काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा रातारात रोजगारी सृजना गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा मन्त्रालयका गरेका सय दिनको उपलब्धिबारे जानकारी गराउने क्रममा श्रममन्त्री भण्डारीले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो ।
श्रममन्त्री भण्डारीले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले भएको सम्भावनाहरुको खोजी गर्ने र त्यसलाई व्यवस्थित ढंगले अघि बढाउने गरी प्रविधिको विकासमा जोड दिएको दाबी गर्नुभयो । उहाँले सरकारले रोजगारीका सबै अवसरबारे आम जनतालाई जानकारी गराउनका लागि पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रलाई उपयोग गर्ने कामलाई अघि बढाएको बताउनु भयो ।
श्रममन्त्री भण्डारीले रोजगारीको अवसर लुकाउने, छिपाउने काम भएको भन्ने गुनासो आएपछि आफूहरुले पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रमा ती सबै सूचना पुग्नेगरी एकीकृत सूचना प्रणालीको विकासमा लागेको उहाँको भनाई थियो । मन्त्री भण्डारीले आन्तरिक रोजगारलाई व्यवस्थापन गर्न, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गर्ने कामलाई आफूले जोड दिएको पनि बताउनुभयो ।