Monday 9th of December 2024

प्रदेश २ : निषेधाज्ञा लम्बिएपछि ज्याला मजदुरी गरी गुजारा गर्नेलाई छाक टार्ने चिन्ताले पिरोल्दै

0 Shares

जनकपुरधाम। छोराछोरी पाल्नु पर्ने बाध्यता छ, अहिलेसम्म केही बचत थियो, खायौं अब आउने दिनमा जीवन कसरी चलाउनु भावुक भएर दैनिक ज्याला मजदुरी गरी गुजारा गर्दै आएकी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडिया की मर्नि देवी सदाले दुःख सुनाइन्।

गाडीमा खाद्यान्न लगायतका सामाग्री ओसार पोसार गर्ने काम गर्ने गर्दथे, परिवार पाल्न सजिलो हुन्थ्यो, काम नपाएको १५ दिन बितिसक्यो, अब खानकै पीरले चिन्ता थपिएको महोत्तरीको वर्दिवास नगरपालिका ३ गौरीडाडाका हरि बलम्पाकी को भनाई छ। बलम्पाकी सानो मालसमान बोक्ने सानो पिकअप गाडी चलाउने काम गर्छन्। साथमा परिवार पनि छन्।

भाडाको बसाइ, काम नपाएर थलिएको १५ दिन बित्यो, कोठामा खानलाई चामल समेत छैन, उदारो कसैले दिँदैनन्, कोरोनाको भन्दा बढी चिन्ता भोको पेट कसरी भर्न सकिएला भन्ने लाग्ने गरेको बलम्पाकीले बताए। दिनचर्या पहिले जस्तो सहज छैन।

‘निषेधाज्ञाले काम गर्न पाइएको छैन, दाउरा बेचेर गुजरा चलाएका छौं’ महोत्तरीको बर्दिबास नगरपालिका– ३, गौरीडाँडाका ईख बहादुर दर्नालले भने, ‘खेती गरौं भने जग्गा छैन, जंगलबाट दाउरा काटेर बेच्दैछु । राहत बाँड्न पनि कोही आएनन्, अब त रोगलेभन्दा पनि भोकले मर्ने अवस्था आयो ।’ बाहिर काम गर्ने उनका छोराहरु लकडाउनले घरमै बसेर दिन बिताउदै छन् । उनीहरु बाहिर काम गर्दा छाँक टार्न सजिलो हुन्थ्यो । तर, कोरोनाको त्रासपछि बजार बन्द हुँदा ईख बहादुरको परिवारमा रोग भन्दा भोकले चिन्ता थपेको छ ।

‘निषेधाज्ञा’का कारण सरकारी तथा गैरसकारी कार्यालयदेखि होटेल, पसल सबै पूर्ण रुपमा बन्द छन्। आर्थिक कारोबार ठप्प मात्र छैन, देशको अर्थतन्त्रमा समेत असर परेको छ। समग्रमा कोरोना संक्रमणले थलिएको विश्वमा नै आर्थिक गतिविधिमा व्यापक ह्रास आएको छ।

धनुषा–महोत्तरी जिल्लाको हकमा विहान ६ बजे देखि ९ बजे सम्म ३ घण्टा दैनिक उपभोग्य सामानका पसल सञ्चालन गर्न दिइएको छ। त्यो पनि व्यापारीले फाटफुट रुपमा मात्र खुला गर्ने गरेका छन्।

धनुषामा वैशाख २१ र महोत्तरीमा २२ गते देखि सम्पूर्ण कामकाज र व्यापार व्यवसाय निषेधाज्ञाका कारण ठप्प छ। जसको प्रत्येक्ष मारमा दैनिक ज्याला मजदुरी गर्नेहरु परेका छन्। दैनिक रुपमा ज्याला मजदुरी गरि खानेहरुका लागि निषेधाज्ञाले संकट नै सिर्जना गरेको छ। कोरोनाको त्रास एकातिर छ, भने अर्का तिर उनीहरु खान बस्नको समस्याले तनावमा छन्।

कोरोना महामारीको दोश्रो लहरले दिन दिनै संक्रमणमा वृद्धि भएर सबै तिर त्रासमा छ। दैनिकजसो सयौंले ज्यान गुमाइ रहेका छन्। त्यस कै जोखिम घटाउन सरकारले निषेधाज्ञा लम्ब्याइ रहेको छ। खेती किसानी गर्ने, व्यापार व्यवसायमा संलग्नहरुका लागि थप आम्दानी र कारोबारमा मात्र समस्या छ, तर ज्याला मजदुरी गर्नेहरुका हकमा भने साँझ विहान के खाने भन्ने मै चिन्ता छ। भारी बोके मात्र पेट भर्ने मजदुरका लागि रोगको संक्रमण भन्दा भोक कै अभाव बारे चिन्ता लाग्ने गरेको मजदुरहरुको दुखेसो छ।No description available.

जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, वर्दिवास सहितका बजारमा ज्याला मजदुरी गर्नेहरुको साझा समस्या हो। उनीहरुका लागि आफू मात्र पालिनु पर्ने अवस्था छैन। आफूसँगै सन्तान र परिवारको पनि जिम्मा छ।

श्रीमान प्रदेशमा छन्, साथमा भएका बालबच्चा पाल्नु पर्ने जिम्मेवारी छ, दुःख कसलाई सुनाउनु मिथिला नगरपालिका–२ नक्टाझिजकी लक्ष्मीमाया परियारले आक्रोश पोखिन्।

बजारमा डेरा गरि बस्दाको समस्या मजदुरलाई झन बढी छ। बस्नदेखि खान समस्या सबै ज्याला मजदुरी गर्नेहरुका साझा छन्। गाडी बन्द छन्, पसल खोल्दैनन्, भारी बोक्न पाइदैन, निर्माणका काम रोकिएका छन्। आफूहरुका बारे सरकारले केही नसोचेको गुनासो क्षीरेश्वरनाथ नपा ४ चन्द्रपुरकी जरिना खातुनको छ।

