गौशाला । जीतपुरसिमरामा निषेधाज्ञाको मौका छोपी सरकारी गाडीमा काठ तस्करी भएको फेला परेको छ ।
शसस्त्र प्रहरी गण पिलुवाले जीतपुरसिमरा उपमहानगरपालिकाको ना १ ग ७६२ नम्बरको सरकारी टिपरलाई काठ र चालकसहित नियन्त्रणमा लिएको छ ।
आइतबार राति १३ थान चिरान (करिव १० क्यूवफिट) कडी र टिपर चालक सुनिल चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
चालक र चोरीको काठसहित टिपर डिभिजन वन कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।
लकडाउनको समयमा गुडेका गाडीहरुमा चेकजाँच गर्ने कम्रमा शसस्त्र प्रहरीको पिलुवा चेकप्वाइन्टमा नगरपालिकाको सरकारी गाडीमा प्रमाण नखुलेको काठ सहित चालकलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी उपरीक्षक मनोज थापाले जानकारी दिए ।
थापाका अनुसार चालक चौधरीसँग रहेका एकजना भने जंगलतर्फ भागेका छन् । सो काठ जीतपुरसिमरा–१६ टाँगिया बस्तीबाट लोड भएको वन कार्यालयले जनाएको छ ।
डिभिजन वन अधिकृत मञ्जुर अहमदले काठबारे अनुसन्धान भइरहेको बताए । सरकारी गाडी मै चोरीको काठ ओसारपसार हुँदा तस्करी नियन्त्रण गर्न समस्या भएको उनले बताए ।