गौशाला / प्रदेश नं. २ को अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको नयाँ भेरियन्टका कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रदेश नंं २ को ५ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
८ वटा जिल्ला रहेको प्रदेश नं. २ मा निषेधाज्ञा लागु हुने जिल्लाहरुमा महोत्तरी, धनुषा, सिरहा, वारा र पर्सा रहेका छन । वारा र पर्सामा यसअघि नै निषेधाज्ञा जारी भईसकेका छन भने धनुषामा मंगलवारदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरिएको हो ।
त्यस्तै महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाईएका हुन । जसको कारण जिल्लाभरिका सार्वजानिक संघ संस्था, हाटवजार, यातायातका साधनहरु पूर्ण रुपमा बन्द भएका छन । विना कारण घरवाहिर ननिस्कन, भिडभाड नगर्न, समुहमा नहिडन, भौतिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको अनिवार्यरुपमा प्रयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले सर्वसधारणमा अनुरोध गरेका छन ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रौतहटले संयम एवम सचेत भई कार्यसम्पादन गर्नका लागि सर्वसधारणहरुमा अनुरोध गरेका छन । विश्व व्यापी कारोना महामारीका कारण प्रदेश नं. २ प्रत्यक्ष रुपमा प्रभावित भईरहेका छन ।
नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार निषेधाज्ञा अवधिभरिमा स्थानिय हाटवजारमा खाद्यान्न, तरकारी र औषधिलगायतका वस्तु खरिद गर्न पनि दुई जनाभन्दा बढी व्यक्ति सहभागी नहुन र त्यसमा पनि कम्तीमा दुई मिटरको दूरी कायम राख्न निर्देशन दिइएको छ । मास्कको अनिवार्य प्रयोग, सेनिटाइजर र सरसफाइमा विशेष जोड दिइएको छ । त्यस्तै सभा–सम्मेलन, जमघट हुने सबै कार्य बन्द गरी विवाह र व्रतबन्ध कार्यका लागि स्वास्थ्य सुरक्षा पालना गर्ने सर्तमा १५ जना सहभागी हुन सक्ने छन् । विभिन्न धार्मिक मठ–मन्दिरमा नित्य पूजाबाहेक अन्य धार्मिक कार्य निषेध गरी पूजापाठ, मन्दिरमा धर्मकर्म गर्ने नाममा कोही कसैलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ । अत्यावश्यक ढुवानीका सवारीमा दुई जनाबाहेक अन्यलाई यात्रामा रोक लगाइएको छ ।