
बर्दिबास ः विवाहमा भएको भिडभाडले महोत्तरीको बर्दिबास नगरपालिका– ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ । गाउँका मानिसमा जवरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए ।
घरघरमा मानिसमा एकै पटक कोरोना संक्रमण फेला परेपछि गाउँलाई सिल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए । ‘कोराना संक्रमण बढिरहेकै बेला गाउँमा भएको विवाहमा बाहिरबाट मानिस आए, गएका कारण कोरोना फैलियो,’ मेयर कार्कीले भने, ‘संक्रमित सबै होम आइसोलेसनमा बसिरहनुभएको छ ।’ उनीहरुको सबैको स्वास्थ्य अवस्था समन्य रहेको उनको भनाइ छ ।
संक्रमित घरमै
कोरोना संक्रमितको स्वास्थ्य सुरक्षाका लागि डाक्टर सहितको स्वाथ्यकर्मीको टोली, अक्सिजन, एम्बुलेन्स तयारी अवस्थामा राखिएको बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती पराजुलीले बताए।
‘गम्भीर अवस्था आएमा तुरुन्त संक्रमितलाई सम्पर्क राख्न भनेका छौं,’ उनले भने, ‘बर्दिबास अस्पतालमा २० बेडको अक्सिजन सहितको आइसोलेसन तयार राखेका छौं।’ स्वास्थ्यमा जटिल अवस्था आए थप उपचारका लागि बाहिरका अस्पतालमा पठाइने व्यवस्था मिलाइएको उनले बताए ।
बर्दिबास अस्पतालका अनुसार वैशाख २० गते यता बर्दिबास नगरपालिका र वरिपरीका गाउँका २ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । सबै संक्रमितहरु आफ्नै घरमा छन् । बर्दिबास अस्पताललाई कोभिड अस्पतलाको रुपमा संचालन गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया