पाकिस्तानमा कोरोना संक्रमणबाट २०२ जना चिकित्सकको मृत्यु

गौशाला । कोरोना संक्रमणको कारण पाकिस्तानमा हालसम्म २ सय २ जना चिकित्सकको ज्यान गएको छ । पाकिस्तान मेडिकल एसोसिएसनले जानकारी गराएको हो ।कोरोना संक्रमणमा ज्यान गुमाउने ७४ चिकित्सक पञ्जाब राज्यका हुन् भने ६४ सिन्धका हुन् ।

त्यसैगरी खैबर पख्तूङ्ख्वाका ५३ जना, बालोचिस्तान ५ जना, पाकिस्तान प्रशासित कश्मीर (पीओके)का तीन जना र एक जना गिलगित–बाल्टिस्तानका चिकित्सकले ज्यान गुमाएका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ । पाकिस्तानी तथ्याङ्कअनुसार बुधबार पाकिस्तानमा दुई हजार ८६९ व्यक्ति सङ्क्रमित भएका छन्।

त्यहाँ सङ्क्रमण दर ७.४२ प्रतिशत छ । पाकिस्तानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ हजार ५३६ छ । त्यहाँ अहिलेसम्म सात लाख ७१ हजार ६९२ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन् । पीएमएले कोरोना भाइरसका कारण निधन भएका २०० भन्दा बढी डाक्टरका परिवारलाई क्षतिपूर्ति ‘शुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ ।

मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञ छन् । ती चिकित्सकको अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ । पीएमएले मृतक स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा सङ्क्रमित भई ज्यान गुमाएका भन्दै उनीहरूका परिवारजनलाई ‘सुहुदा प्याकेज’ उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार