काठमाडौं : एनएमबि बैंकले जेठ ९ गतेदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले १५ वर्षे अवधिको वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो।
बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।