Saturday 5th of October 2024

जनकपुरधाममा सुरु गर्यो निःशुल्क भोजन अभियान

0 Shares

जनकपुर । कोभिड–१९ को दोस्रो लहरका कारण देशव्यापी रुपमा केही सातादेखि निषेधाज्ञा लागू हुँदा गरिब मजदुर र निमुखा जनता घरबाहिर निस्केर काम गर्नबाट वञ्चित भएका छन् ।

यसबाट गरिब मजदुरहरु चिन्तित रहेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ ले निःशुल्क भोजन अभियान सञ्चालन गरेको छ ।

दुई साताभन्दा लामो समयदेखि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गका समुदायको अवस्था निकै कष्टप्रद अवस्थाबाट गुज्रिरहेक थिए । सोही अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष जानकीराम साहले आजदेखि निःशुल्क भोजनको व्यवस्था गरेका हुन् ।

सोही वडास्थित जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएका कुष्ठरोगी, मजदुर तथा मागेर जीवन यापन गरिरहेकाहरुलाई राहतस्वरुप दुई छाक भोजनको व्यवस्था लकडाउन अवधिभरका लागि गरेको वडाध्यक्ष साहले जानकारी दिए ।

उनले यस वडामा रहेका गरिब निमुखाको अवस्था निरीक्षण गरी भोककै कारण कसैलाई कुनै पनि किसिमको समस्या हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।

उनले भने, ‘हाम्रो वडामा जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएका करिब ४० जना र मुसहरी टोलमा बसोबास गर्दै आएकाहरुलाई आजदेखि भोजनको व्यवस्था गरेकाले अब भोककै कारण कसैको ज्यान जाने छैन ।’

प्रतिक्रिया