Monday 9th of December 2024

अरूलाई गणतन्त्र, मुसहरलाई दासयुग

0 Shares

 

भोला पासवान / नयाँपत्रिका

घटना १ :

गाउँलेहरू भन्थे, ‘मान्छेलाई ऋण लागोस् तर दिन नलागोस् ।’ तर, बुधु सदालाई ऋण पनि लाग्यो, दिन पनि लाग्यो । ऋण लागेपछि नै हो, उनको दैनिकी फेरिएको । त्यही ऋणले उनलाई नेपालको चार किल्लाभित्र बस्न दिएन, ऋण तिर्न काम खोज्दै सीमापारि पुगे । सीमापारिबाटै उनी सधैँका लागि अस्ताए । हिजोआज गाउँलेहरू भन्दै छन्, ‘बुधुलाई ऋणसँगै दिन पनि लाग्यो ।’ सप्तरी राजगढ गाउँपालिका– मलेकपुरका ४५ वर्षीय बुधु सदाको ऋणदेखि दिनसम्मको कथा यस्तो छ :

छोरा र छोरीको बिहेदेखि बुबा र ससुराको किरिया गर्दासम्म बुधुलाई चार लाख ऋण लाग्यो । साहुहरूले दिनदिनै तनाव दिन थाले । घरमा बेचेर दिने केही थिएन । त्यसपछि आठजनाको परिवारै बोकेर बुधु गए इँटाभट्टा । एक हजार इँटा बनाएको एकै हजार रुपैयाँ दिन्थ्यो । सपरिवार मिलेर एक हप्तामा तीनदेखि चार हजारसम्म इँटा बनाए । हप्ताको अन्तिममा ठेकेदारसँग पैसा थाप्यो, त्यो पैसा जस्ताको जस्तै रासनवालालाई बुझायो, हात खाली । यो क्रम चलिरह्यो । जति नै इँटा बनाए पनि ऋण नतिरिने देखेपछि उनले भारत पस्ने योजना बनाए । एक–डेढ वर्ष उतै बसेर ऋण तिर्ने योजना बनाएर वैशाख ९ गते बुधुले नेपाल छाडे ।

छिन्नमस्ता गाउँपालिका–७ का ठेकेदार रमेश यादवले बुुधुलाई भारतको जमुनानगरस्थित प्लाइउड कम्पनीमा लगे । बुधुलाई आशा थियो– काम पाइयो, अब ऋण तिरिन्छ । तर, सोचेको जस्तो भएन । काम थालेको पाँच दिनमा (वैशाख १४ गते) खाना खाने निहुँमा विवाद भयो । विवादकै क्रममा ठेकेदार यादवसहित चारजनाले बुधुलाई निर्घात कुटपिट गरे । बुधुको अवस्था निकै चिन्ताजनक भयो, तर ठेकेदारले उनलाई अस्पताल लगेन । बरु गाडीमा हालेर बोर्डरनजिकै ल्याएर अलपत्र छाडे अनि बुधुको मानसिक अवस्था बिग्रिएको भन्दै परिवारलाई फोन गरे । त्यसपछि ठेकेदार भारततिरै भागे ।

बुधुको छोरा र भतिज आत्तिँदै बोडर पुगे । तर, पुलिसले मूलबाटोबाट जान दिएन । छोरा र भतिजले बुधुलाई काँधमा बोकेर धान खेत त सहायक बाटो हुँदै अबेर घर ल्याइपु¥याए । तुरुन्तै अस्पताल लैजानुपर्ने थियो । तर, बुधुको परिवारसँग पैसा थिएन । कसैले पैसा नपत्याएपछि बुधुकी छोरीले बिहेमा पाएको नाकको फुली बन्दकी राखिन् अनि सयकडा पाँचमा वडाअध्यक्षका छोरा वीरेन्द्र ठाकुरसँग पाँच हजार ऋण लिइन् । बुधुलाई राजविराजस्थित गजेन्द्रनारायणसिंह अञ्चल अस्पतालमा भर्ना गरियो । गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाका अनुसार अस्पताल ल्याउँदा बुधुको अवस्था गम्भीर थियो । भित्री इन्जुरीका कारण रक्तचाप र मुटुको धड्कन नर्मल अवस्थाभन्दा निकै कम थियो । शरीरको भित्री भागमा अत्यधिक चोटका कारण रक्तचापको गति र मुटुको धड्कन कम भएर बुधुु सदाको मृत्यु भयो ।

