राजकरण महतो
मधेसमा मुख्यतः भारतीय पयर्टक आउँछन्। छेवैको बिहार राज्यका १४ करोडलाई लक्षित गरेर मधेस पर्यटनका योजना अघि सार्ने हो भने मधेसको पर्यटकीय क्षेत्र गुलजार बन्छ।
अग्ला–अग्ला चुरिया पहाड। त्यसको काखैमा सतिसाल झैं ठडिएको छ घनाजंगल। जहाँ आफ्नै साम्राज्य जमाएर लमतन्न छ, पर्सा राष्ट्रिय निकुञ्ज। कामिनी दह, घाँसेमैदान, बाघ—भालु निकुञ्जको गहना बनेका छन्। वनपाखामा पलाएका पालुवाहरूले वसन्त–ग्रृष्म ऋतुको गीत गाइरहेका छन्। हात्ती, बाघ, चितुवा, जरायो, बँदेल वसन्त र गृष्म यामको गीतमा नाचिरहेका छन्, ‘यही हो नेपाल, नेपालीको घर…!’
किरफतिङ (कीराफट्यांग्रा)को चिरबिर, अनि कोइलीको कुँहु–कुँहु। आहा ! जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ तराई मधेसका यी आकर्षणले। स्वर्गको टुक्रा झैं लाग्छ निकुञ्ज स्वयं। जहाँ जबरजस्त डेरा जमाएको छ समृद्धिको प्रतीक हात्तीले। पाहुनाको स्वागतमा ठिङ्रिंग उभिएको स्वागतद्वार। जो पर्यटक भित्त्याउन आतुर छ। जहाँ पाइला टेक्दा पनि ऊर्जा प्राप्त हुन्छ। निकुञ्जको सफारीले मन प्रफुल्लित बनाउँछ। प्राकृतिक सौन्दर्यले तान्छ, तानिरहन्छ। वनजन्तुको अवलोकन गर्न सक्ने मधेसको एक मात्र यो निकुञ्ज हो। मधेस प्रदेशको शृंगार हो, पर्सा राष्ट्रिय निकुञ्ज। पर्यटनको अनन्त सम्भावना बोकेर पनि यो निकुञ्ज ओझेलमा ओइलाइरहेछ। मानौं ऊ एउटा निर्दोष कैदी हो ! प्रचारप्रसारको अभावमा निकुञ्ज गुमनाम हुन बाध्य छ। निरीह निकुञ्जले न स्थानीय सरकारको माया पाउन सकेको छ न प्रदेश सरकारकै। मधेसका पर्यटकीयस्थलले राज्य र मधेस प्रदेश सरकारको अभिभावकत्व पाउन सकिरहेको छैन भन्छन् साहित्यकार डा. राजेन्द्र विमल पनि।
समग्र मधेसको पर्यटन प्रवद्र्धन गर्न होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले प्रयास थालेको छ। उसले निकुञ्जजस्ता सयौं पर्यटकीय गन्तव्यबारे चासो राखेको छ। यस्तै गन्तव्यहरूको प्रचार–प्रसार गर्न महासंघले ‘घुम्न आउनुस् मधेस’ भन्ने महाअभियान नै थालेको छ। खुसीको कुरो, त्यो महाअभियान निकुञ्जकै आँगनबाट सुरु भएको छ।
के छैन मधेससँग ?
