गौशाला । महोत्तरी जिल्ला स्थित जलेश्वर अस्पतालमा अस्पतालमा भेन्टिलेटर जडान नभएको कारण एक कोरोना सँक्रमितको मृत्यू भएको छ ।
जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत ती पुरुषलाई भेन्टिलेटरको आवश्यकता परेपछि जलेश्वर अस्पतालले शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरेपछि त्यहाँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । जिल्ला अस्पताल जलेश्वरमा भेन्टिलेटर भएपनि जनशक्ति नभएर जडान नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिष साहले जानकारी दिए ।
आफ्नै घरमा रहेको बखत बिरामी भएका मृतकलाई बिहीबार सास लिन कठिनाइ भएपछि जलेश्वर आस्पतालमा भर्ना गरिएको थियो ।भर्ना भएकै समयदेखि अक्सिजनको सपोर्ट दिइएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार रिपोर्ट पोजेटिभ देखिएको थियो ।शुक्रबार राति अवस्था जटिल बन्दै जाँदा तत्कालै भेन्टिलेटरको आवश्यकता देखिएकोमा उपलब्ध नहुँदा मृत्यु भएको मृतकका परिवारजनले बताएका छन् ।
जलेश्वर अस्पतालमा भेन्टिलेटर राखिएको तथा अझै यस्तो अवस्थामा पनि जडान नभएको कारण विरामीको ज्यान गएको हो ।