Monday 11th of November 2024

नगरपालिकाले वीच बजारमा मुत्रालय बनाउदै, स्थानिय व्यवसायीद्धारा आपति ।।

0 Shares

गौशाला / नगरपालिकाले गौशाला वजारको वीच भागमा मुत्रशाला (पिसाव फेर्ने घर)को निर्माण कार्य शुरु गरिएपछि स्थानियहरुले आपति जनाएको छ । गौशाला बजारस्थित विरेन्द्र धर्मशालाको छेउमा रहेको घैला बजारको वीच भागको खाली जग्गामा १ लाख ५० हजारको लागतमा सो मुत्रालय बनाउन लागेपछि यहाँका व्यवसायी र व्यापारीहरु अन्यत्र सार्नको माग गरेको हो ।

नगरपालिकाको आर्थिक सहयोगमा बन्ने मुत्रालय व्यवस्थित एवम उचित रुपमा जग्गा छनौट नभएको भन्दै स्थानिय व्यवसायी नजरे आलमले आपति जनाउनुभयो । यसरी घैला बजार जस्तो व्यस्त वजारको वीच भागमा बनाउन लागेको यो पिसाव घरमा सर्वसधारणहरु कसरी पिसाव फेर्ने भनेर आलमले सम्बन्धित निकायसमक्ष प्रश्न गर्नुभयो ।

यस सम्बन्धमा समिर गेष्ट हाउसका संचालक साविर अन्सारीले वीचमा वजारमा निर्माण गरिने मुत्रशाला निर्माण तत्कालको लागि रोकिनुपर्नेमा जोड दिनुभएको छ । छेउमै रहेको आफनो ५ तल्ले भवनमाथिबाट सो मुत्रालयमा पिसाव फेर्ने दृश्य प्रत्यक्ष रुपमा देखिने भएकोले व्यवस्थित तवरले सो भौतिक संरचना निर्माण गरिनुपर्ने अन्सारीले माग गर्नुभयो । धर्मशालाको देवालमाथि सर्वसधारणले खुलेआम पिसाव फेर्दै आएको खबर भाइरल भएपछि नगरपालिका कार्यालयले उपभोक्ता समितीमार्फत सो मुत्रालयको निर्माण कार्यको शुभाराम्भ भएको हो ।

यसैवीच २५ लाखको लागतमा निर्माण भएको सुविधासम्पन्न शौचालय समयमै व्यवस्थापन नभएपछि उपयोगविहीन अवस्थामा रहेको छ । समयमै सो सुविधासम्पन सौचालयलाई मर्मत-सम्भार एवम व्यवस्थित नगरेकै कारण शौचालय आसपासको क्षेत्र दुर्गन्धित बन्दै गएको हरियो गौशाला युवा कल्बका अध्यक्ष उस्मान अंसारीले बताउनुभयो ।

सेवाग्राहीलाई ध्यानमा राख्दै सो मुत्रालय नगरपालिकाको कार्यालयले विवादरहित जग्गामा संरचना निर्माण गरिने भएको वडा नं. ५ का वडाअध्यक्ष धर्मेन्द्र कुमार साहले बताउनुभयो ।

प्रतिक्रिया