के छैन मधेससँग ? सबथोक छ– सिंगो देशकै प्रतिबिम्ब गर्ने तराई–मधेस छ। जानकी मन्दिर, छिन्नमस्ता भगवती, गढीमाईजस्ता सयौं ऐतिहासिक तथा धार्मिक मठमन्दिर छन्। पर्यटकलाई लोभ्याउने थरीथरीका संस्कार–संस्कृति छन्। अनि छन् प्राकृतिक चुरे छटा र पहाड–पर्वत पनि। जिब्रो रसाउने अनेक पाकपकवान छन् मधेसमा। तर पनि मधेसको वैभव र निधि गुमनाम जस्तै छ। यसैलाई प्रचारप्रसार गर्न ‘घुम्न आउनुस् मधेस’ भन्ने महाअभियान थालिएको महासंघ मधेस प्रदेशका अध्यक्ष हीरा गौतम बताउँछन्।
‘मधेस घुम्न किन पर्यटकहरू आउने, केका लागि आउने ? के छ त मधेससँग ? अहिलेसम्म सोधीखोजी कमै भयो’, गौतम भन्छन्, ‘यहाँका पर्यटकीय गन्तव्यबारे व्यापक प्रचारप्रसार गर्दैछौं। विश्वका पर्यटकलाई मधेस घुम्न निमन्त्रणा गर्न थालेका छौं। यसलाई महाअभियानकै रूपमा अघि बढाएका छौं।’ तराई–मधेसमा दिनैपिच्छे देवीदेवताको पूजा गरिन्छ। झन् मिथिला क्षेत्र त त्यसको ज्वलन्त उदाहरण हो।
साबिक उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेस प्रदेशका पर्यटन शाखा प्रमुख बेचनकुमार महतोका अनुसार मधेसमा गाउँपिच्छे, जिल्लैपिच्छे थरीथरीका जातजातिका मठमन्दिर संस्कार, संस्कृति, सजिसजाउ, झकिझकाउ हुन्छन्। कोशी, कमला, बागमती अविरल बग्दछिन्, मधेस पर्यापर्यटनको गन्तव्यलाई सुसेल्ने गर्दछिन्। योजनाबद्ध काम गरियो भने जलविहार, वनपाखासहितको मुख्य पर्यटनको गन्तव्य मधेस बन्न सक्छ। तर, न खोजी छ, न त लगानी नै। अनि कसरी होस् त चर्चा ?
इतिहास गर्विलो छ तर छैन ब्रान्डिङ
मधेसमा मुख्यतः भारतीय पयर्टक आउँछन्। हिन्दुधर्मालम्वीको विशेष गन्तव्य यहाँका मठमन्दिर नै हुन्। जानकी मन्दिर, छिन्नमस्ता, गढीमाई मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठ, जेठको जेठो गुरुकुल (राजकीय संस्कृत माध्यमिक विद्यालय) लगायत स्थान घुम्न बढी मन पराउँछन्। मधेसमा पर्यटन प्रवद्र्धनका लागि केही महिनापहिले पर्यटन व्यवसायी ‘मिथिलाकी सीता, अयोध्याका राम’ भन्ने आवधारणासहित भारतको अयोध्या पुगेका थिए। हालै मधेस–गण्डकी प्रदेशबीच पर्यटन प्रवद्र्धनका लागि दुईपक्षीय सम्झौता पनि गरेको थियो।
भारत र नेपालको पर्यटन पवद्र्धन गर्न रामायण सर्किटको अवधारणा पनि अघि सारेको थियो। त्रेतायुगमा भगवान् श्रीरामचन्द्र टेकेको धर्तीको पदचापलाई एउटै परिपथमा जोडेर रामायण सर्किट नाम दिइएको छ। भारतले रामायण सर्किटको अवधारणा सन् २०१४ मै ल्याएको थियो। अयोध्या र जनकपुरधामबीचको ६ सय ५० किलोमिटरको दूरीमा कृषि, औद्योगिक, परिवहन र पर्यटन गरी चार क्षेत्रमा विशेष विकास गर्ने उसको रणनीति छ। यसको एउटा महत्त्वपूर्ण भाग हो, नेपाल भारत रेल सेवा।
भारतीय प्रधानमन्त्री मोदीको २०७५ वैशाख २८ को भ्रमणपछि बनाउने भनिएको रामायण सर्किटको एउटा महत्त्वपूर्ण अंगका रूपमा रहेको रेल सेवा जयनगरदेखि बिजलपुरासम्म आइसकेको छ। तर, त्यसबाट नेपालले लाभ लिन सकिरहेको छैन। जनकपुर र अयोध्याको धार्मिक महत्त्वलाई ब्रान्डिङ गर्न सकिएको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको समयमा जनकपुर–अयोध्या भगिनी सम्बन्ध र विकास योजनाको कुरा भएको थियो। त्यो योजना अहिले अलमलमै छ। त्यसलाई कार्यान्वयनमा लैजान विलम्ब गर्नु हुँदैन।
