राजकरण महतो
बर्दिबास / नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा प्रदेश सभा सदस्य सारदा देवी थापाले ११ हजार रकम प्रदान गरेकी छन् ।
कोरोना महामारी नियन्त्रणका लागि अग्रमोर्चामा काम गरिरहेका पत्रकारहरुको उपचार तथा पारिवारीक सुरक्षाका लागि प्रदेश सभा सदस्य थापाले नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोलाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
कोरोना महामारी नियन्त्रणका लागि खटिएका पत्रकारहरु जोखिममा पर्दै गएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले जनाए । पत्रकारहरुको स्वास्थ्य सुरक्षा तथा उपचारका लागि पत्रकार महासंघको बिपद् व्यवस्थान कोषमा आर्थिक सहयोग गरिदिन अध्यक्ष मण्डलले सबैमा आह्वान गरेका छन् ।
स्थापना गरिएको कोषमा हालसम्म महोत्तरीको बर्दिबासबाट कोषमा १ लाख १२ हजार ७ सय ३५ रुपैंया मनकारी संघसंस्था तथा व्यक्तिहरु सहयोग प्रदान गरेका पत्रकार महासंघ महोत्तरी शाखाका कोषाध्यक्ष अजय कुमार सिंहले बताए ।
हालसम्म महोत्तरीका तीन संचारकर्मी कोरोनाको दोस्रो लहरबाट संक्रमित भएका छन् । दुई जना संचारकर्मीले कोरोना जितिसकेका छन् भने एक संचारकर्मी होम आइसुलेसनमा छन् । विपद् व्यवस्थान कोषाबाट कोरोनाबाट पीडित नेपाल पत्रकार महासंघ महोत्तरीका शाखाका पूर्वअध्यक्ष तथा उपाध्यक्ष क्रमसं दशरथ भण्डारी र नागेन्द्र कर्णलाई नगद ५÷५ हजार सहयोग प्रदान गरिएको छ । पूर्वउपाध्यक्ष कर्णले कोषबाट सहयोग लिएर फेरि अरु संचारकर्मीका लागि ५ हजार कोषमै प्रदान गरेका छन् ।