Saturday 5th of October 2024

बाढीका कारण धनुषा, महोत्तरी र सिरहामा व्यापक क्षति

0 Shares

धनुषा / लगातार तीन दिन देखि परेको अविरल वर्षा बाढीको कारण सिरहा, धनुषा र महोत्तरीमा व्यापक क्षति भएको छ । धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीमा आएको बाढीका कारण सिरहा र धनुषामा व्यापक क्षति भएको छ ।

अविरल वर्षाले धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीले विभिन्न स्थानमा क्षति पु¥याएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ । धनुषाको कमला नगरपालिकाको हरिणेस्थित कमला नदीको ग्यावियन जालीको वाल भत्किनुको साथै आरसिसि वालसमेत भत्किएको जनाइएको छ ।

त्यस्तै कमला नगरपालिकाको हथमुन्डामा कमला नदी छेउमै निर्माण गरिएको बाँधको माथिल्लो भागमा क्षति भएको छ भने सोही नगरपालिकाको वडा नम्बर ५ स्थित लक्कडदेखि फूलबरियासम्मको बाटो कटान भएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ ।

त्यस्तै कमला नदीमा आएको बाढीको कारण सबैला नगरपालिका वडा नम्बर ४ स्थित पटेर्वादेखि सबैला नगरपालिका– १३ स्थित ढोलबज्जासम्मको नदीले कटान गरेको छ । त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित भेडिया–भोक्राहामा तटबन्ध नजिक कटान गरेको छ ।

त्यस्तै कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित चिकना–निर्दना स्थित तटबन्ध नजिकको कटान गरेको छ । भने चत्तरीमा तटबन्ध नजिक कटान गरेको छ ।

त्यस्तै बाढीले सिरहा नगरपालिका– ५ स्थित मानपुरमा स्परको लन्चिंग तथा आरसिसि पाइल बगाएको छ । सिरहा– १७ स्थित पटेर्वादेखि कल्याणपुर नगरपालिका– ७ स्थित भेडिया सम्मसमेत बाढीका कारण बाटो कटान गरेको जनाइएको छ । सिन्धुलीको दुधौली नगरपालिका– २ स्थित ज्यूदाही फाँटमा माटोको बाँध कटान गरेको छ भने दुधौली नगरपालिका ९ स्थित जीतपुर टाडीमा तटबन्ध नजिक कटानले व्यापक क्षति भएको आयोजनाले जनाएको छ ।

त्यसैगरि महोत्तरीको रातो नदीमा आएको भिषण बाढीका कारण भंगहा नगरपालिका वडा नम्बर ६ स्थित हतिसर्वा नजिक रहेको नदीको तटबन्ध भत्केको छ । सो तटबन्ध भत्किँदा बाढी गाउँतर्फ पसेको छ । त्यसैगरी तटबन्ध बनाउन बाँकी रहेको हतिसर्वा, वनचौरीलगायत जिल्लाका विभिन्न स्थानहरुमा निर्माण गरिएका तटबन्धसमेत भत्केको छ । सो बाढी गाउँतर्फ जाँदा ठूलो जनधनको क्षति भएको हुन भएकोले सम्बन्धित निकाय जनताको तटबन्ध कार्यालय महोत्तरीले सोको रोकथाम गर्दा जनतालाई राहत भएको छ ।

मधेशमा ३ जनाको मृत्यु, ४ बेपत्ता

वर्षासँगै आएको बाढीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भइरहेका छन् । ८ वटै जिल्लामा ८ जना घाइते भएकोमा सबैको अवस्था सामान्य रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराले बताए अनुसार सप्तरीमा १ र महोत्तरीमा २ जना गरी तीन जनाको मृत्यु भएको छ । भने सर्लाहीमा १ जना बेपत्ता छन् । सप्तरी बलान बिहुल गाउँपालिका– ४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका ८ वर्षीय प्रीन्सकुमार साह मृत भेटिएका छन् । त्यस्तै महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीका १६ वर्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छ ।

महोत्तरीकै बर्दिवास नगरपालिका–११ खैरमाराका २१ वर्षीय मानबहादुर थिङलाई खैरमारा खोलाले बगाएर मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका– ९ स्थित सक्रोलका १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाएर बेपत्ता छन् । ८ वटै जिल्लामध्ये रौतहटमा ३, सिरहामा १, सर्लाहीमा १ र बारामा ३ जना घाइते हुँदा उपचारपछि सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक बोहराले बताए ।

त्यस्तै बेपत्ता हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया परियार रहेका छन् ।

प्रहरी उपरीक्षक बोहराले बताए अनुसार ९६ घरका परिवारका ४ सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । उनले गौर कारागारमा वाग्मती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवा/कैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको समेत बताए ।

मधेस सरकारद्वारा राहत तथा पुनःस्थापनाका लागि आठ करोड विनियोजन

मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक/एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।

मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो । आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको  मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको जानकारी दिए ।

उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए । मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताए । – जनकपुर टुडे

प्रतिक्रिया