
महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका १ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिज लिमिटेड रामनगर मुलुककै सवैभन्दा बढि उखु क्रसिंग गर्ने उद्योगको रुपमा परिचित रहेको छ । कुनै समय ५८ लाख क्वीन्टल उखु क्रसिंग गरि देशकै सवैभन्दा ठूलो चिनी उद्योगको रुपमा चर्चा पाएका यस उद्योगमा हाल उखुको अभाव सिर्जना भएको हो ।
यसबर्ष संचालनमा आएदेखि नै नो केन
२०७७ सालको पुस पहिलो सातादेखि यस बर्षको क्रसिंग सिजन संचालनमा आएको यस उद्योगमा उखुको अभावको सिर्जना भएको हो । जसको कारण मिलमा नो केन अर्थात उखुको अभाव सिर्जना भएको हो । आवश्यक मात्रामा उखु आपुर्ति हुन नसक्दा मिल मुश्किलले १० देखि १२ घण्टासम्म संचालनमा सिमित भएको हो । गत बर्ष माघ महिनामा उखु ल्याउने सवारीसाधनको अत्याधिक भिड हुने उद्योग परिसर यसबर्ष सुनसान देखिएको छ । उद्योग परिसरमा रहेको यार्ड (उखु वोक्ने सवारी सधानको लागि पार्किगं गर्न बनाईएको ठाँउ) मा सवारीसधानको अभाव देखिएको हो ।
उखु खेतीतर्फ किसानको विकर्षण
नगदेवालीको रुपमा परिचित रहेको उखु खेती गर्ने किसानहरु समयमा भुक्तानी नपाएकै कारण खेतमा उखु लगाउन छाडेका छन । पछिल्लो समयमा आएर उखु विक्री गरेको किसानहरुलाई पैसा लिनका लागि लामो समयसम्म आन्दोलन गर्दा समेत भुक्तानी पाउन नसक्नु, चलान (उखु आपुर्तिको लागि दिईने पुर्जी) समयमा नदिनु, उद्योगबाट किसानको हकहितमा कटौती गरेपछि किसानहरु उखुखेतीतर्फ विकर्षण भएको गौशाला नगरपालिका ९ का किसान मनु अधिकारीको भनाई रहेको छ ।
चिनीमिलमा उखु विक्री गर्दा झण्झटिलो भएपछि उखु खेती गरेका किसानहरु स्थानिय क्रसर व्यवसायीलाई नगदरुपमा उखु विक्री गर्दै आएको किसान अधिकारीले बताउनुभयो । उद्योगपतिले उद्यारोमा उखु लिएर भुक्तानी दिन तीन वर्षसम्म किसानलाई झुलाउनु, सरकारले अनुदान दिन झण्झटिलो प्रक्रिया लागू गर्नु, उखु किसानको समस्यामा सरकार उदासिन हुनु, उखु उत्पादनमा लागत बढ्दै जानु तर, उखुको मूल्य घटदै जानु, जलवायु परिवर्तन भएर समयमा वर्षात् नहुनु जस्ता कारणले उखु खेती ४० प्रतिशतले घटेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताउनुभयो ।
उद्योगले नगदमै उखु खरिद गर्दै
उद्योगमा उखुको अभाव भएपछि एभरेष्ट चिनी उद्योगमा कार्यरत रहनुभएका कर्मचारीहरु अधिकांश समय उखुको जोहो गर्न किसानको घरघरमा धाउदै आएको पाईएको छ । यसबर्ष उखुको जोहो गर्न खेतखेतमा पुगेका कर्मचारीहरु नगदमै उखु खरिद गर्न थालेका छन् । यसवर्ष उखु खेती नै घटेपछि उद्योगीको निद्रा हराएको छ ।
उनीहरु उद्योग चलाउन नगदमै उखु किनिरहेको किसान चन्देश्वर ंिसंहको भनाई रहेको छन्। चिनी मिलका कर्मचारीहरु झोलामा रुपैयाँ बोकेर गाउँमै काँटा गरेर नगद भुक्तानी गरिरहेका सिंहले बताउनुभयो । उखु खरिद गरेको १० दिनमै भुक्तानी दिईने निती अपनाएको चिनी उद्योगले हालसम्म झण्डै ३० करोड रुपैयाँ किसानको बैंक खातामा भुक्तानी पठाईसकेको उद्योगका महाप्रवन्धक कृष्णचन्द्र दासले जानकारी दिन्भयो । देशभरीमै यसवर्ष उखु खेती ह्वात्तै घटेपछि उद्योगी बीच उखु खरिद गर्न हानाथाप भइरहेको छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष असर
जलवायु परिवर्तनको कारण मौसम अनुकुल भएपछि उखु आपुर्तिमा कमी आएको हो । तराई मधेशमा कायम रहेको वाक्लो हुस्सु एवम शितलहरका कारण किसानहरु अधिकांश समय घरमै न्यानो भई दिन विताईरहेको पाईएको छ । गतबर्ष उखु खेतमै न्यानो व्यवस्था गरि उखु काटनमा व्यस्त रहेका किसानहरु यसबर्ष भने घरमै व्यस्त रहेको पाईएको छ ।
हातमा चलान भएतापनि यस्तो कठयांग्रिदो चिसोको मौसममा मजदुर नपाएपछि उखु काटनका लागि मुश्किल भएको उखु उत्पादक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताउनुभयो । यसवर्ष उद्योगकोतर्फबाट चलानको लागि कुनै किसिमको रोकावट नरहेको अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो ।
उखु अभावकै कारण मुलुकका चार उद्योग बन्द
मुलुकमा रहेको १४ उद्योगमध्ये यसबर्ष उखु अभावकै कारण ४ वटा चिनीमिल संचालनमा आउन नसकेको नेपाल उखु उत्पादक महासंघका केन्द्रिय अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । केन्द्रिय अध्यक्ष मैनाले भन्नुभयो ‘उखु विक्री गरिएको किसानलाई समयमै भुक्तानी नदिएकै कारण चार वटा चिनी मिलहरु यसभन्दा अगाडिका बर्षदेखि बन्द अवस्थामा रहेको छ । यसबर्ष संचालन अवस्थामा रहेको १० उद्योगलाई उखुको अभाव सिर्जना भएको छ ।’
मैनालीले अगाडि भन्नुभयो ‘सर्लाहीको अन्नपूर्ण चिनी उद्योग, श्रीराम सुगर मिल उखु नपाएर गत वर्षदेखि नै चलेको छैन । नवलपरासीको लुम्बिनी चिनी करखाना पाँच वर्षदेखि बन्द छ । नवलपरासीकै अर्को इन्द्रिरा सुगर मिल पनि किसानलाई भुक्तानी दिन नसकेर बन्द भएको दुई वर्ष भएको छ ।’
उखुको अभाव भएपछि उद्योगले दोंगा नजिक उखु डम्पिङ्ग गर्दै आएका छन । दिनभरिमा जम्मा भएको उखु रातिको समयमा क्रसिंग गर्ने गर्दछ । दैनिक रुपमा १ लाख क्वन्टिल उखु क्रसिंग गर्ने क्षमता रहेको उद्योगले अहिले मुश्किलले १० हजार क्विन्टल उखु क्रसिंग गर्न सफल रहेका छन ।