माघ शुक्ल पञ्चमीका दिन मङ्गलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । माघ र फागुन महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो । कोरोना भाइरस (कोभिड–१९)को प्रभाव न्यून हुँदै जाँदा सजग भएर सरस्वती पूजा गरिने जनाइएको छ ।
देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वती पूजाको विधि तोकिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका पर्वपूजा संयोजक मिठाराम पुडासैनीका अनुसार राष्ट्रप्रमुखबाट बिहान १०ः१७ बजेको साइतमा हनुमानढोका दरबारको नासलचोकमा सरस्वतीको जलघडाको अभिषेक लिने प्रचलन छ । यसै सन्दर्भमा हनुमानढोका दरबार परिसर सिँगारिएको छ ।
विश्व सम्पदामा सूचीकृत यो क्षेत्रमा अबदेखि सुरक्षा निकायसमेतको सवारी आवागमनलाई निषेध गरिएको छ । वसन्तपुरको डबलीमा फूटपाथका पसल सञ्चालनसमेत रोकिएको छ । यहाँका हरेक भागमा फूलका गमलाले सिँगारिएको छ ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिका गणपतिलाल श्रेष्ठका अनुसार काठमाडाँै महानगरपालिका, स्थानीय वडा कार्यालय, सामाजिक अभियन्तालगायतले यसमा सहकार्य गरेका छन् । उहाँका अनुसार हनुमानढोका दरबारमा रहेको शार्दुलजङ्ग गुल्म र प्रहरी कार्यालय आवागमन गर्ने सवारीका कारण यहाँ सवारी आवागमन रोकिन सकेको थिएन ।
लेलेको सरस्वती कुण्ड, थिमिको सरस्वतीखेल, सूर्यपुरा रुपन्देहीको सरस्वती मन्दिर, विशालनगरको नील सरस्वती, मैतीदेवीको सरस्वती, खलङ्गा प्युठान, पालुङको घट्टेचौरको सरस्वती मन्दिरमा यो दिन विशेष मेला लाग्छ । बेल विवाह, नवगृह प्रवेश, विवाह, व्रतबन्धलगायतका धार्मिक कार्य गर्न यो दिन साइत कुर्न पर्दैन । अक्षरारम्भ गर्ने, नाक–कान छेडाउने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।