Saturday 12th of October 2024

प्रहरी शिकारी भीडन्त : तीन थान भरुवा बन्दुकसहित एक शिकारी पक्राउ

0 Shares

सागरनाथ : सर्लाहीको ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथ जंगलमा प्रहरी र सिकारी समूहबीच बिहीबार अपरान्ह दोहोरो भिडन्त भएको छ ।

प्रहरीले एक बन्दुकधारीसँगै तीन थान भरुवा बन्दुक र एक मृत निलगाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय ईश्वरपुरबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी गस्ती टोली जंगलमा पुग्दा दुईवटा मोटरसाइकल देखेपछि शंका लागेर जंगलभित्र पस्दा चार जनाको हतियारधारी समूहले फायर खोलेपछि जवाफी कारबाहीमा दोहोरो भिडन्त भएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।

उनले हतियारधारी समूहकातर्फबाट दुई राउण्ड र प्रहरीकोतर्फबाट पनि दुई राउण्ड गोली प्रहार भएको जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट कुनै मानवीय क्षति भने भएको छैन ।

‘सागरनाथ जंगलमा हतियारधारी समूहले अचानक फायर खोलेपछि प्रहरीसँग दोहोरो भिडन्त भयो, एक जना हतियारधारीसहित बन्दुक र मृत निलगाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘थप तीन जना फरार छन्, उनीहरुको खोजी भइरहेको छ ।’

प्रहरीले फायर खोल्दै अघि बढेपछि हतियारधारी समूह भाग्न थालेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–४ का ४० वर्षका रणबहादुर गोले रहेका छन् ।

प्रहरीले घटनास्थलबाट तीन थान भरुवा बन्दुक, बारुद र फलामको काँटी बरामद गरेको छ । हतियारधारी समूहले चढेको बीआर ३०यु४६७७ भारतीय नम्बरको मोटरसाइकल र प्रदेश २ – ०२ ०३२ – प २५२२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । स्रोत ः उज्यालो अभियान

सर्लाहीको बाँके जंगलमा शिकारी र प्रहरीबीच दोहोर फायरिङ

प्रतिक्रिया