काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहित चार नेतालाई पुनः स्पष्टीकरण सोधेको छ ।
शनिबार पुनः पत्र पठाउँदै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पुनः स्पष्टीकरण सोधिएको हो । पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षरमा जारी स्पष्टीकरण पत्रमा उनीहरुलाई २४ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन भनिएको छ ।
उनीहरु चारै जनालाई जेठ ११ गते ३ दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । उनीहरुले स्पष्टीकरण नदिएपछि पुनः पत्र पठाइएको हो ।
यसपटक पनि जवाफ नदिए पार्टीबाट निष्काशन गर्ने चेतावनी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गरेको र संसद विघटनमा साथ दिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।
जसपामा उपेन्द्र यादव समूह विपक्षी गठबन्धनतिर छ भने महन्थ–राजेन्द्र समूह प्रधानमन्त्री केपी ओली पक्षमा रहेको छ ।