Saturday 5th of October 2024

संसद् विघटन र चुनाव घोषणाबारे विप्लवले राखे यस्तो धारणा

0 Shares

नेत्र विक्रम चन्द विप्लवले संसद् विघटन र मध्यावधि चुनाव घोषणाको विषयमा आफ्ना धारणा राखेका छन् । नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट शनिबार एक वक्तव्य जारी गर्दै विप्लवले नयाँ व्यवस्थाका लागि अब जनमत संग्रहमा जानुपर्ने माग गरेका छन्।

विप्लव समूह अहिलेको व्यवस्था र संविधानप्रति असन्तुष्ट रहँदै आएको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको काम राष्ट्रिय सरोकारको विषय भएकाले आफ्ना धारणा सार्वजनिक गरेको जानकारी उनले दिएका छन् ।

संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने र यो सफल हुँदैन  भन्ने आफ्नो पार्टीको निष्कर्ष सही सावित भएको दावी उनको छ ।

‘शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको छ’ विप्लवले भनेका छन्, ‘यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो।’

वैज्ञानिक समाजवाद र अहिलेको संसदीय व्यवस्था खोज्नका लागि जनमत संग्रह गर्नुपर्ने माग उनको छ ।

फेरि पनि संसदीय व्यवस्थाकै लागि निर्वाचन घोषणा गर्नु समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र भएको ठहर विप्लवले गरेका छन् ।

प्रतिक्रिया