काठमाडौंतिर अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रधानमन्त्री केपी ओलीले श्रमिकहरूको तलब बढाउने घोषणा गर्दै गर्दा यता प्रमिलादेवी सदा पतिको शवको निष्पक्ष पोस्टमार्टम गरिदिन अस्पतालमा डाक्टरसमक्ष हारगुहार गर्दै थिइन् ।

प्रमिलाका अनुसार काम गर्दा खाना मागेपछि ठेकेदारको समूहले बुधुलाई फलामको साङ्लोले बाँधेर निर्घात कुटपिट गरे । ‘अघिल्लो दिन पनि तरकारीविना निस्तै भात खान दिएको र अर्को दिन पनि त्यस्तै खाना खान दिएपछि उहाँले काम गर्ने मान्छेलाई सधैँ विनातरकारीको खाना खान दिएर कसरी काम गर्न सकिन्छ  भनेपछि ठेकेदारको समूहले मरणासन्न हुने गरी कुटेछन्,’ प्रमिलाले भनिन् ।

ठेकेदार यादवले नुन–भात खाएर पनि काम गर्नुपर्छ भन्ने जवाफ दिएको र सवालजवाफकै क्रममा ठेकेदार रमेश यादव, महेश यादव, कमल र अर्को एकजना नाम नखुलेका व्यक्तिले आफूमाथि कुटपिट गरेको बुधुले भनेको प्रमिलाले बताइन् । आफ्नो पतिको कुटपिटकै कारण मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरी प्रहरीमा उजुरी दिएको प्रमिलाले बताइन् । तर, अहिलेसम्म प्रहरीले उजुरी दर्ता गरेको छैन ।

घटना २ :

सिरहाको सखुवानानकारकट्टी गाँउपालिका–२ का महेन्द्र सदालाई २०७७ भदौ १५ गते गाउँकै ठेकेदार शियाराम महतो र पशुुपति यादवले भारतको एक सेलरमिलमा सुरक्षा गार्डमा काम गर्न लगे । महेन्द्रसँगै सोही सेलरमिलमा गार्डकै रूपमा सिरहा लहान नगरपालिका–२१ का बहुरा सदा पनि काम गर्थे । उनी दिउँसो काम गर्थे भने महेन्द्रको ड्युुटी राति हुन्थ्यो । ६ महिना काम गरिसकेपछि जब महेन्द्रले ठेकेदारसँग पैसा माग्न थाले, त्यसपछि एक दिन महेन्द्र ड्युुटीबाटै गायब भए ।

ड्युटीमा सामान्यतः अर्को गार्ड नआएसम्म छाड्न मिल्दैन । बहुरा सदा ड्युुटीमा आउँदा महेन्द्रलाई देखेनन् । त्यसपछि शियारामलाई सोध्दा जवाफ दिए, ‘महेन्द्र बिरामी परेकाले अस्पताल गएको छ ।’ उनले फेरि प्रश्न गरे, ‘साँझसम्म हट्टाकट्टा मान्छे राति एक्कासि कसरी बिरामी भयो ?’ त्यसपछि शियारामले बहुरालाई अस्पताल लिएर गए र अस्पतालभित्र टाढैबाट महेन्द्र देखाइदिए ।

महेन्द्रलाई खास के भएको हो शियारामले भनेनन् । त्यसपछि बहुराले महेन्द्रको घरमा खबर गरिदिए । महेन्द्रको अस्पतालमै मृत्यु भयो । शियारामले उतै दाहसंस्कार गर्न खोजे । तर महेन्द्रकी श्रीमती आशादेवी सदाले नमानेपछि बल्लबल्ल गाउँमा ल्याएर दाह संस्कार गरियो ।