क्षीरेश्वरनाथ नगपालिका ५ को मुख्य बजार महेन्द्रनगर मै भारी भोकेरै परिवार पाल्ने जरिना खातुनले कोरोना भन्दा काम नपाएकोमा चिन्ता बढी रहेको बताइन्।

अटो चलाएर घर गुजारा चलाउँदै आएका क्षीरेश्वरनाथ नगरपालिका–६ कुचाई टोलका रजाबुल अन्सारीले भने, ‘बन्द कै बीच ईद मनाइयो, अब जहान परिवारको गुजारा कसरी चल्छ भन्ने कुराले पिरोलिरहेछ ।’ रजाबुल जस्तै अटो चलाएर गुजारा चलाउने सो बस्तीमा २० भन्दा बढी छन् ।No description available.

यसअघि गत वर्ष कोरोना महामारी कालमा थोर बहुत राहत दिन र सोधपुछ गर्न स्थानीय तहका जनप्रतिनिधि संघसंस्थाका कोहीकोही आउने गरेको सम्झदै विपन्न, गरिब, दलित बस्तीका बासिन्दा यसपाली कोही फर्केर नआएका गुनासो गर्छन् ।

महामारी छल्न जारी निषेधाज्ञाले बजार बन्द हुँदा कतै निस्कने अवस्था नभएको र घरमा अन्नपात रित्तिँदै गएपछि पिरलो बढेको मिथिला नगरपालिका ६ ढल्केवरको रामसरोज महराले बताए ।

शारीरिक श्रम गरेर छाक टार्दै आएका ज्यालादार मजदुरहरु घरमै थन्किएका छन् । भारतबाट रोजगारी गुमाएर आफ्नो ठाउँ फिर्ता भएका श्रमिकलाई अब कसरी गुजारा टार्ने भन्ने चिन्ता बढेको छ ।

कोरोना महामारीको दोश्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपछि यहाँका गरिब बस्तीहरुमा गुजाराको संकट बढेको छ । दैनिक ज्यालादारी गरेर जिवीका चलाउने कामदार, रिक्सा, अटो र ठेला चलाउने चालक र सधैँ परिवार पाल्नका लागि काममा निस्कनु पर्ने नागरिकहरु घरमै थन्किएपछि गुजाराको चिन्ता बढेको हो ।

मजदुरीलाई परेको समस्या बारे भने स्थानीय प्रशासन र पालिकाहरु जिम्मेवार बन्नु पर्ने सुझाव नागरिक अगुवाहरुको छ।

जेष्ठको महिना दिन लामो हुन्छ, प्रचण्ड गर्मी छ । त्यस माथि भोकले सताउछ । त्यसैले ज्याला मजदुरी गर्नेहरुका हकमा भने राहत अति जरुरी रहेको समाजशास्त्री निलबहादुर लुम्रेको भनाई छ। स्थानीय तहले आफ्ना नागरिक कुन अवस्थामा छन्, तथ्याकं संकलन गरेरै अवस्था पहिचान गरि राहत दिन सके केहि हद सम्म समस्या हल हुन सक्छ ।

धनुषा–महोत्तरी मात्र नभएर प्रदेश २ का आठवटै जिल्ला गरिबीको जाँतोमा पिसिएका छन् । अन्य प्रदेशहरु भन्दा बढी गरिबी प्रदेश–२ मा रहेको तथ्यांक छ । प्रदेश– २ को नीति आयोगले सार्वजनिक गरेको प्रतिवेदनमै यो तथ्य स्वीकार गरिएको छ । शिक्षा, स्वास्थ्य, सन्तुलित भोजनजस्ता आधारभूत पक्ष कमजोर रहेको प्रदेश २ मा गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै कमजोर रहेको प्रतिवेदनमा देखाइएको छ ।

प्रदेश– २ को नीति आयोगले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक पनि निकै खस्किएको छ । प्रदेश २ का जिल्लाहरुमा बहुआयामिक गरिबी दर झन्डै ४९.९ प्रतिशत रहेकोछ । गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ ।

यो परिवेश बीच निषेधाज्ञासँगै गरिबका लागि भरणपोषणको वैकल्पिक उपाय अवलम्वन गर्न आवश्यक भएपनि त्यतातर्फ तीनै तहका सरकारको चासो देखिएको छैन ।

अर्थशास्त्री डा. सुृरेन्द्र लाभले भने, ‘महामारी छल्ने एक उपाय निषेधाज्ञा त अनिवार्य नै हो तर, निषेधाज्ञाको घोषणासँगै गरिबका लागि भोको बस्न नपर्ने विकल्प कमसेकम दिन सक्नुपथ्र्यो ।’

महामारीको त्रासबीच काम खोसिएर पेटमा दाना पर्न छाडेपछि अर्को कहाली लाग्दो अवस्था आउनसक्ने अवस्थाको सिर्जना हुनेमा बुद्धिजीवीले चिन्ता व्यक्त गरेका छन् ।

खासमा यस तर्फको बन्दोवस्तमा प्रारम्भिक चासो स्थानीयतहले देखाएर तदारुकता अपनाउने, आफ्नो तहबाट गर्न सकिने राहत गरिबका झुप्रामा पु¥याउने र थप बन्दोवस्तका लागि प्रदेश र संघीय सरकारलाई घच्घच्याउनु पर्ने नेपाल सरकारका अवकाश प्राप्त सिडिओ जनकपुरनिवासी राजेन्द्र झाले सुझाव छ । रासस

प्रतिक्रिया