‘मिथिला र मधेस ऋषिमुनि, साधुसन्त र तपस्वीहरूको ऊर्जाशील भूमि हो। जुन धर्तीले चिन्तक र विद्वान्हरू जन्माए। जनक, सीता, अष्टाबक्र, विद्यापति जन्मायो’, साहित्यकार डा. विमल भन्छन्, ‘मधेस स्वर्गभन्दा कम छैन। त्रेताकालमा भगवान् पनि मिथिला र मधेसको भ्रमण गर्न लालायित हुन्थें। तर, त्यही अहिले भूमि ओझेलमा छ। त्यहाँका मठमन्दिर, प्राकृतिक सम्पदाहरूको इतिहासले नै विश्वलाई चकित बनाउँछ। यसलाई पर्यटक तान्ने रणनीतिमा रूपान्तरण गर्न जरुरी रहेको उनी बताउँछन्।
छिमेकी देश भारतकोे बिहार राज्यको १४ करोड जनसंख्या छ। बिहारसँगै मधेस प्रदेश जोडिएको छ। त्यो जनसंख्यालाई लक्षित गरेर पर्यटनका योजना अघि सार्ने हो भने मधेसको पर्यटकीय क्षेत्र गुलजार बन्छ। पर्यटन व्यवसायले ज्यान पाउँछ। मधेसको सबैभन्दा नजिक बिहारको त्यो जनसंख्याको केही हिस्सालाई मधेस टेकाउन सक्ने हो भने पर्यटनका लागि अथाह बजार हुन्थ्यो। तर, यसका लागि सरकार पक्षबाट ठोस पहल गरिएको छैन। भारती पर्यटक नेपाल भित्त्याउन तीनै तहका सरकारले विशेष योजना बनाउनु पर्छ। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।
होटल तथा पर्यटनको पढाइ हुँदै
मधेसको पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारी तथा निजी क्षेत्र जुटेको छ। मधेसमा पर्यटकलाई भित्त्याउन लक्षित सानादेखि पाँचतारे होटलहरू खुलेका छन्। स्थानीय स्तरमा पर्यटन गतिविधि बढेको छ। पर्यटन तथा होटलसम्बन्धी कलेज स्थापना गरेर सरकारी तहबाट पठनपाठन पनि भइरहेको छ। मधेसको पर्यटन क्षेत्र विस्तार गर्न संघीय सरकारले महोत्तरीको बर्दिबासका कलेज सञ्चालन गरिरहेको छ। सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबासले ‘ब्याचलर इन् हस्पिटालिटी म्यानेज्मेन्ट’को पठनपाठन गराइरहेको छ। जहाँ होटल, ट्राभल एन्ड टुरिज्मसम्बन्धी अध्ययन, अध्यापन तथा प्रयोगात्मक कक्षा सञ्चालन भइरहेको प्रतिष्ठानका प्रमुख शिवेन्द्र मल्लिक बताउँछन्। २०७७ असोज १६ गते कलेज स्थापना भएको थियो। २०७९ बाट कक्षा सुरुआत भयो। अहिले फस्टर इयरमा १७ र सेकेन्ड इयरमा २२ गरी ३९ विद्यार्थी अध्ययनरत छन्।
कलेजले पर्यटन तथा होटलसम्बन्धी विभिन्न खालको निःशुल्क तालिम पनि सञ्चालन गरिरहेको छ। श्रम मन्त्रालय मधेस प्रदेशको लगानीमा ६ प्रकार तालिम चलिरहेको छ। जहाँ १ सय ४० जना सहभागी छन्। तीनमहिने कुक तालिम, तीनमहिने फुड एन्ड बेब्रेज सर्भिस (वेटर) तालिम भइरहेको छ। त्यसैगरी, एकमहिने हाउस किपिङ तालिम, एकमहिने बेकरी तालिक, एकमहिने बारिस्टा (कफी बनाउने) तालिम, सातदिने लोकल गाइड तालिम पनि सञ्चालित छ।
‘मधेससँग धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना छ। होटल तथा पर्यटन शिक्षाबिना यसको प्रवद्र्धन सम्भव छैन। त्यसैले सरकारले महोत्तरीको बर्दिबासमा मधेसलाई लक्षित गरेर कलेज सञ्चालन गरेको छ’, प्रतिष्ठान प्रमुख मल्लिक भन्छन्, ‘होटल तथा पर्यटन क्षेत्र प्रवद्र्धनका लागि हामी दक्ष जनशक्ति उत्पादनका लागि काम गरिरहेका छौं।’ शिक्षाकै अभावले मधेससँग सम्भावना हुँदाहुँदै पनि यहाँको पर्यटन उज्यालिन नसकेको उनी सुनाउँछन्।