आशादेवीले पतिले पाँच महिना काम गरेको ज्याला ७२ हजार रुपैयाँ दिलाइदिन, पीडकलाई कारबाही गर्न र किरिया खर्च दिलाइदिन इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिइन्, तर प्रहरीले उजुरी लिएन । अहिलेसम्म पीडितले न्यायको त कुरै छाडाँै, काम गरेको ज्यालासमेत पाएको छैन ।

घटना ३ :

सिरहाको औरही गाउँपालिका–५ औरही गाउँका शिवजी यादवले सिरहाको मुसहर बस्तीमा मच्चाएको अत्याचारको फेहरिस्त २०७७ भदौमा ‘नयाँ पत्रिका’मा प्रकाशित भएपछि उनले अन्य ठाउँमा पनि गरेका उत्पीडनका घटना बाहिर आए । शिवजीले औरही–४ इँटाटार गाउँका मुसहर युवालाई भारतको हरियाणा पु¥याएर महिनौँ काम गराउने, घर फर्किने वेला बक्यौता देखाउने, कुटपिट गर्ने र काम गर्नै नसकेर घर फर्किएकालाई बन्धक बनाएर कपाली तमसुक बनाउने गरेका थिए ।

यसबाहेक उनले औरही–२ देउरीपट्टीका मुसहर युवामाथि पनि त्यस्तै खालको आर्थिक उत्पीडन र अत्याचार गरेको भेटिएको थियो । देउरीपट्टीका ४५ वर्षीय कुसुमलाल सदा र २२ वर्षीय नेतीलाल सदाले आफूहरू शिवजीको उत्पीडनमा परेको बताएका थिए । ‘पाँच वर्ष हरियाणा गएर काम गरेँ, वर्ष दिनअघि घर फर्किने वेलामा रित्तो हात फर्किनुप¥यो । घर फर्किएपछि उल्टै हरियाणामा लिएको र खाएको बक्यौता छ भन्दै एक लाख ८० हजार रुपैयाँको कपाली तमसुक बनाए,’ कुसुमलालले भने । उनकै छिमेकी २२ वर्षीय नेतीलालले आफूले भोगेको पीडा सुनाए, ‘बा–आमाले लिएको १५ हजार रुपैयाँको पाँच वर्षमा ब्याजसहित ५० हजार बनाएछ । बाआमाले ४० हजार रुपैयाँ तिरे । म आफँैले नौ महिनासम्म हरियाणामा काम गरेर फर्किएँ, तर एक रुपैयाँ पनि दिएनन् ।’

देउरीपट्टी गाउँकै बिहारी सदाले वर्षौंसम्म बाबुछोराले नै शिवजीको अरनखटनमा हरियाणामा काम गरेको, आफू फर्के पनि अहिलेसम्म छोरा उतै बन्धक रहेको सुनाए । ‘बाबुछोराले काम गरे भन्दा बढी खर्च गरे भन्दै डेढ लाख रुपैयाँको तमसुक बनायो,’ बिहारीले भने, ‘त्यही तमसुक देखाएर जेल हालिदिन्छु भन्दै छोरालाई तीन वर्षदेखि हरियाणामै काममा जोताइरहेको छ । घर आउनै दिँदैन ।’

स्थानीय कलेश्वर सदाका अनुसार पाँच वर्षदेखि काम गर्दै आएका उनका छोरा १७ वर्षीय देवशरण हरियाणामै छन् । ‘नाबालक छोराले कमाएको त कता हो कता, उल्टै मसँग ५० हजार रुपैयाँको तमसुक बनाएका छन्,’ उनले गुनासो गरे । मुसहर समुुदायमाथि भएको उत्पीडनविरुद्ध लडिरहेका सिरहा औरही गाउँपालिका–४ का मनोज पासवान भन्छन्, ‘हामी मुसहर समुुदायको न्यायका लागि सिडियो कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुुरी ग¥यौँ । तर, ठगिएका सयौँ मुसहरमध्ये कसैले न्याय पाएनन् । राजनीतिक पहँुुचका आधारमा पीडकले उन्मुक्ति पाए, मुसहरको समस्या अहिले पनि उस्तै छ ।’

