काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन् ।
सफलता एचआईभी शिक्षा सदनले मंगलबार आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि सुरु हुने बताए । यस निम्ति मन्त्रालयले तयारी गरिसकेको उनको भनाइ छ ।
त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिटै टुंगो लाग्ने जानकारी दिए ।
आगामी दिनमा एचआईभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट विनियोजन गर्नेसमेत मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एचआईभी संक्रमितहरुले अपहेलित र उपेक्षित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनुपर्ने बताए ।