आन्तरिक तथा बाह्य पर्यटकलाई खान बस्न चौकैपिच्छे मधेस प्रदेशमा होटल र रेस्टुराँ सञ्चालन छन्। यस प्रदेशमा करिब १ हजार ५ सय बढी रहेको होटल तथा पर्यटन महासंघका अध्यक्ष गौतम बताउँछन्। नयाँ पर्यटकीय गणतव्यहरू पहिल्याउन निजी क्षेत्र पनि निरन्तर लागेका छन्। मधेसको मध्यभागमा पर्ने बर्दिबासका व्यवसायी आफ्ना क्षेत्रमा रहेको पर्यटकीय गणतव्यबारे स्थलगत भ्रमण गर्दै बहस छलफलमा छन्। बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का भन्छन्, ‘चुरिया क्षेत्रको भ्रमण गरी पर्यटकीय सम्भावनाबारे निजी क्षेत्र र तीनै तहको सरकारलाई ध्याकर्षण गराइरहेका छौं।’
त्यसैगरी, होटल तथा पर्यटन व्यवसायी महासंघले मधेस प्रदेशमा आठवटै जिल्लाका पाँच-पाँचवटा धार्मिक तथा प्राकृतिक स्थलको संरक्षण, संवद्र्धन र विकासका लागि महासंघले महाअभियान चलाइएको छ। पहिलो चरणमा महोत्तरीका जलेश्वरनाथ महादेव मन्दिर, रौजा मजार, टुटेश्वर महादेव मन्दिर, पञ्चधुरा माई मन्दिर र कालापानी पार्क (उद्यान) छनोटमा छन्। सप्तरीको कंकालिनी माई मन्दिर, सकरा भगवती, सिरहाका सहलेस फूलबारी, उत्तरायणी कमला सूचीमा छ। त्यसैगरी, धनुषाका धनुषाधाम, सर्लाहीका बागमती ताल र सागरनाथ वन विकास परियोजना, चन्द्रनगरस्थित नाढीमन ताल, रौतहटका नुनथर र जंगे झरना, बाराको गढीमाई मन्दिर र आधिभारस्थित पर्सा राष्ट्रिय निकुञ्ज र पर्साका भिसवाडाँडा र शंकराचार्यद्वारलगायतका स्थान छन्। यी सबै मठमन्दिर र सम्पदाका बारेमा अन्नपूर्ण पोस्ट दैनिकले नेपालका एक हजार पर्यटन गन्तव्य विषयक विशेष परिशिष्टांक प्रकाशित गरेको थियो।
पर्यटक र खानाको सम्बन्ध प्रगाढ छ। मधेसको रैथाने खाना÷खाजाको स्वाद चखाउनका लागि सडक खाना महोत्सव पनि आयोजना गरिँदै आएको छ। महोत्तरीबाट सडक खाना महोत्सव सुरु गरिएको थियो भने बाराबाट घुम्न आउनुु् भन्ने अभियान थालिएको छ। ‘घुम्न आउनुस् मधेस’ महाअभियानले यहाँ आउने पर्यटकलाई बाटो देखाउनेछ। त्यसमा मधेसले काठमाडौं साथ खोजेको छ।
राजनीतिक तथा सत्ता साझेदारीको लडाइँमा मधेस र काठमाडौं सम्बन्ध जहिले कटुता रहेको पाइन्छ। त्यसैले होला, काठमाडौं नजरमा मधेस जहिले विद्रोही देखिन्छ। यसैको बाछिटा यहाँ जनतामात्रै होइन, मठमन्दिरका भगवान्हरू पनि परेका छन्। नेपाल पर्यटन बोर्डले ‘पर्यटन भ्रमण वर्ष २०२०’ अन्तर्गत मधेस प्रदेशका प्रत्येक जिल्लाका पाँच÷पाँच वटा स्थान छनोट गरी ४० गन्तव्य पहिल्याएको थियो। त्यहाँको पूर्वाधार विकास, व्यवस्थित सञ्जाल निर्माण गरी धार्मिक आस्थालाई पर्यटनसँग जोड्न सरकारलाई आग्रह गरिएको थियो। तर, त्यो अलपत्रै छ।
‘कण–कणमे नेपाल छै’
