
महोत्तरी/ गत बर्ष जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान गरिएतापनि हालसम्म संचालनमा आउन सकेको छैन । कोरोना संक्रमित विरामीको लागि गत बर्ष प्रदेश सरकारले जलेश्वर अस्पतालमा जडान गरेको ५ बटा भेन्टिलेटर मेसिनमध्ये कुनै पनि संचालनमा आएका छैन ।
जसको कारण विरामीहरु समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ । २ करोडभन्दा बढिको लागतमा प्रदेश सरकारले जडान गरेको सो अस्पतालको भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा संचालनमा आउन नसकेको जलेश्वर अस्पतालका कोभिड फोकल पर्सन प्रतीभा सिंहले जानकारी दिनुभयो । दरवन्दी अनुसारको चिकित्सको व्यवस्थापन नहुँदा अहिले पनि सो अस्पताल हेल्थ असिस्टेन्टको भरमा संचालन अवस्थामा रहेको कोसभड फोकल पर्सन सिंहले बताउनुभयो ।
३ जना एमवीवीएसस्तरका दरवन्दी कायम रहेको सो अस्पतालमा १ जना एमवीवीएसस्तरका डा शतिश साह कार्यरत रहेका छन । यता अस्पताल व्यवस्थापन एवम सुधारको लागि चालेको कदम असफल भएपछि जेठ ५ गतेदेखि आमरन अनसनमा बस्ने तयारी भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष सुरेश पाण्डेले बताउनुभयो ।
आफु अध्यक्ष भएयता सो अस्पताल अनुगमनको क्रममा आएका संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्रीहरु, साँसद, विभिन्न दलका नेताहरुले अस्पताल सुधार गर्नका लागि दिएको आश्वासन अझ पुरा हुन सकेको छैन ।
प्रतिक्रिया