बर्दिबास । बर्दिबासमा भुसको आगो झैं फैलिदैं गएको कोरोना संक्रमण नियन्त्रण गर्न बर्दिबासका संघ–संस्थाहरु जुटेका छन् । प्रदेश सभा सदस्य सारदा थापाको अध्यक्षमा बर्दिबास कोभिड–१९ व्यवस्थान समिति गठन गरिएको छ । समितिमा बर्दिबास उद्योग बाणिज्य संघ, बर्दिबास अफ रोटरी क्लब, बर्दिबास सहकारी सञ्जाल, निजी स्वास्थ्य सञ्जाल, बर्दिबास सेवा समिति, बर्दिबास हेल्फ फाउण्डेसन, नेपाल पत्रकार महासंघ महोत्तरी शाखा लगायतका संघसंस्थाहरु छन् ।
समितिले संक्रमितहरुका लागि अक्सिजन बैंक तथा एम्बुलेन्स सेवा सहयोग, कोरोना महामारीले बेरोजगार गरिबहरुका लागि फुड बैंक, कोरोना नियन्त्रका लागि अग्रपंक्तिमा खटिकाहरुलाई स्वास्थ्य समाग्री प्रदान गर्र्नेे जनाएको छ ।
समितिले बर्दिबास सरकारी हस्पिटलाई १० थान अक्सिजन सिलेन्डर हस्तान्तरण गर्न लागिएको बताइएको छ । ‘कोरोना संक्रमण फैलिदैं गएको छ । यसबाट प्रभावितहरुलाई उपचार गर्न भेन्टिलेटर तुरुन्तै व्यवस्थान गर्नु पर्छ,’रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष हिरा गौतमले भने,‘संक्रमितहरुलाई अक्सिजनका लागि पनि थप तयारी गर्नु पर्छ ।’
यसैबीच कोरोना संक्रमितले अस्पतालमा अक्सिजन नपाइरहेको बेला उद्योग तथा कलकारखानामा राखिएको सात सय अक्सिजन सिलिन्डर प्रदेश २ बाट प्रहरीले नियन्त्रणमा लिएको छ । उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक राखिएको अक्सिजन सिलिन्डर निन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।
अक्सिजनसहितको १ सय ३२ सिलिन्डर र खाली सिलिन्डर ५ सय ६८ वटा गरी ७ सय वटा अक्सिजन सिलिन्डर बरामद गरिएको हो । नियन्त्रणमा लिएको अक्सिजन सिलिन्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक डिस्टीबयुटरलाई बुझाइएको छ । स्वास्थ्य प्रयोजनबाहेक कोही कसैले अन्य प्रयोजनका लागि स्टक नगरीदिन प्रहरीले आग्रह गरेको छ ।