न्यायको खोजीमा भौतारिँदै

काठमाडौँ / महोत्तरीमा निषेधाज्ञाका बेला टोलकै एक पुरुषबाट बहुअपांगता भएकी युवती बलात्कारको सिकार भइन् । घटनामा संलग्न भनिएका ३० वर्षीय ताहिर सेक चार दिनदेखि फरार भएपछि पीडित परिवार न्यायको खोजीमा भौतारिइरहेको छ ।

सांकेतिक तस्बिर

ट्र्याक्टर चालक सेक सामान ढुवानीको काम गर्थे । कोरोना महामारीले गर्दा निषेधाज्ञा भएपछि छरछिमेकका अन्नबाली ओसारपसार गर्थे । केही दिनअघि सलिम (परिवर्तित नाम) परिवारले विक्री गर्न ठीक पारेको गहुँ बजारसम्म पुर्‍याए । त्यसबापतको ढुवानी भाडा लिन सेक वैशाख २६ गते दिउँसो ४ बजे सलिमको घर पुगे । घरमा बोल्न र हिँडडुल गर्न नसक्ने २० वर्षकी छोरीमात्रै थिइन् । यही मौकामा सेकले बलात्कार गरे र घर फर्किए । बेलुकी घर फर्कंदा सलिमले छोरी छटपटाउँदै रोइरहेको भेटे । उनले आफ्नी आमालाई दिउँसो कोही व्यक्ति आएर दुःख दिएको कुरा हातको इसाराले बताउन र बुझाउन खोजिन् ।

भोलिपल्ट सेक ढुवानी भाडा लिन फेरि आइपुगे । त्यही बेला पीडित युवतीले सेकतिर औंल्याउँदै उसले दिएको पीडाबारे आमालाई बताउन थालिन् । ‘उसकै अगाडि बलात्कार गरेको बेला उसले के कसो गरेको थियो, कस्तो लुगा लगाएको थियो भन्ने हाउभाउसहित छोरीले सुनाइन्,’ आमाले भनिन् । सेकले स्विकारेनन् । बरु पोल खुल्ने डरले तुरुन्तै हिँडिहाले ।

दोषी नै उठेर हिँडेपछि सलिम र उनकी पत्नी झस्किए । आमाले छोरीको बोलीचालीको सांकेतिक भाषामा घटनाबारे दोहोर्‍याइतेहर्‍याइ सोधिन् । छोरीले भक्कानिँदै असह्य हुने गरी दुःख दिएको बारम्बार भनिरहेपछि छरछिमेकमा सुनाए । पिडक पक्राउ गर्न हारगुहार गरे । तर छिमेकी अगुवाहरुले सहयोग गर्नुको साटो समाजको इज्जतको सवाल उठाउँदै ढाकछोप गर्न सुझाए । उनीहरुको सुझाव सलिमलाई मन परेन । केही अधिकारकर्मीले पनि उनलाई आँट दिए ।

घटनाको तीन दिनपछि करिब २ घण्टाको टेम्पो यात्रा गरेर न्याय माग्न जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगे । वैशाख २९ गते सलिमले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशकुमार आचार्यले फरार दोषीको खोजी कार्य भइरहेको बताए । ‘गाउँमा छलफल भइसकेपछि मात्रै हामीकहाँ जानकारी गराएका रहेछन्, ढिला जानकारी प्राप्त हुँदा दोषी भागिसकेको रहेछ,’ उनले भने, ‘पक्राउ गरेपछि अनुसन्धान हुन्छ, बलात्कारजस्तो केस त्यसमाथि अपांगता भएको व्यक्तिलाई भएकाले संवेदनशील भएर लागेका छौं ।’

पीडित युवतीको स्वास्थ्य जाँच गरेर घर फर्काइएको छ । सामान्य खेतीपाती गरेर जीविका चलाइरहेका पीडितका बाबुआमालाई जिल्ला धाइरहने, प्रमाण जुटाउने खर्च पनि छैन । उनीहरुले आफ्नो छोरीलाई सुरक्षित राख्न नसक्ने भन्दै संरक्षणका लागि सहयोग मागेका छन् । ‘हाम्रो छोरीलाई त्यस्तो बनाउने मान्छेलाई चाँडोभन्दा चाँडो पक्राउ गर्नुपर्‍यो, हदैसम्मको कारबाही हुनुपर्‍यो,’ सलिमले भने । उनका चार छोरीमध्ये तीनको विवाह भइसकेको छ । एक छोरा अन्यत्रै बस्छन् ।

घटनाबारे जानकार ओरेक संस्थाको जिल्ला कार्यक्रम अधिकृत लीला दियालीले पीडित पक्षलाई समाजका अगुवाहरुले आर्थिक प्रलोभनमा पारेर घटना गाउँमै मिलाउन धम्काइरहेको बताइन् । ‘पीडितको बाबुआमा ६० वर्ष जतिको हुनुहुँदो रहेछ, बुढेसकालमा आफैंलाई साहरा चाहिएको बेला छोरीमाथि त्यस्तो भएपछि झनै समस्यामा पर्नुभएको छ,’ उनले भनिन्, ‘गाउँमा यसै सामसुम पारिदिने हो भने भोलि अरू छोरीहरु झनै असुरक्षित हुन्छन्, यसमा प्रहरी र सरोकारवालाले व्यापक रूपमा लाग्नुपर्छ ।’

अपांगता भएका महिलाको क्षेत्रमा काम गर्ने नेपाल अपांग महिला संघले पीडितको सहयोगका लागि बुधबार अपिल जारी गर्दै ध्यानाकर्षण गराएको छ । ‘कोरोनाको त्रास एकातिर छ भने महिला, बालिकाहरु यौन हिंसा, बलात्कारको सिकार अत्यधिक रूपमा भइरहेका छन्, घरेलु हिंसा, मानसिक तनाव र आत्महत्यासमेतका घटना गत वर्षदेखि नै दर्दनाक बन्दै गएको छ,’ संघकी अध्यक्ष टीका दाहालले हस्ताक्षर गरेको अपिलमा भनिएको छ, ‘बलात्कारीको तुरुन्त खोजी गरी हिरासतमा राखियोस् र पीडितको सुरक्षा, पुनःस्थापना र न्याय सुनिश्चितता द्रुत न्याय प्रणालीमार्फत गरियोस् ।’

                      सभार : कान्तिपुर 

प्रतिक्रिया

सम्बन्धित समाचार