आज रातिदेखि सप्तरीमा पनि निषेधाज्ञा

रामनारायण यादव, राजविराज । प्रदेश २ मा कोरोना संक्रमण तीब्र रुपममा बढदै गएपछि सप्तरीमा पनि आज रातिदेखि एक साताका लागि निषेधाज्ञा लगाइने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा वैशाख २५ गते शनिबार राति १२ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरी निषेधाज्ञा जारी गरिएको हो ।

संक्रमणको चेन ब्रेकगरी रोकथाम तथा नियन्त्रण गर्न सरकारको निर्णय तथा जिल्लामा संक्रमणको अवस्थाको मूल्यांकनगरी जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा लगाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए । नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने उनले बताए । उनकाअनुसार एक साता सम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञामा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा उल्लेख छ ।

औषधि उपचार एवं सूचनामा उल्लेख भए बमोजिमका अत्यावश्यक काम बाहेक सबै सेवा बन्द गरिएको र सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।निषेधाज्ञा अवधिभरि जिल्लाको विभिन्न ठाउँहरुमा लागने हाट बजार, पसल, व्यवसाय लगायतका सञ्चालन गर्नसमेत रोक लगाइएको सूचनामा उल्लेख छ ।

निषेधाज्ञा आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार