पर्सा ः कोरोना महामारीको विपतमा कालोबजारी गरी तोकिएभन्दा बढी भाडा लिने दुई वटा एम्बुलेन्स चालकसहितलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना३च ८१९९ र ना २ च ३२५६ नम्बरका दुई एम्बुलेन्स चालकहरू बहुदरमाई नगरपालिका–९ विश्रामपुरका कमरुद्दिन राय र विन्दवासिनी गाउँपालिका–१ का वीरबल मुखियालाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
उनीहरूलाई वीरगन्ज–१५ मा रहेको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल अगाडि एम्बुलेन्स पार्किङ गरिराखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
चालकहरूले वीरगन्जबाट काठमाडौंसम्म लगेको भाडा ४० हजारसम्म लिएको प्रहरीको आरोप छ। पर्साकै गाउँबाट ३ हजार ५ सय लाग्ने ठाउँमा उनीहरूले ७ हजार रुपैयाँभन्दा बढी लिने गरेको सूचना आएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूला कालोबजारी ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही बढाइएको पर्सा प्रहरीले जनाएको छ ।