जयन्त ठाकुर
जनकपुरधाम / भारतको जयनगरदेखि जनकपुरधाम हुँदै भंगहासम्मको न्यारो गेज रेललाई ब्रोडगेजमा परिणत गरेको पनि केही वर्ष बिति सकेको छ । ब्रोडगेजमा नेपाल रेल्वेमा परिणत भई सकेपछि न्यारोगेज रेल सेवाका समयमा प्रयोग भएका रेल्वेका ईन्जिनहरु अहिले प्रयोगविहिन अवस्थामा छन् । जनकपुरधामदेखि जयनगरसम्म चल्ने नेपाल रेल्वेका पुराना डिजेल इन्जिन तथा कोइलाका इन्जिनहरु प्रयोगविहिन मात्रै नभई संरक्षण हुन नसक्दा कबाडमा परिणत भईरहेका छन् कि त पार्ट पार्ट गर्दै चोरी भई रहेका छन् ।
ब्रोडगेज रेल संचालनमा आएसँगै राज्यले चासो नदिँदा पुराना कोइलाबाट चल्ने इन्जिन लथालिंग अवस्थामा छन । पुराना इन्जिन, बोगी र अन्य महत्वपूर्ण पार्ट पूर्जाहरू संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेका छन् ।
नेपाल रेल्वेको यी सम्पतिहरुको संरक्षणका लागि नेपाल सरकारले १६ जना कर्मचारी खटाएको छ तर अधिकांश कर्मचारी अवकाश प्राप्त गरेपछि अहिले संरक्षणमा लागेका कर्मचारीहरुको पनि अभाव भएको छ । सरोकारबालाको हेल चक्रयाईँका कारण ती सामानहरु दिन दिनै चोरी भईरहेको छ ।
जनकपुरधामबाट १५ किलोमिटरको दुरीमा पर्ने खजुरी रेल्वे स्टेसनस्थित थन्काइएका सीता, विष्णु, ब्रह्मा, गोरखनाथ, पशुपतिनाथ, महावीर नामक रेल इन्जिनको संरक्षण हुन सकेको छैन ।
२०५० सालसम्म कोइला इन्जिनले सेवा दिँदै आएको नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ बोगी सहितको डिजेल इन्जिन सहयोग गरेपछि जनकपुरधाम–जयनगर रेल मार्गमा आधुनिक रेल सञ्चालनमा आएको थियो ।
विश्वभरी नै विस्थापित भइसकेको कोइला इन्जिनलाई संरक्षण गरेर संग्रहालयको स्वरुप प्रदान गर्नुपर्ने आवाज पनि पटक पटक उठ्दै आई रहेको छ । यस विषयमा नेपाल सरकार पनि साकारात्मक नै देखिएको छ । तर कुनै ठोस कदम भने अहिलेसम्म उठाइएको छैन ।
यी पुराना ईन्जिनहरुलाई संरक्षण सम्बद्र्धन गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने त्यहाँका स्थानीयहरु बताउँछन् ।
महत्वपूर्ण र ऐतिहासिक सम्पत्तिको रूपमा रहेपनि यसको संरक्षण र संग्रहालय निर्माणतर्फ कुनै निकायले ध्यान नदिपछि स्थानीय चिन्तित छन् ।
खजुरीमा नेपाल रेल्वेको १० विघाभन्दा बढी जग्गा रहेको छ । त्यो जग्गालाई उपयोग गरेर संग्रहालय निर्माण गर्न सकिने स्थानीयवासीहरुको बुझाई छ ।
ती इन्जिनहरू अन्यत्र लगिए कवाडीको मूल्यमा बिक्री हुने चिन्ता समेत स्थानीयको छ ।
यता रेल विभागका महानिर्देशक अजयकुमार मुलले खजुरीमा संग्रहालय बनाउन आफूहरु गम्भिर रहेको बताए । यद्यपि बजेटको सुनिश्चितता हुन नसकेकाले संग्रहालय निर्माणको प्रकृया अहिलेलाई रोकिएको उनले बताए । संग्रहालय निर्माणकालागि ठूलो रकम आवश्यक रहेकाले बजेटको सुनिश्चितता भएसंगै यसलाई अगाडी बढाइने उनको भनाई थियो ।
जबकि रेल्वेको महाप्रबन्धक गुरु भट्टराई रहेकै समयमा खजुरीमा संग्रहालय निर्माणको सम्भाव्यता अध्ययनका लागि १ लाख ५० हजार रुपैयाँ बजेट समेत छुुट्याइएको छ । तर सो रकमको प्रयोग कहाँ प्रयोग गरियो त्यसको लेखाजोखा छैन ।