घटना ४ :

सप्तरीकै कञ्चनरूप नगरपालिका–५, रामपुरपथरीका अवधी सदा धेरैपटक काम गर्न भारतको पञ्जाब, कस्मिर र नागपुर गए । चार सन्तानका बुबा उनी मासिक १२ हजार रुपैयाँ ज्यालामा २०७७ असोजमा भारतको समना पटयालामा गएका थिए । उनले त्यहाँ सात महिना काम गरे । तर, गाउँकै ठेकेदारले उल्टै २४ हजार ऋण छ भन्दै तमसुक थमाइदिए । अवधीले भने, ‘१० हजार रुपैयाँ लिएर गएको थिएँ । पछि मेरो नाति बिरामी हुँदा ४० हजार ठेकेदारले घरमै दिएका थिए । तर, सात महिना काम गर्दा पनि त्यो ऋण सकिएन ।’

मधेसका २२ जिल्लामा छरिएर रहेका अधिकांश मुसहर समुुदायले भोग्नुपर्ने पीडाका प्रतिनिधि कथा हुन् यी । देशमा गणतन्त्र आएको छ, तर मुसहर समुुदायका लागि अझै दासयुग कायम छ । भारतका विभिन्न सेलरमिल र प्लाइउड फ्याक्ट्रीमा मुसहरहरूलाई बन्धक बनाएर श्रमशोषण गरिन्छ, कतिलाई यातना दिएर मारिन्छ । मृतकका परिवारले कहिल्यै न्याय पाउँदैनन् । उल्टै मुसहरलाई दासप्रथामा झैँ भारतीय सहरमा ‘बिक्री’ गरेर बन्दी बनाई फर्किनेहरू गाउँमा करोडपति भएका छन् ।

भारतमा कसरी ठगिन्छन् मुसहर ?

राष्ट्रिय मुसहर उत्थान संघका महासचिव रामस्वरूप सदाका अनुसार मुसहर समुदाय २०४६ सालपछि भारतका विभिन्न सहरमा काम गर्न जान थालेका हुन् । सबैभन्दा बढी हरियाणा र पञ्जाबमा कृषि मजदुरको रूपमा मुसहरहरू काम गर्न जान्थे । धान र गहुुँ काट्ने सिजनमा मुसहरहरू लिन उतैबाट ठेकेदारहरू आउँथे । महासचिव सदा भन्छन्, ‘पछिल्लो समय धान र गहुुँ काट्न मेसिन प्रयोग हुुन थालेपछि सेलरमिलमा धान सुुकाउन, धान चौक्न र लोड–अनलोड गर्न मुसहरलाई लान थालियो । कस्मिरतिर घरको ढलान गर्न पनि मुसहर लैजान थालियो ।’

भारतका ठेकेदारले मुसहर समुदायलाई लग्दा धेरै ठगी र श्रमशोषण हँुदैनथ्यो । नेपालतिरकै जमिनदार र सुुधखोरहरूले मुसहरहरूलाई भारतमा पु¥याई श्रमशोषण गरी कमाउने धन्दा बनाए । ‘म आफैँ पनि ०५० सालतिर तीनपटकभन्दा बढी कामको सिलसिलामा भारत गएको थिएँ । त्यतिवेला शोषण कम थियो । तर, अहिले १२ हजार मासिक दिने भन्दै फकाएर लैजान्छ । काम सकिएपछि उल्टै ऋण देखाएर बन्दी बनाउँछ,’ महासचिव सदा भन्छन् ।

