
अजय कुमार साह, जनकपुर । प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा तोडफोड भएको छ ।
कोरोना संक्रमित एक विरामीको मृत्यु भएपछि मृतकका आफन्त लगायतका केहि व्यक्तिहरुको समूहले अस्पतालमा तोडफोड गरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. प्रमोद यादवले जनाएको छ ।
डा. यादवको अनुसार ती समूहले अस्पतालमा भरखरै जडान गरिएको तीन वटा भेन्टिलेटर तोडफोड गरेको छ भने केहि स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको छ ।
समूहले गरेको तोडफोडबाट अस्पतालको वार्डमा जडान गरिएको तीन भेन्टिलेटर सहित अन्य उपकरणहरुमा समेत गरि करिब डेढ करोड बराबरको क्षति पुगेको मेसु डा. यादवले जनाए।
डा. यादवले भने, ‘आज साँझ ५ः३० बजे तिर महोत्तरीको जलेश्वर अस्पतालबाट रेफर गरिएको एक जना ५५ वर्षीय दुःखी राम महतो नामको सिरियस कोराना संक्रमित विरामी उपचारको लागि ल्याइएकोमा उनलाई तत्कालै भेन्टिलेटरको आवश्यक्ता देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । तर उपचार कै क्रममा केहि बेरमा उनको मृत्यु भयो । उनको मृत्यु भएको खबर पाएपछि मृतकको आफन्त संगै रहेका केहि व्यक्तिहरुले अचानक अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुलाई गाली गलौच गर्दै हातपात गर्नुको साथै उनीहरुले भेन्टिलेटर समेत तोडफोड गरे ।’
मेसु डा. यादवले अस्पतालमा स्वास्थ्यकर्मी उपर भएको दुव्र्यवहार, हातपात र तोडफोडको घटना पछि स्वास्थ्यकर्मीहरुले अहिले अस्पताल छोडेर हिडेको बताए । उनले भने, ‘स्वास्थ्यकर्मीहरुले आफूहरुले यस्तो महामारीको बेला समेत ज्यानको बाजी लगाएर विरामीलाई सेवा गर्दै आएपनि समेत आफ्नो शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म काम नफर्किने बताएका छन् ।’
तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।
अस्पतालका मेसु डा. यादवले केहि मेडिकल माफियाहरुले प्रादेशिक अस्पतालले विरामीलाई सेवा प्रदान नगरुन भन्ने उद्देश्यले यहि बहानामा अस्पतालमा तोडफोड गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनले भने, ‘जनकपुरधामा केहि निजि अस्पतालहरुले महंगोमा कोरोना विरामीको उपचार गर्ने काम सुरु गरेका तर प्रादेशिक अस्पतालमा भेन्टिलेटर सहितको सुविधा सस्तोमा उपचार हुने अवस्था आएको हुँदा जसरी पनि प्रादेशिक अस्पताललाई फेल गराउने हिसावले घटना घटाएको हुन सक्छ।’
मेसु यादवले यस विषयमा भोली प्रशासनमा छानबिन र दोषि उपर कार्वाहीको माग सहित उजुरी दर्ता गर्ने तयारी गरिएको समेत बताए ।
प्रतिक्रिया