गौशाला / दक्ष जनशक्तिको अभावको कारण जिल्ला अस्पतालमा स्थापना भएको भेन्टिलेटर संचालनमा ल्याउनका लागि कठिनाई भएको कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताउनुभयो ।
आज विहान रेडियो रुपान्तरणद्धारा प्रसारित रुपान्तरण विमर्शमा कुराकानी गर्नुहुँदै फोकल पर्सन सिंहले गत बर्ष स्थापना भएको भेन्टिलेटर मेसिन दक्ष प्राविधीकको कारण नै नियमित रुपमा संचालनमा आउन नसकेको स्वीकार गर्नुभएको छ ।
हाल जिल्लामा अक्सिजनको कुनै अभाव नरहेको बताउनुहुँदै सिंहले कोरोना परिक्षण गर्ने किट समेत पर्याप्तमात्रामा रहेको जनाउनुभएको छ ।
जलेश्वर, वर्दिवास, गौशाला र सिमरदहीमा स्थापना भएको कोभिड अस्पतालबाट सेवा प्रदान गर्नका लागि जिल्ला अस्पतालले हरसम्भव तयार रहेको धारणा राख्नुभएको छ । कोरोना संक्रमित समयमै उपचार गराउनका लागि १५ पालिकामा गरि २४ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको सिंहले जानकारी दिनुभयो ।
कोरोना कुनै वर्ग, लिंग, क्षेत्र, जात वा समुहमा नभई हावामार्फत सर्ने रोग भएकोले स्वयम सचेत एवम संयमता अपनाई कोरोनालाई परास्त गर्नका लागि सिंहले सर्वसधारणमा अनुरोध गर्नुभएको छ ।