रञ्जन भण्डारी
वच्चाहरु आ आफ्नो खुत्रुके ल्याए । उनीहरुले खुत्रुकेहरु तोड्न सुरु गरे पहिले एउटा तोडे,त्यसमा झण्डै दुईसय भन्दा वढी रुपया भेट्यो । अर्कोमा एकसय पचास भन्दा वढी थियो । तर जेठी छोरीको खुत्रुके तोड्दा झण्डै १५ सय जति पैसा थियो सो मध्ये सय र पचास खालको नोटहरु लिइयो । तिनैजनाको खुत्रुकेबाट करिव एक हजार छसय जम्मा गरेर बच्चाहरुले दिए । बच्चाहरुले आफ्नो खुत्रुकेबाट पैसा झिकेर यसरी दिदाको प्रतिकृया दिनै सकेको थिएन । त्यसमा हर्षित प्रतिकृया दिने वा वच्चाहरुको वचत प्रयोग गरेर राखेको पैसा समेत प्रयोग गर्नु पर्दाको बाध्यताले विस्मात प्रतिकृया दिनु पर्ने हो दिमागले कुनै सिग्नल नै दिइरहेको थिएन । घरमा समस्या हुदा बच्चाहरुले आफ्नो खुत्रुके तोडेर गरेको सहयोग अमुल्य थियो ।
खुत्रुके तोड्नु पर्ने अवस्था भने त्यसै आएको होईन । महोत्तरीमा लकडाउन लागेको झण्डै १६ दिन वितेको छ । लकडाउनले दैनिकी चलाउन आर्थिक अभाव हुदा यस्तो परिस्थिति सृजना भएको हो । अवस्था दुई तिन दिन पछि अझै खस्कने छ । खुत्रुकेबाट निस्केको पैसा पनि घरको सवै सामान जोड्दा साताकै लागि पनि नपुग्ने अवस्थामा अझै लकडाउन कति दिन चल्ने हो पत्तो छैन । सार्वजनिक यातायात र अधिकांश कामकाजका साथै दैनिक ज्याला मजदुरी गरेर खानेको विजोग हुदा पनि रोगले सचेत नागरिकलाई घरमै रोकेर राखेको छ ।
संक्रामण र अति नै खतरनाक मानिएको रोग कोभिड १९ को तिन थरि भेरिएन्ट नेपालमा देखिनुले अझै लकडाउन लम्बिन सक्ने काटछांट छदैछ । यता अझै विभिन्न प्रयासका बाबजुद मौका मिल्ने वितिक्कै केहि व्यक्ति सडकमा आउन छाडेका छैनन । विहे ब्रतबन्ध मृत्यु संस्कारमा भोजभतेर आदी आदी अझै रोकिन सकेको छैन । भयावह अवस्थामा समेत पुर्ण सचेत हुन नसक्नुले हाम्रो ज्ञानको स्तर चाहिएको जति नभएको सहजै बुझ्न सक्छौ । घरमा दुध दिन आउने दुधवालाले आजै एकसय विस लिटर दुध एकजनालाई दिएर आएको बताउदै थिए । जनेउ संस्कारमा पनिर,दही र मिठाई बनाउन सो परिमाणमा दुध सम्बन्धित व्यक्तिले लिएको दुधवालाले वताउदै थिए । यस्तै भोज भतेर विवाह र जनेउ,ब्रतबन्धले संक्रमण दिन दुई गुना रात चार गुनाको दरले वढाएकै भएपनि यस्ता कार्यलाई बाध्यात्मक बनाईनु दुखद हो ।
कोरोनाले व्यापकता नपाएको वेला देखि नै भिडका भिड जनता जम्मा हुने गरेकै थिए । समयमै संवेदनशिल नहुदा अझै घर घरमा कोरोनाको लक्षण भएका आशंकित विरामी छदैछन ।
कुरा लकडाउनको गर्दै थिए । महोत्तरीमा लकडाउन लागेदेखि हालसम्म दैनिक ज्यालादारी गरेर खानेको हाल सोध्न अझै कुनै नेता वा कार्यकर्ता वा सामाजिक संघ संस्थाहरुले चासो लिएको देखेको छैन । झनै कोरोना संक्रमण हुदा अस्पतालमा उपचार गराउदा लाग्ने औषधीको खर्चले ढाड भाच्ने गरेको प्रत्यक्षभोगीहरुको मुखबाट सुन्दा पिडा वढेर आउछ । मनरा सिस्वा नगरपालिका वडा नं. ४ साँढाका एक किसानले आफ्नी आमाको उपचार गराउदा अन्दाजी १५ हजार खर्च गरे । अक्सिजन भने अस्पतालले नै उपलब्ध गराउदा समेत किसान र दैनिक ज्यालादारी गरेर खानेको लागि उक्त रकम सानो हैन । उनले आमालाई जेनतेन निको पारेर घर फर्किदा त्यसतै प्रकृतिको समस्या दाईलाई समेत देखा परेको र पुनः दाईलाई अस्पताल ल्याउदा कोरोना संक्रमण भएको पुष्टी पछिको अस्पतालमा उपचाररत रहेको हालसम्मको पाच दिनमै लगभग १५ हजार फेरी पनि खर्च गरिसकेका छन । अझै उपचार चल्दै गर्दा झनै पैसा खर्च हुने भएपनि उनी उपचार गराउन बाध्य छन । ज्यान रहे जहान रह्ला भनि केहि बजारमा सहज नपाउने औषधी ब्लाकमै किनेर समेत उपचारको लागि दौडधुप गर्दैछन ।
