काठमाडौं : बिहीबार मध्यरातमा राष्ट्रपतिनिवास शीतलनिवास पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु चिया खान गएको बताएका छन्। शुक्रबार सिंहरबारमा पत्रकारहरुसँग शीतलनिवास जानुपर्नाको राजनीतिक सन्दर्भबारे भने खुलाउन चाहेनन्।
‘राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट भएको हो’, ठाकुरले भने, ‘चिया खानको लागि गएको थिएँ। त्यसपछि फिर्ता आएँ।’
ठाकुरले स्वास्थ्यको विषयमा गफ भएको, ‘ठीकै छ’ भन्ने कुरा भएको बताए।
बिहीबार राति ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको लागि २१ घण्टाको समय दिएपछि जसपाका ठाकुर र राजेन्द्र महतो, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए। उनीहरु राति ११ बजे शीलतनिवास पुगेका थिए।
वैकल्पिक सरकारको विषयमा भने ठाकुरले खासै रुचि व्यक्त गरेनन्। तपाईंहरुको माग र मुद्दामा सहमति हुने गरी कांग्रेस-माओवादी केन्द्र र जसपाबीच सहमति भयो भने बेलुकासम्म नयाँ सरकार बन्न सक्छ? भन्ने पत्रकारको प्रश्नमा ठाकुरले भने, ‘जहाँसम्म मुद्दाको सवाल छ। त्यो त वर्तमान सरकारले पनि गरिरहेकै छ।’