बर्दिबास / नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा बर्दिबास हेल्प फाउण्डेसनले ५० हजार प्रदान गरेको छ । फाउण्डेसनका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डललाई ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीको दोस्रो लहरसंग देश र जनतालाई बचाउन अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारको हौसल्ला बढाउन र संक्रमित भए उपचारको व्यवस्था मिलाउन विपद् व्यवस्थापन कोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले जनाए ।
जनता मा. बि. बर्दिबासबाट २०४९ सालमा एसएलसी दिएका पुर्व बिद्यार्थीहरुद्वारा गठित बर्दिबास हेल्प फाउन्डेसनले पत्रकार महासंघले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रकम दिने पहिलो संस्था बन्न पुगेको छ ।
बिपद् व्यवस्थापन कोषमा रकम दिएर सहयोग गर्न पत्रकार महासंघले सबै संघसंस्था, बुद्धिजीवि, नागरिक समाज र सरकारलाई अपिल गरेका छन् । महोत्तरीका दुई जना संचारकर्मी कोरोनाबाट संक्रमित भइसकेका नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष मण्डलले बताए ।
कोरोना महामारीबाट आफू,परिवार र समाजलाई हुन सक्ने मानविय क्षतिबाट बचाई असल नागरिकको परिचय दिन फाउण्डेसनका अध्यक्ष क्षेत्रीले सबैमा अपिल गरेका छन् । ‘.बिबाह,भोज भतेर, हाटबजार लगायत मानिसको जमघट हुने काम नगरौं र त्यस्ता कार्यक्रममा सहभागी पनि नहौ,’उनले भने,‘कसैलाई पनि कोरोना भएको जानकारी पाएमा आवश्यक सावधानी अपनाएर सहयोग,सद्भाव र उच्च मनोवल काएम राख्न सहयोग गरौ ।’