‘इटालियन सिरि ए’ सिजनको अन्तिम खेलमा जित हात पार्दै युभेन्ट्स आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ।
आइतबार राति भएको लिगको अन्तिम खेलमा युभेन्ट्सले बोलोग्नालाई ४-१ गोलले पराजित गर्यो।
युभेन्ट्सका लागि चिएसाले छैटौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए। उनलाई गोल गर्न डिबालाले पास उपलब्ध गराएका थिए।
त्यसपछि मोराटाले दुई गोल गरे। उनले खेलको २९ मिनेटमा टिमको अग्रता दोब्बर पारे। ४७ मिनेटमा उनले टिमका लागि चौथो गोल गरेका थिए।
त्यसअघि रबिअटले ४५ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए।
खेलमा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमै राखियो।
जितसँगै युभेन्ट्सले अंक तालिकामा चौथो स्थान पक्का गर्दै युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको हो।
पाँचौ भएको नापोली अन्तिम खेलमा हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको फाइदा युभेन्ट्सलाई पुग्यो।
अन्तिम खेलमा च्याम्पियन इन्टर मिलानले भने युडिनेसेलाई ५-१ गोलले पराजित गर्यो।
च्याम्पियन इन्टर मिलानले ९१ अंक जोड्यो भने दोस्रो भएको एसी मिलानले ७९ अंक बटुल्यो।
एटलान्टा ७८ अंक जोड्दै तेस्रो र चौथो भएको युभेन्ट्सले पनि ७८ अंक नै जोड्यो।
नापोली ७७ अंकमा सीमित हुँदा पाँचौ बन्यो भने च्याम्पियन्स लिगमा छनोट हुन सकेन।