंगलाई राज्यमन्त्री बनेकी छन् ।

जसपा नेतृत्वकै सरकारमा सहभागी रहेको जनमत पार्टीले दलित समुदायबाट खंगलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । तर, जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले खंगलाई शपथग्रहण नगराएको जनमत पार्टीका सचिव बीपी साहले बताए । पहिलो प्रदेश सभामा ७ जना दलित समुदायका थिए । कसैले पनि मन्त्री हुने अवसर पाएनन् । जसपाकी सांसद चमेलीदेवी दासको नाम चर्चामा आएपनि मन्त्री बन्न सकिनन् । यसपटक अहिले प्रदेश सभामा ८ जना दलित सांसद छन् । जनमत पार्टीले राज्यमन्त्रीमा दलितलाई स्थान दिएर राम्रो गरेको जसपाकी पूर्व प्रदेश सांसद दासले बताइन् ।

‘मधेश प्रदेशमा झण्डै १८ प्रतिशत जनसंख्या भए पनि दलित समुदायका मन्त्री भएका थिएनन् ,’ सचिव साहले भने, ‘हाम्रो पार्टीले ऐतिहासिक निर्णय गरेको छ । दलितलाई सरकारमा सहभागी गराएर मधेश आन्दोलनको प्रमुख माग समावेशितालाई आत्मसाथ गरेका छौं ।’

राज्मन्त्री खंगले कान्तिपुरसँग कुराकानी गर्दै आफ्नो समुदायबाट आफू पहिलोपटक मन्त्री बन्दा ठूलो जिम्मेवारी काँधमा आएको बताइन् ।

‘मेरो पार्टी जनमत पार्टीले सबै मधेशीहरुको पक्षमा काम गर्छ । कुनै एक जातको पक्षमा होइन सबैको सहभागिता र समावेशितालाई सम्मान गरेको छ,’ राज्यमन्त्री खंगले भनिन्,‘मैले आफ्नो क्षमताअनुसार काम गर्नेछु । अब लाग्छ, दलितहरुले पनि शासन गर्न सक्छ । हामीलाई अब कसैले दबाउन सक्दैन ।’

मधेश आन्दोलनको जगमा मधेश प्रदेश स्थापना भएको राजनीति दलहरुले दलितलाई बहिस्कार गरेको आक्रोश पोख्दै राज्यन्त्री खंगले भनिन्, ‘मेरो शपथग्रहण गराउन मैले बारम्बार यस अघिको जसपाका मुख्यमन्त्री सरोज यादवलाई आग्रह गरेको तर उहाँले गराउनु भएन ।’

 

प्रतिक्रिया