मधेस भन्नेबित्तिकै काठमाडौंको दिमागमा कुप्रथा र हिंसाजन्य घटनामात्रै आउँछ। मधेसलाई होच्याउन, दबाउन दाइजो, बोक्सी प्रथा, अशिक्षा, गरिबी आदिलाई हतियारको रूपमा प्रयोग गरेको पाइन्छ। यसैलाई मधेसको विशेषता हो भनेर व्यापकीकरण गरिदिएको सुन्न र पढ्न पाइन्छ। यसले मधेसवासीलाई बदनाम मात्रै गरेको छैन उसको पहिचानमाथि नै शंका गर्ने ठाउँ बनाउँछ। यसले मधेसको असली पहिचान, कला, संस्कृतिलाई फैलिनबाट छेकबार लगाइदिन्छ।
डा. विमल भन्छन्, ‘मधेसका कैयौं कला, संस्कृति, रीतिथितिबारे बोलेको छैन, लेखेको छैन। यहाँका कयौं पुरातात्त्िवक, ऐतिहासिक, धार्मिक, मठमन्दिरहरू गुमनाम छ। प्राकृतिक पर्यटकीय स्थलहरूले चर्चा पाएको छैन।’ पुरातात्त्िवक धरोहरहरूले संरक्षण, संवद्र्धन र विकासका लागि बहस–पैरवी गर्न स्थान ओगट्न सकेको छैन। मधेसका जंगल, निकुञ्ज, मठमन्दिर, महजित, गुरद्वार, कुटीहरूले काठमाडौंसँग भन्छन्, अब मेरो न्यायका लागि पनि बोलिदेऊ। लेखिदेऊ। विकासको बजेट देऊ। अब शंका हैन, विश्वास गर। अस्तित्व स्वीकार गर। यसै भावलाई कवि मोहन महतो कोइरीले कवितामा उतार्दै काठमाडौंलाई भन्छन्–
हृदयमे मिथिला, हृदयमे मधेस, हृदयमे पहाड, हिमाल छै।
चिर कऽ देखु भले छाती हम्मर, कण–कणमे नेपाल छै।।
पर्यटन पूर्वाधारमा सडक र हवाई मार्गले पनि उत्तिकै निर्णायक भूमिका खेल्छ। जयनगर—जनकपुर—बिजलपुरा—बर्दिबाससँग जोड्ने रेल्वे मार्गलाई पूर्व—पश्चिम विद्युतीय रेलमार्गले काठमाडौंलाई छुनुपर्छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै जहाजले उडान भर्न पाउनु पर्छ। निजगढ—काठमाडौं द्रुतमार्गमा छिट्टै गाडी गुड्नु पर्छ। मधेसको लाइफलाइन हुलाकी सडकको निर्माणमा अब हुनुपर्ने बताउँछन् एमाले मधेस प्रदेशका स्कुल विभाग प्रमुख शंकर महतो।
मधेसको पर्यटन क्षेत्रको विकासका लागि राजविराज, जनकपुर, बर्दिबास र वीरगन्जले राज्य सत्तासँग सकारात्मक भावका साथ हात फैलाएको अध्यक्ष गौतम सुनाउँछन्। ‘यसको प्रचारप्रसार, विकास, संरक्षण, संवद्र्धनका लागि तीनै तहका सरकार पनि गम्भीर बन्नुपर्छ’, उनी भन्छन्, ‘मधेस पर्यटनका लागि भर्जिन प्लेस हो। यो कदममा काठमाडौंले मधेसका लागि काँध थपिदिनु पर्छ। आशाको दियो तेल थपिदिनु पर्छ। स्थानीय र प्रदेश सरकार गम्भीर बन्नुपर्छ। मधेसको पर्यटन क्षेत्र जगमगाउनु भनेको देश विकास हुनुसरह हो।’ आउँदो बजेटमा मधेस प्रदेश सरकारले पर्यटन क्षेत्रमा योजनाबद्ध काम गर्न जरुरी रहेको सरोकारवला बताउँछन्।
धर्तीको स्वर्ग मधेस
-डा. राजेन्द्र विमल, साहित्यकार
मधेससँग सबैथोक छ। त्यसको बाबजुद पनि पर्यटनसहितका क्षेत्रमा विकास हुन सकेन। जुन अपेक्षासँगै संघीयता आयो। त्यसको कार्यान्वयन नहुँदाको प्रभाव हो यो। यसको प्रत्यक्ष असर मधेसको पर्यटन क्षेत्रले भोगिरहेछ। उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले पुराना पार्टीबाट विद्रोह गरेर आए। मधेससहित संघीय सत्तामा नयाँ स्पेश बनाए त्यसैले जनताको ठूलो अपेक्षा थियो। तर, केही वर्षमै निराशामा परिणत भयो।
