बर्दिबास / महोत्तरीको बर्दिबासस्थित बर्दिबास सेवा समितिले बर्दिबास अस्पताललाई एउटा एम्बुलेन्स उपलब्ध गराएको छ । कोरोना महामारीमा ज्यान गुमाएकाहरुको शव व्यवस्थानमा समस्या परेपछि नगरपालिले बर्दिबास सेवा समितिसंग रहेको एम्बुलेन्सलाई शववहानको रुपमा प्रयोग गर्न माग गरेको थियो ।
बर्दिबास सेवा समितका युवाहरुले १४ बर्ष अघि चन्दा उठाएर १० लाखमा ज १ च ६२२ नम्बरको एम्बुलेन्स खरिद गरेका थिए । उद्योग बाणिज्य संघ बर्दिबासको यसमा बिशेष आर्थिक सहयोग थियो ।
बर्दिबास नगरपालिकास्थित बर्दिबास अस्पतालको नाममा नामसारी गर्ने गरि आफ्नो संस्थाको एम्बुलेन्सको साँचो नगरपालिकाका मेयर विदुर कुमार कार्कीलाई हस्तान्तरण गरिएको बर्दिबास सेवा समितिका अध्यक्ष हीरा गौतमले बताए । ‘कोरोना महामारीले विकराल रुप लिदैं गएको छ । यसको नियन्त्रणमा हाम्रो पनि योग्दान होस् भनि हामीले चलाइरहेको एम्बुलेन्स शवबाहनका रुपमा प्रयोग गर्न बर्दिबास नगरपालिकाका लाई हस्तान्तरण गरेका हौं,’उनले भने ।
कोरोना महामारीसंगको लडाईमा सबै तिरबाट सरकारलाई सहयोग भइरहेको मेयर कार्कीले बताए । ‘अस्ति लगातार तीन घण्टा फोन गर्दा पनि शव व्यवस्थापन गर्न सवारी नभेटिएको हामीसंग तितो अनुभव छ ,’मेयर कार्कीले भने,‘ बर्दिबास सेवा समितिले यस्तो विपद्को अवस्थामा जुन एम्बुलेन्स हामीलाई प्रदान गर्नुभयो त्यसको खुशी हामी शब्दमा व्यक्त गर्न सक्दैनौं ।’