काठमाडौं ः जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमलाई साथ दिनेहरूमाथि छानबिन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यकारिणी सदस्य नवराज सुवेदीका अनुसार पार्टी नीतिविपरीत कार्य गर्ने नेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको बताए ।
५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा यादव र भट्टराई पक्षको स्पष्ट बहुमत छ ।
उक्त बैठकले अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको निर्णयविपरित ओलीलाई प्रधानमन्त्रीमा आफ्नो दलको समर्थन छ भन्ने पत्र राष्ट्रपति कार्यालयमा बुझाएकोबारे स्पष्टीकरण सोधेको हो। त्यस्तै नेता राजेन्द्र महतोलाई संसदीय दलको विधान नै नबनी आफू संसदीय दलको नेता चुनिएको भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको स्पष्टीकरण सोधिएको हो ।
नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारले बनाएको संविधान संशोधन कार्यदलमा बसेकोबारे स्पष्टीकरण सोधिएको हो। यसअघि सरकारले नेकपा एमालेका तीन जना र जसपाका कर्ण र शुक्ल सदस्य भएको संविधान संशोधन कार्यदल बनाएको थियो ।
कर्ण र शुक्लले पार्टीको निर्णयबिना नै कार्यदलमा बसेर वार्ता गरेकोमा स्पष्टीकरण सोधिएको एक नेताले बताए ।
उक्त बैठकले ओली सरकारको प्रतिगामी कदमलाई साथ दिने सांसदहरूमाथि छानबिन गर्न समिति पनि बनाएको छ ।
‘बाटो बिराएर गएकाहरूलाई मूलधारमा फर्काउने तर जानी–जानी ओलीको प्रतिगामी कदमसँग साँठगाँठ गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने गरी समिति बनाइएको हो,’ ती नेताले भने।
यसअघि जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक डाकेका थिए तर बीचमा अध्यक्ष ठाकुरले एक्लै विज्ञप्ति निकालेर कोरोनाका कारण बैठक स्थगित भएको बताएका थिए।