‘जय मधेस’को नारामा सबै मिलेर मधेसलाई ठगिरहेका छन्। पर्यटनको मुख्य दुई आयाम स्थुल र सूक्ष्म सम्पदा हुन्। मधेससँग स्थुल सम्पदा हिमाल झरनाको अभावै छ। तर, सूक्ष्म सम्पदाअन्तर्गतको सांस्कृतिक सम्पदा र धार्मिक पर्यटन छन्। यी सबै पुनर्जागृत गर्नुपर्छ। कृषि औद्योगिक पर्यटनको बढी नै सम्भावना छ। शैक्षिक पर्यटनको हबको रूपमा मधेसलाई विकास गर्न सकिएन। स्वास्थ्य पर्यटन र सामाजिक चेतनाको स्तर बढाउन सकिएन। यसका लागि मधेस सरकारले कुनै गुरुयोजना बनाएन।
मिथिला र मधेस ऋषिमुनि, साधुसन्त र तपस्वीहरूको ऊर्जाशील भूमि हो। जुन धर्तीले चिन्तक र विद्वान् जनक, सीता, अष्टाबक्र, विद्यापति जन्मायो। त्यही भूमि ओझेलमा परेको छ। त्यहाँका मठमन्दिर इतिहासले नै विश्वलाई चकित बनाउँछ। यसलाई पर्यटक तान्ने रणनीतिमा रूपान्तरण गर्न जरुरी छ। मधेससँग ज्ञानको चिप्स छ। तर, यहाँका जनशक्ति र जलको उपयोग भइरहेको छैन। मधेसको धर्ती स्वर्गभन्दा कम छैन। जनशक्ति, सांस्कृतिक सम्पदा र प्राकृतिक स्रोतले मधेस भरिभराउ छ। जसलाई विश्वप्रचार गर्न जरुरी छ। सीता र रामायण जगमा टेकेर मधेसलाई पर्यटन क्षेत्रमा गुल्जार बनाउन सकिन्छ।
अब मधेसले रामायण सम्मेलन गर्नुपर्छ। जहाँ संसारका मानिसलाई बोलाउनुपर्छ। तर, दुर्भाग्य अहिलेसम्म हामीले विवाह पञ्चमी मेलालाई व्यवस्थित गर्न सकिएको छैन। मधेसको गरिमा र वैभवलाई पाठ्यक्रममा राख्न सकिएको छैन। नयाँ पुस्तालाई मधेसबारे पढाउनु पर्छ।
मधेस सरकारसँग छैन पर्यटनकै गुरुयोजना
–बेचनकुमार महतो,
पर्यटन शाखा प्रमुख, साविक उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेस प्रदेश
मधेस प्रदेश सरकारले गएको ६ वर्षमा मधेसको पर्यटन विकासका लागि पूर्वधार विकासमा जोड दिएको थियो। तर, रणनीतिक तह त्यो संरचना निर्माण गर्ने काम भएन। खुद्रामसिना काममा अल्झियो। पर्यटनको अर्थ हुन्छ, बाहिरका अतिथिलाई बोलाउनु, होल्ड गराउनु, पर्यटकलाई मनैबाट खर्च गराउनु। जानकी मन्दिरको सौन्दर्यीकरण, वीरगन्जको घडीअर्वा पोखरीको घाट निर्माण, जनकपुरमा ठूला धर्मशाला बनाउनु जस्ता काम गर्नुपर्ने थियो। मधेस प्रदेश सरकार सातौं बजेट ल्याउने तयारीमा छ। यसअघिका बजेटले बाह्य तथा आन्तरिक पर्यटक आकर्षण गर्ने कामै गरेन।
पर्यटकले शौचका लागि ठाउँ पाउँदैन भने कसरी हामीले तिनबाट लिने कुरा सोच्ने ? दिए न लिन सकिने हो। प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक शौचालयको अभाव छ। शौचालय बनाउनेसम्मको ध्यान सरकारको छैन। शक्तिपीठ सर्किट, महादेव सर्किट निर्माण भए त्यसले पर्यटक तान्छ। तर, ध्यान छैन। प्रदेश सरकारले पर्यटन गुरुयोजना बनाउन सकेको छैन। पर्यटन एप बनाउन सकेको छैन। पर्यटक यो प्रदेशको कहाँ कहाँ घुम्न जाने ? गुगल सर्च गर्दा तुरुन्त कुन ठाउँहरू, दूरी र अवस्थिति थाहा हुनुपर्छ। लाग्ने समय, भाडा, सवारीसाधन, खानबस्ने सुविधा आदि सबै सूचना पाउनुपर्छ। तर, त्यो छैन। मधेस प्रदेशको हवाई सेवा पनि निकै कमजोर छ। जनकपुरमै त पर्यटकका लागि सूचना केन्द्र छैन, प्रदेशको के कुरा। पर्यटक गाइडको कमी छ।
‘मिथिलाकी सीता–अयोध्याका राम’
–हीरा गौतम
अध्यक्ष, होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश
मधेसको पर्यटन प्रवर्द्धनमा ‘मिथिलाकी सीता–अयोध्याका राम’ भन्ने आवधारणको आवश्यकता किन ?
