काठमाण्डाै / टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
जापानको ओलम्पिक कमिटीले गरेकाे घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आउँदाे जुन १ तारिखबाट खोप लगाउन सुरु गरिने भएको जानकारी दिएको छ ।
समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आउँदाे मङ्गलवारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो । यस ओलम्पिकमा जापानका एक हजार ६०० एथ्लेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ ।
उनीहरुलाई आउँदाे मङ्गलवारबाट टोकियोमा रहेको नेशनल ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ । जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ ।
जापानको राजधानी टोकियोमा आउँदाे जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म ओलम्पिक खेलको आयोजना गरिएको छ ।