सिरहाको लहानमा फेरि डकैती

सिरहा । सिरहाको लहानमा गएराति फेरि डकैती भएको छ । लहान नगरपालिका– १ सिग्राही मटियर्वास्थित स्थानीय इन्द्रदेव ठाकुरको घरमा डकैती भएको हो ।

मध्यरात साढे १२ बजेको समयमा ७/८ जनाको समूहमा आएका लुटेराले ६ लाख नगद र गरगहना लुटेर फरार भएका छन् ।

लुटेराहरू भर्‍याङको सहायताले छत हुँदै घरमा प्रवेश गरेको ठाकुरले बताए । उनका अनुसार लुटेराले दुई छोराको कञ्चटमा पेस्तोल राखी दराजको साँचो खोसेर नगद ६ लाख रुपैयाँ र छोरी-बुहारीले लगाएको २ तोला जति सुन र २० तोला चाँदी लुटेर लगेका छन् ।

लुटेराले घरका सबै सदस्यको मोबाइल कब्जामा लिएका थिए । मोबाइल नहुँदा र केही बोले मारिदिने धम्की दिएको ठाकुरले बताए । लुटेराहरू गइसकेपछि मात्रै घटनाबारे छिमेकी र प्रहरीलाई जानकारी गराएको उनले बताए ।

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले जानकारी दिए । घटना रिसइवीका कारण भएको हुनसक्ने र अनुसन्धानपछि मात्रै विस्तृत कुरा खुल्ने उनले बताए ।

लहानमा पछिल्लो समय आधा दर्जन चोरी तथा डकैतीका घटना घटिसकेका छन् । अघिल्लो घटनाको केहि दिनको अन्तरालमै फेरि डकैती भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार