सर्लाहीमा अक्सिजनको अभावमा ज्यान गुमाउदै कोरोना संक्रमित

सर्लाही ः कोरोना संक्रमणको हटस्पट बन्दै गइरहेको सर्लाही जिल्लामा अक्सिजन तथा भेन्टिलेटर सहितको बेडको अभावका कारण संक्रमितहरुले ज्यान गुमाइरहेका छन् ।

सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालको आईसुलेशन कक्षमा अहिले ८ जना बिरामीहरु उपचारार्थ रहेका छन । अक्सिजनको अभावमा उनीहरूको अवस्था जुनसुकै बेला खराब हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

दैनिक १० वटा अक्सिजन सिलिन्डरको खपत हुँदै आएकोमा अस्पताल सँग अहिले १४ वटा भर्ती सिलिन्डरहरु मात्र रहेको छ । थप सिलिन्डरको लागि पहल गर्दा समेत कतैबाट उपलब्ध हुन नसकेपछि नयाँ बिरामीहरूलाई भर्ती नगरि अन्यत्र रेफर गर्नुपरेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव सिंहले बताएका छन् । अक्सिजनको अभावमा पहिलादेखि भर्ती रहेका संक्रमितहरूको ज्यान बचाउन समस्या भईरहेको मेसु डाक्टर सिंहले भने ।

प्रदेश नं. २ सरकारले जिल्ला अस्पताल मलंगवालाई अक्सिजन खरिदको लागि ५ लाख रुपैयाँ र अटोमैटिक अक्सिजन प्लान्ट निर्माणका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरि सकेको भएपनि हाल सम्म अक्सिजन नआएको र अक्सिजन प्लान्टको लागि अस्पतालकै प्रांगणमा निर्माण भइरहेको घर निर्माणकार्यमा ढिलाई भएको कारण चालु हुन नसकेको उनले बताए ।

सर्लाही जिल्लामा अहिले संक्रमितहरुको संख्या सँगै मृत्युदर पनि बढ्दै गइरहेको छ । यसले यहाँको अवस्था भयावह हुँदै गएको देखिन्छ । अघिल्लो १० दिनको अन्तरालमा १३६३ जनाको जाँच गर्दा सर्लाहीमा ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जना संक्रमितहरुको उपचारको क्रममा मृत्युु भईसकेको छ ।

हुने खानेहरु आफ्ना बिरामीलाई उपचारका लागि बिरगंज ,जनकपुर ,काठमाडौ लगायतका ठुला शहरका अस्पतालमा लगिरहेका छन् । तर, गरीब, असहाय परिवारहरु भने सर्लाही अस्पतालमै उपचार गराउन बाध्य छन् । अस्पतालमा अहिले कोरोना भाईरस संक्रमितको उपचारमा अतिआवश्यक रहेका रेमडीसिबर, आईभरमेटिन, एजिथ्रो माइसिन र डक्सीसाइक्लिन जस्ता औषधीहरुको समेत अभाव रहेको छ ।

सरकारले निजी अस्पताल तथा क्लिनिकहरु लाई ३ प्रतिशत बेड कोरोना बिरामीको लागि सुरक्षित राख्नु पर्ने बताएपनि यहाँका अधिकांश निजी अस्पतालहरूले बेड सुरक्षित गरेका छैनन् । एकजना निजी असपतालका संचालकका अनुसार अक्सिजन र औषधीको आभाव रहेको कारण कोरोना संक्रमितलाई भर्ना गर्न नसकेको हो ।अहिले सामान्य रोगका बिरामीहरूले पनि उपचार नपाएर समस्या भोग्न बाध्य भएका छन् ।

२० वटा पालिकाहरु रहेको सर्लाही जिल्लामा केही पालिकाहरूले मात्र क्वारेन्टाइन सेन्टरको निर्माण गरेपनि सबै खाली छन् । संक्रमितहरू घरमै बसेका छन् ।अहिले जिल्लामा कोभिड–१९ सम्बन्धि उपचारको लागि १९० बेड र १४७ वटा अक्सिजन सिलिन्डर सहितको ९ वटा अस्पतालहरु संचालनमा रहेका छन् । मलंगवा अस्पतालमा १० वटा आसियु बेड र ४ वटा भेन्टिलेटर संचालनमा रहेको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले सर्लाहीको तीनवटा चिनी उद्योगमा राखिएको १ सय २२ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । चिनी उद्योगमा रहेका ८० थान भरिएको र ४२ थान खाली अक्सिजन सिलिन्डरहरु संकलन गरी जम्मा पारिएको छ । हरिवन नगरपालिका स्थित इन्दुशंकर चिनी उद्योग, गोडैता नगरपालिका स्थित महालक्ष्मी चिनी उद्योग र धनकौल गाउँपालिका स्थित अन्नपूर्ण चिनी उद्योगमा रहेका ती सिलिन्डरहरु संकलन गरि जम्मा पारीएको र संक्रमितहरुलाई आवश्यक परे सम्बन्धित ठाउँमा तुरुन्त पुर्याइने सर्लाही प्रहरी प्रमुख एसपी संतोष सिंह राठौरले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार