गौशाला । महोत्तरीमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सोमबार मध्यरातमा आँपको रुखमा पासो लगाई उनले आत्महत्या गरेका हुन् । प्रहरी चौकी सम्सीबाट करिब सातसय मिटर उत्तर पश्चिम खाली चौरमा रहेको आँपको बोटमा पासो लागेको अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव भेटिएको हो ।
ड्युटी सकेर राती सुतेका साहले के कति कारणले आत्महत्या गरे भन्ने अझै नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।
पर्सा जिल्लाको बौरामाई नगरपालिका १ घर भई ढल्केवर स्थित प्रहरी गणमा दरबन्दी भई विगत सात महिना देखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको जेठ ७ गते विहे रहेको र बिहेकै लागि बीदा लिएर घर जाने तयारी रहेपनि मंगलबार विहानै उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।
मृतक प्रहरी जवान साहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरु आएपछि थप प्रक्रिया पुरा गरिने प्रहरीले जनाएको छ ।