मिथिलाकी सीता र अयोध्याका रामसँग विवाह भएको थियो। भगवान् राम—सीताको वैवाहिक उत्सव जनकपुरमा हरेक वर्ष मनाइन्छन्। जहाँ अयोध्याबाट जनकपुरधामस्थित जानकी मन्दिरमा बराती आउँछ। यसले नेपाल—भारतबीचको ‘बेटीरोटी’को सांस्कृतिक सम्बन्ध कायम गर्दै आएको छ। हिन्दुधर्मालम्बीका लागि अयोध्या र जनकपुर विशेष मानिन्छ। अयोध्या आउने पर्यटकलाई जनकपुर ल्याउन हामी ‘मिथिलाकी सीता र अयोध्याका राम’ भन्ने आवधारण ल्याएका हौं। जनकपुर आउने पर्यटकलाई तराई–मधेसमा भ्रमण गराउने मुख्य लक्ष्य छ।
यो अवधारणाको कार्यान्वयन कहाँ पुग्यो ?
नेपाल आउने धेरै धार्मिक पर्यटक अहिले अयोध्या गइरहेका छन्। अयोध्यासँग जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध छ। त्यसलाई पर्यटनका मार्फतबाट जोड्नुपर्छ भन्ने प्रस्ताव राख्दा भारतका होटल तथा पर्यटन व्यवसायीहरू निकै उत्साहित हुनुभयो। ‘सीताको नगरी जनकपुरधाम घुम्न जानुपर्छ, घुम्ने ठाउँहरू के के हुन् ?’ भन्नेबारे चासो व्यक्त गर्नुभयो। अहिले त्यसको प्रभाव राम्रो छ। भारतका ट्राभल एजेन्टहरूले फोन गरेर तराई–मधेस घुम्न आउँदैछौं भनेर फोन गर्न थालेका छन्। होटलहरू अग्रिम बुकिङ गर्ने संख्या बढेको छ।
यो अवधारणाको प्रभाव परेको छ।
पर्यटन वर्ष मनाउन मधेस प्रदेशले कहिले सुरु गर्छ ?
मधेस प्रदेश सरकारले गर्ला, नगर्ला तर हामी होटल तथा पर्यटन व्यवसायी पर्यटन क्षेत्रलाई चलायमान बनाउन लागेका छौं। मधेस प्रदेशका आठैवटा जिल्लामा सडक महोत्सव गर्दैछौं। ‘आउनुस् मधेस घुम्न’ भन्ने अभियान बाराबाट सुरु गरेका छौं। स्थानीय सरकारसँग छलफल गर्दै काम अगाडि बढाएका छौं। मधेसका लागि यो नौलो प्रयास पनि हो।
मधेससँग पर्यटनबारे प्रदेश सरकारसँग सहकार्य भएको छ ?
पर्यटन प्रवद्र्धनमा सरकारको खासै भूमिका देखिएन। पाँच वर्षदेखि भन्दै छौं मधेस प्रदेश सरकारले कम्तीमा पर्यटन बोर्ड बनाइदियोस्। हामी पर्यटन मन्त्रालय धाएको धाएछौं सरकारले सुन्दैन। प्रदेश सरकारबाट यी र यस्ता काम हुने सम्भावना हामीले देखेनौं। स्थानीय सरकारसँग स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनका लागि पहल थालेका हौं।