काठमाडौँ : पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।
नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ। अन्य इन्धनको भाउ भने यथावत् रहेको छ।
भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आइतबार बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो ।
निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ । रासस