Friday 20th of September 2024

कोरोना कहर : धनुषाको दुईवटा गाँउ शिल

0 Shares

ढल्केवर : दोस्रो लहरको कोरोना भाइरस समुदायस्तरमा फैलिएपछि धनुषाको दुई वटा गाउँलाई शिल गरिएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ मा पर्ने चिसापानी र मिथिला नगरपालिका वडा नम्बर ११ लोटा गाउँलाई शिल गरिएको हो ।

चिसापानी गाउँमा एकै पटक ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि शिल गरिएको गणेशमान चारनाथ नगरपालिकाका स्वास्थ्य इन्चार्ज श्यामजी रायले बताए् ।

रुघाखोकी, ज्वरोलगायत कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या चिसापानी गाउँमा बढेपछि नगरपालिकाले स्वास संकलन गरि कोरोना परिक्षण गरेको थियो । त्यसमध्ये मध्ये ३५ जनामा कोरोना पोजेटिभ देखापरेपछि अयन्त्र फैलिन नदिन गाउँलाई शिल गरिएको स्वास्थ्य इन्चार्ज रायले जानकारी दिए ।

इन्चार्ज रायकाअनुसार अहिलेसम्म नगरपालिकाको सात वटा गाउँबाट २ सय ३७ जनाको स्वास संकलन गरि परिक्षण गराउँदा ९५ जनामा कोरोना पोजेटिभ भेटिएको छ । त्यसमध्ये ६१ जना पुरुष र ३४ जना महिला छन् । यसैगरी प्रादेशिक कोभिड अस्पताल जनकपुर गएर जाँच गराएका मध्ये २१ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये तीनजनाको नगरपालिकाले पोर्ताहामा अक्सिजनलगायत सम्पूर्ण सुविधासहित सञ्चालन गरेको आइसोलेन वार्डमा उपचार भइरहेको छ भने सामान्य अवस्थाका अन्य बिरामीलाई होम आइसोलेनमा राखेर उपचार भइरहेको छ । होम आइसोलेनमा बसेकाहरुलाई औषधी उपलब्ध गराउने देखि लिएर नियम जाँचका लागि स्वास्थ्यकर्मी खटिरहेको स्वास्थ्य इन्चार्ज रायले जानकारी दिए ।
यसैगरी, जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ११ लोटा गाउँका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि गाउँ शिल गरिएको छ ।

त्याहाँ पनि कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परिक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो । त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमितहरु मध्ये जटिल देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको बुझिएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य छ। सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेशनमा रहेको नगरपालिका अधिकृत रचिन्द्र डङ्गोलले बताए । उनकाअनुसार संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली खटाइएको छ ।

प्रतिक्रिया