गौशाला । निःशुल्क रुपमा वितरण गरिने औषधी विक्री गर्ने प्रायोजनको साथ लुकाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको गौशालामा संचालित नागरिक आरोग्य केन्द्रमा कार्यरत रहेका कार्यालय सहायक प्रमोद साहलाई आयुर्वेदिक औषधीसहित ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेका छन ।
गोप्य सुचना आधारमा प्रहरीले खानतलाशी गरेपछि उनको घरबाट निःशुल्क रुपमा सेवाग्राहीलाई प्रदान गरिने सतावरी चुर्ण, बिल्वादी चुर्ण , अजुवाइन चुर्ण, पुस्यानुग चुर्ण गरि ७० थान चुर्ण, ११ थान तेल र एकवटा चियापति वरामद गरिएको प्रहरी निरीक्षक विष्णु प्रदीप वस्याँलले जानकारी दिनुभयो । करार सेवामा कार्यरत रहेका चिकित्सक प्रकाश कुमार झाले सेवाग्राहीलाई निःशुल्क दिनुपर्ने औषधी अन्यन्त्र विक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको प्रहरी निरीक्षक वस्यालले बताउनुभयो ।
गौशालास्थित विरेन्द्र धर्मशालामा गत चैत्र ८ गतेदेखि संचालनमा ल्याइएको सो केन्द्रमा उपचारका लागि जाने सेवाग्राहीहरु औषधि विना फर्किदै आएको थियो । यस्तो कार्यमा संलग्नलाई हदैसम्मको कारवाही गरिने गौशाला नगरपालिकाका नगरप्रवक्ता भोजवहादुर दर्लामीले प्रतिवद्धता जनाउनुभयो ।