नेपालमा पाँचदेखि १७ वर्ष उमेरका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रमिकका रूपमा काम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभाग र अन्तर्राष्ट्रिय श्रम संगठनले संयुक्त रूपमा सार्वजनिक गरेको ‘नेपाल बाल श्रम प्रतिवेदन २०२१’ ले कुल बालबालिकामध्ये १५.३ प्रतिशत श्रमिकका रूपमा रहेको देखाएको हो । कुल बालश्रमिकमध्ये ८७ प्रतिशत कृषिक्षेत्रमा संलग्न छन् । जातिगत आधारमा दलित समुदायका १९.४ प्रतिशत बालबालिकाले श्रम गर्ने गरेको पनि अध्ययनले देखाएको छ । तर, भारतमा काम गर्न जाने कलिला मुसहर किशोरको तथ्यांक कहीँ पाइँदैन ।

१९ वर्षको उमेरमा सातपटक भारत गइसकेका बुधुुका छोरा धिरेन भन्छन्, ‘१३–१४ वर्षको उमेरदेखि बुुबासँग काम गर्न गएँ । पहिले ६–७ हजार महिनाको दिन्थ्यो । अहिले ९ देखि १२ हजारसम्म दिन्छ ।’ यताका ठेकेदारहरूले सेलरमिलका मासिकसँग प्रतिबोरो धान वा गहँुु लोड गरेको पाँचदेखि सात रुपैयाँ लिने गरेको उनी बताउँछन् । भन्छन्, ‘एकजना मुसहर कामदारलाई बिहान ६ बजेदेखि राति ३ बजेसम्ममा तीन सय ५० बोराभन्दा बढी उठाउन लगाउँछन् ।’

सप्तरीको कञ्चनरूप नगरपालिका–१ वैरवाका शिव सदा भन्छन्, ‘तीनपटक सेलरमा काम गर्न गएँ, तीनैपटक ठगिएर फर्किएँ ।’ पछिल्लोपटक गाउँका १६ जना मुसहर युुवासँगै उनी पनि गएका थिए । तर, सबैजना भागेर आए । भन्छन्, ‘सेलरमिलमा कुनै एउटा ढेरी उठाउन लगाएपछि त्यो नसकिएसम्म उठाइरहन लगाउँछन्, चाहे बिहानको ४ नै किन नबजोस् ।’

कञ्चनरूप–५ पिप्रापूर्वका २१ जना युवा भारतको सेलरमिलमा काम गर्न गएका थिए । बिहान ६ बजेदेखि राति ४ बजेसम्म काममा लगाएको र खानासमेत नदिएपछि गत चैतको पहिलो साता भागेर आएका थिए । राति काम गर्न अस्वीकार गरेपछि विजय सदालाई ठेकेदारले निर्घात कुुटपिट गरेका थिए । उनीहरू काम गरेको पैसै नलिई ज्यान जोगाउन भागेर आएका थिए ।

गरिबी र मुसहरको सम्बन्ध

राष्ट्रिय योजना आयोगका अनुसार हाल नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) १८.७ प्रतिशत छ । बहुआयामिक गरिबीमा रहेको जनसंख्या २८.६ प्रतिशत छ । नेपाल श्रमशक्ति सर्वेक्षण २०१७ अनुसार समग्र बेरोजगारी दर ११.४ प्रतिशत छ । मधेसी दलितको जनसंख्या बढिरहेको प्रदेश २ मा बेरोजगारी दर २० प्रतिशतभन्दा बढी छ ।

नेपालको कुल जनसंख्या २ करोड ९७ लाखको १३.८ प्रतिशत अर्थात् ४० लाख ९९ हजार दलित छन् । दलितमध्ये पहाडमा ९.१% अर्थात् २७ लाख ३१ हजार र तराईमा ४.७% अर्थात् १३ लाख ९६ हजार छन् । मधेसका दलितमध्ये ३७ प्रतिशतसँग अर्थात् ५ लाख १६ हजारसँग खेती गर्ने जमिन छैन । तराईका दलितमध्ये पनि २ लाख ३४ हजार मुसहरमध्ये ७९ प्रतिशत अर्थात् एक लाख ८५ हजारसँग घर बनाउन भूमिसमेत छैन । मधेसका ३८ प्रतिशत दलित, ४१ प्रतिशत मुस्लिम र ३३ प्रतिशत आदिवासी जनजाति गरिबीको रेखामुनि छन् । राष्ट्रिय योजना आयोगले ०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१.२२ प्रतिशत र प्रदेश २ मा ४७.८९ प्रतिशत जनता गरिब छन् । २०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता दर ६५ प्रतिशत पुुग्दा समग्र दलितको ५१ र मधेसी दलित ३४ प्रतिशत छ । मधेसी दलितभित्र पनि मुसहरको साक्षरता ६.९ प्रतिशत मात्र छ ।