एकातर्फ कोरोनाले थला परेको आफन्तलाई औषधीको जोहो र अर्को तर्फ घरमा खानाको आसमा वसेका साना वालवालिका र परिवारका सदस्य सवैको भरण पोषण गर्दा आर्थिक विपन्नता भएकाहरुको लागि ठुलो चुनौती छ ।
समाजमै प्रतिष्ठा कमाएका र प्रतिष्ठित पेसामा रहेकाहरु समेत लकडाउन,कोरोना र भोकबाट अछुतो भने छैनन । परिवारका दुई सदस्य कोरोना संक्रमित भएर साथी भाइ र औषधी पसलहरुबाट उधारो समेत ओषधी लिएर परिवारका सदस्य निक्कै प्रयासपछि निको पार्न सकेका व्यक्ति समेत भोकबाट भने हार्न लाग्दा वास्तवमै समयको चक्रले कसैलाई नछोड्ने उनी वताउछन । लकडाउनले अर्थ उपार्जनको बाटो बन्द हुदा दुई छाक खानाकै जोहो गर्न समेत समस्या देखिएको छ । एक अभिभावक भन्छन,“ साना साना वच्चाहरुले बाबा मेरो खुत्रुके लिनुस यसमा धेरै पैसा छ भने पछि त्यही खुत्रुकेहरु फोरेर हेर्दा झण्डै १५ सय जति पैसा भेटिदा त्यसले घर खर्च थोरै जोडे । तर मेरो आत्मा रोएको छ । ति कलिला वच्चाहरुले जम्मा गरेको पैसा कसरी खर्च गरु तर लकडाउन र अर्थ जोहो गर्ने बाटो नभएपछि सोहि रकम लिन बाध्य भए ।”
उनी जस्तै अवस्था भने अधिकांशको छ । सार्वजनिक यातायातमा काम गरेर दैनिक गुजारा गर्नेहरुको झनै विजोग छ । सार्वजनिक यातायातमा ड्राईभर,खलासी र कन्डक्टरको काम गर्नेहरु घरमै काम विहिन भएर कोचिन्न बाध्य छन । जलेश्वर नगरपालिका ६ निवासी एक सार्वजनिक यातायातमै काम गर्नेले लकडाउनमा प्रहरीसंग लुकेर काम मांग्न जादा समेत कोरोनाकै डरले कसैले काम समेत नदिएको दुखेसो पोख्छन ।
संक्रामक रोग र त्यसले सृजना गरेको परिस्थितिमा जिवन्त पिडाहरु वयान गरिनसक्नु छ भने झनै यसै रोगले ज्यान गुमाएकाहरुको परिवारको हरिविजोग झनै कहाली लाग्दो छ । रोग लागेर पहिले जिल्ला अस्पताल र भेन्टिलेटरमै राख्नु परे भेन्टिलेटर खोज्न विरामी वोकेरै चर्को शुल्क रहेको एम्बुलेन्स लिएर भौतारिनुको पिडा आफैमा एउटा कथा छ भने त्यसैपनि भेन्टिलेटरमा राख्दा जायजेथा नै वेच्नु पर्ने गरि अस्पतालहरुबाट लिइने शुल्क र त्यसमै विरामी शुल्क तिरेर पनि बचाउन नसक्दा सर्वस्व गुमाउनेहरु धेरै छन । आफन्त त्यति गर्दा समेत वितेर स्थानिय निकायहरुलाई दाहसंस्कारकै लागि मेसिनले खाल्डो खनिदिन वा दाउराकै लागि सहज व्यवस्थापन गरिदिन भन्दा ऋण नै मांग्न आएजस्तो व्यवहारले पिडामाथी पिडा थप्ने गरेको एक भुक्तभोगी गुनासो गर्छन । केहि स्थानिय तहले त्यसमै समेह सहयोग नगरेका भने होईनन तर केहि मृत्यु परान्तको शव दाहसंस्कार गर्न सहयोग गर्नुको साटो लुकेर भाग्ने मनोवृतिले अझै गरिवको कोहि नभएको आभास दिलाउने गरेको दुःख पिडितहरु गर्छन ।
तत्काल कोरोनाले उत्पन्न गरेको गम्भिर र नकारात्मक परिस्थितिको अन्त्य होस भन्ने शुभेक्क्षा सहित विदा ।