सुधखोरबाट मुसहरलाई सास्ती

राष्ट्रिय मुसहर उत्थान संघका अध्यक्ष चन्देश्वर सदाका अनुसार पिँधमा पारिएका मुसहर समुदायलाई समाजका कथित उच्च जात र जनप्रतिनिधिहरूकै नातागोताका व्यक्तिहरूले भारतमा चर्को श्रमशोषण गरिरहेका छन् । बुुधुु सदा जस्तै मधेसका मुसहर समुुदायमाथि पञ्चायतकालमा भन्दा बढी शोषण भइरहेको छ । तर, तीन तहको सरकार ठोस रूपमा सीमान्तकृत समुुदायको समस्या हल गर्नेतर्फभन्दा मठमन्दिरमा लगानी गरिरहेको छ ।

बुुधुु सदाकी पत्नी प्रमिलाले गाउँकै छुुट्टा–छुुट्टै चारजना साहुुसँग ऋण लिएकी छिन् । गाउँकै शोभाकान्त दाससँग तीन वर्षअघि जेठो छोरो धिरेन्द्रको बिहे गर्न २५ हजार रिन लिएकोमा १८ हजार तिरे पनि उनले ११ हजार मात्रै तिरेको भन्दै छ । ‘दासले अहिले सावाँब्याज जोडेर ७० हजार पु¥याएको छ । हामीमाथि मुद्दासमेत हालेको छ,’ प्रमिला भन्छिन् ।

बुधुको छोराछोरीको पढाइ छुटिसक्यो । उनीहरू स्कुल जाँदैनन् । ऐलानी जग्गामा घर छ । सरकारले भूमिहीनको घर बनाइदिने भन्दै जनता आवास कार्यक्रम ल्याएको छ, तर बुधुको परिवारले कुनै सरकारी आश्वासन पाएका छैनन् । नेपाल बैंकको प्रतिवेदनले भन्छ– गाउँमा एउटा परिवार चलाउन न्यूनतम २८ हजार मासिक लाग्छ । तर, बुधुको परिवार मासिक कति हजारबाट चलेको होला ? यसको हिसाब कतै छैन ।

श्रम ऐन र मुसहर

श्रम ऐन ०७४ र श्रम नियमावली ०७५ ले श्रमिकको न्यूनतम तलब तय गरेको छ । ऐन र नियमावलीले श्रमिकको न्यूनतम तलब १३ हजार चार सय ५० रुपैयाँ तोकेको छ । यसैगरी ज्यालादारीको हकमा भने दैनिक पाँच सय १७ रुपैयाँ तोकेको छ । गाउँमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । राजगढ गाउँपालिकाले समेत ४८६ जनालाई गत वर्ष रोजगार दिएको थियो, तर त्यसमा बुुधुु सदाहरू अटाएनन् । ‘गाउँमा मजदुरी गर्छु भन्दा पनि नियमित काम गर्न पाइँदैन । थोरै समय काम पाए पनि वर्षभरि बेरोजगार हुनुपर्छ,’ सप्तरीका मुसहर समुदायका अगुवा गंगा सदा भन्छन्, ‘स्वदेशमा काम पाइँदैन । विदेशमा श्रमशोषण हुन्छ । हामी कसरी बाँच्ने ?’

          सभार : नयाँ पत्रिका 

प्रतिक्रिया